बारपाकमा घरभित्रै शव गाडियो


फोटो :तस्बिर सौजन्य : किरण लोहनी
गोरखा : जुन घरले संरक्षण गर्छ भनेर निर्माण गरियो त्यही घरले पुरेर आफन्तलाई मारेपछि बारपाक गाविस २ मान्द्रेका बासिन्दाले आफन्तको शव त्यही घरभित्रै गाडेका छन्। 
 
भूकम्पमा परी ज्यान गुमाएका गाउँका आठैजनाको शव गाउँलेले घरभित्र, पिँढीमा तथा आँगनमा गाडेका हुन्।त्यहाँका गुरुङ समुदायको शव चिहानडाँडामा गाडेर अन्तिम संस्कार गर्ने परम्परा छ।
 
अघिल्लो साताको भूकम्पको पहिलो झड्कामै मान्द्रेगाउँका ५० मध्य सबै घर पहिरिएर ध्वस्त भएको थियो। साथै घरभित्र पुरिएर दुई बच्चासहित ६ जनाको मृत्यु भएको थियो।
 
आफन्तको पनि मृत्यु भएको र बस्ने घर पनि ध्वस्त भएपछि विक्षिप्त भएका गाउँलेले आफन्तको शव घरभित्रै गाडेको स्थानीय जितबहादुर घलेले जानकारी दिए।
 
दुई वर्षकी सोनी गुरुङ, अढाइ वर्षका माहिला गुरुङ, चार वर्षकी काली गुरुङ, २२ वर्षकी कान्छी गुरुङ, २३ वर्षकी रसकुमारी गुरुङ, ५५ वर्षकी कान्छी गुरुङ, ७१ वर्षका दलबहादुर गुरुङ, ७१ वर्षकै कालबहादुर गुरुङको घरभित्रै मृत्यु भएको थियो। 
 
शव निकालेर परिवारले उनीहरू सबैलाई फेरि घरभित्रै गाडेर दाहसंस्कार गरेका स्थानीय घलेले बताए। 'आफन्तहरू कोही मरे, कोही घाइते भए, घर पनि भत्कियो। त्यही दिग्दारीले घरभित्रै गाडेका हुन्', घलेले भने, 'यहाँका कसैको हातमा कामै आउँदैन। 
 
हातखुट्टा गलेको छ। त्यसैले चिहानडाँडासम्म नलगेका हुन्।' बारम्बार भुइँचालो आएर टाढा जान सक्ने अवस्था पनि नभएको उनले बताए।






प्रतिक्रिया दिनुहोस्...