भूकम्पको डरले काठमाडौं छोड्दै (फोटो फिचर)
डबल भाडा तिर्दा पनि गाडी पाइएन
काठमाडौं : शनिबारदेखि बारम्बार आइरहेको भूकम्पले आतंकित राजधानीबासीहरु धमाधम गाउँ फर्किन थालेका छन् । तीन दिनसम्म पनि भूकम्पको धक्का नरोकिएपछि यहाँ अध्ययन र व्यवसाय गर्नेहरु भूकम्पको डरले रातारात घर फर्कन थालेका हुन् ।
आइतबार बेलुका र सोमबार बिहान कलंकी, नयाँ बसपार्क, कोटेश्वर, गौशाला र बालाजु बाइपास लगायतका क्षेत्रमा घर फर्कनेहरुको भींड लागेको छ । दोब्बर भाडा तिर्दा पनि सिट नपाएपछि यात्रुहरु छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै घर फर्कन बाध्य भएका हुन् ।
आइतबार बेलुका र सोमबार बिहान कलंकी, नयाँ बसपार्क, कोटेश्वर, गौशाला र बालाजु बाइपास लगायतका क्षेत्रमा घर फर्कनेहरुको भींड लागेको छ । दोब्बर भाडा तिर्दा पनि सिट नपाएपछि यात्रुहरु छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै घर फर्कन बाध्य भएका हुन् ।
‘धन्न बचियो, अब यहाँ बसेर के गने । न त खान पाइन्छ न त बस्ने नै ठाउँ छ’, बिहानै साढे पाँच बजे कलंकीमा बिराटनगरको बस कुरिरहेका घनश्याम पौडेलले अन्नपूर्ण अनलाइनसँग भने, ‘अहिलेसम्म गाडी नै पाइएको छैन, झिसमिसेदेखि घर फर्कने मान्छेको भींंड छ । भूकम्पको त्रासले सबैलाई घर फर्कने हतारो छ ।’
बिहान ८ बजेसम्म कलंकीमा बस नपाएपछि घनश्याम उनका भतिजाको साथ लागेर बीपी राजमार्गबाट चल्ने गाडी खोज्दै कोटेश्वर आइपुगेका थिए । उनले भने,‘डबल तिर्दा पनि ठाउँ छैन भन्छन् ।’
राजधानीका चोक चोकमा बिहानै देखि झिटीगुन्टा बोकेर घर फर्कन हतारिएका मानिसको भींड नै देखिन्थ्यो । राजधानीका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु गाडी जिजर्भ गरेर धमाधम घर फर्किरहेका छन् ।
घर फर्कन कोटेश्वरमा गाडी कुरिरहेका नेपाल मेघा कलेजका विद्यार्थी रजनीश पाण्डे भने, ‘यहाँ कसरी बस्नु, न परिवार छ न सुरक्षा नै छ, न खान पाइन्छ ।’
उनले आफूजस्तै धेरै विद्यार्थीहरु बिचल्लीमा परेर घर फर्कन लागेको बताए । घर फर्कन लागेका अर्का विद्यार्थी महोत्तरीका सुशील महतोले भने, ‘भूकम्पले यहाँ बाँच्नै दिएन, रातदिन भूकम्पकै त्रासमा बस्नुपर्यो ।’
आइतबार र सोमबार काठमाडौं छोड्नेहरुको संख्या अत्याधिक बढी भएको ट्राफिक प्रहरीले जनाएको छ ।
