महाभूकम्प मार्ग
सिम्जुङ (गोरखा)-उनी घरनजिकैको बारीमा मकै गोड्दै थिए। बिउ छरेदेखि नै पानी परिरहेकाले यस वर्ष मकैका बिरुवा हलक्कै बढेका थिए। अन्य दिन उनी प्रायः बिहान १० बजेअगावै मकैबारीबाट घर फर्कन्थे। पाँच घन्टा शीतलमा बस्थे, अनि घाम डुब्ने बेला फेरि गोडमेलको मेलो पस्थे।
गोर्खा, सिम्जुङ–८ का अभिषेक थापामगरलाई त्यस दिन (वैशाख १२, शनिबार) खोइ के भयो, टन्टलापुर घाममा पनि मकै गोडिरहन मन लाग्यो।
‘सायद बाँच्न लेखेको रहेछ,' अभिषेकले जीवनको सबैभन्दा कहालीलाग्दो क्षण सम्भि्कए, ‘त्यस दिन टन्टलापुर घाम पनि प्यारो लाग्यो।'उनी बारीमै थिए। दाजुभाउजू (केशर र तारा) घरभित्रै थिए। दुई महिनाकी भतिजी पिँढीमाथि झुन्ड्याइएको झोलुंगोमा निदाइरहेकी थिइन्। केहीबेर अघि मात्र आमाको दूध चुसेर निदाएकी। एक्कासि गोली चलेजस्तो आवाज आयो। मकै गोडिरहेका अभिषेक जमिनबाट एक फिटमाथि पुगे। उनलाई पत्तै भएन, केले उनलाई यसरी माथि फ्याँक्यो। जमिन थर्थराउन थाल्यो।
उनी डराए। उभिनै सकेनन्, बारीमै पल्टिए।
‘के भयोभयो, सुरुमा त पत्तै भएन। झट्याक्क गरेको थियो, मलाई केले हो केले माथि फ्याँकिदियो। उभिनै नसकिने गरी जमिन काँप्न थाल्यो,' अभिषेकले ७.६ म्याग्निच्युड स्केलको पहिलो झट्काको अनुभव सुनाए।
जमिनमा पल्टेको दुई–तीन सेकेन्डमै उनलाई दाइ, भाउजू र भतिजीको सम्झना भयो। बिस्तारै टाउको उठाएर उनले घरतिर हेरे। दाइ–भाउजू घरभित्रबाट दौडँदै आँगनसम्म आइपुगेका थिए। आँगन कटेर बारीमा के हाम्फाल्न लागेका थिए दुवै जना घरतिर दौडिए। दाइले पिँढीमाथि झुन्डिराखेको झोलुंगोबाट छोरी झिकेर काखमा लिए। त्यति नै बेला घरको पाली खस्यो। पाली आफ्नो टाउकोमा बजारिन नपाउँदै दाइले हत्त न पत्त भाउजुलाई पिँढीबाट बारीतर्फ धकेले। भाउजू निकै पर हुत्तिइन्। पाली भने दाइको टाउकोमा बजारियो। आँगनमा लडेकी भाउजु के उठ्न खोज्दै थिइन्, घर भत्केर दाइ, भाउजू र भतिजी तीनै जनालाई थिच्यो।
उनी डराए। उभिनै सकेनन्, बारीमै पल्टिए।
‘के भयोभयो, सुरुमा त पत्तै भएन। झट्याक्क गरेको थियो, मलाई केले हो केले माथि फ्याँकिदियो। उभिनै नसकिने गरी जमिन काँप्न थाल्यो,' अभिषेकले ७.६ म्याग्निच्युड स्केलको पहिलो झट्काको अनुभव सुनाए।
जमिनमा पल्टेको दुई–तीन सेकेन्डमै उनलाई दाइ, भाउजू र भतिजीको सम्झना भयो। बिस्तारै टाउको उठाएर उनले घरतिर हेरे। दाइ–भाउजू घरभित्रबाट दौडँदै आँगनसम्म आइपुगेका थिए। आँगन कटेर बारीमा के हाम्फाल्न लागेका थिए दुवै जना घरतिर दौडिए। दाइले पिँढीमाथि झुन्डिराखेको झोलुंगोबाट छोरी झिकेर काखमा लिए। त्यति नै बेला घरको पाली खस्यो। पाली आफ्नो टाउकोमा बजारिन नपाउँदै दाइले हत्त न पत्त भाउजुलाई पिँढीबाट बारीतर्फ धकेले। भाउजू निकै पर हुत्तिइन्। पाली भने दाइको टाउकोमा बजारियो। आँगनमा लडेकी भाउजु के उठ्न खोज्दै थिइन्, घर भत्केर दाइ, भाउजू र भतिजी तीनै जनालाई थिच्यो।
अभिषेक हेरेका हेर्यौं भए।
आफ्नो परिवारका सबै सदस्यलाई घरले थिचिसक्दा पनि भूकम्प रोकिएको थिएन। अभिषेकले टाउको घुमाए, चारैतिर डाँडाबाट धुवाँको झैं धुलोको मुस्लो उडिरहेको थियो। पहाड बग्न थालेका थिए।
भुइँचालोको कम्पन मत्थर हुँदै गएपछि अभिषेक उठे। देखे– गाउँमा त एउटै घर उभिएका छैनन्। गाउँ मैदान बनिसकेछ। दाजु, भाउजू र भतिजी पुरिएतर्फ दौडँदै चिच्याए, ‘गुहार...गुहार...!' कोही आएनन्। अभिषेक जसरी नै गाउँले सबै एकअर्कासँग गुहार मागिरहेका थिए।
... ... ...
वैशाख १२ गते शनिबार ७.६ म्याग्निच्युड स्केलको आमविनाशकारी महाभूकम्पको केन्द्रबिन्दु थियो– गोरखाको बारपाक। भूकम्पले केन्द्रबिन्दु बनाएको जिल्लामा मात्र होइन, दूरदराजमा रहेका जिल्लामा पनि व्यापक तहसनहस पार्यो । हजारौं मृत्यु र हजारौं अंगभंग र अर्बौं भौतिक क्षतिको कारक बन्यो त्यही कम्पन।
प्रभावित क्षेत्रको स्थलगत रिपोर्टिङ गर्ने सिलसिलामा बुधबार दिउँसो चार बजे हामी मोटरसाइकलमा काठमाडौंबाट गोर्खातर्फ लाग्यौं।
कलंकीबाट नैकापसम्म पुग्दा हाइवेवरपर ८–१० वटा पुराना घर भत्केका देखिए। केही घर नराम्रोसँग चर्केका। कलंकीचोकमा गाडी र मानिसको व्यापक चहलपहल थियो। गाडीमा चढ्न तछाडमछाड गरिरहेका। बस, माइक्रो सबैको छतमा समेत अटाइ–नअटाई मान्छे कोचिएका थिए। ट्रक, टिपर कुनै खाली थिएनन्। माइक्रोमा चढेकी एक आमा झ्याल खोलेर अन्दाजी १९–२० वर्षको छोरोलाई सम्झाइरहेकी थिइन्, ‘बाबु, धेरैबेर कोठामा नबस्नू, बाहिरै बस्नू।'
हामी मोटरसाइकलमा अघि बढ्यौं। गुर्जुधारामा एक उद्धारटोली भग्नावशेष खोतल्दै थियो। वरपर मान्छेको भिड। थानकोटसम्म पुग्दा केही पक्की घर पनि नराम्रोसँग पल्टिएका देखिए। सडकमा मानिसको चहलपहल निकै कम। सधैँ प्रहरी जाँच हुने नागढुंगामा कुनै गाडी रोकिएका थिएनन्। नागढुंगाबाट बाहिरिने सबै गाडी यात्रुले भरिभराउ थिए। साधारण बस हुन् या टुरिस्ट कोच, सबैका छतसम्म यात्रु कोचिएका। काठमाडौंतर्फ आइरहेका बस तथा अन्य सवारीसाधनमा भने मुस्किलले एकदुई जना मात्र यात्रु।
‘केही बचेन, गाउँमा रहेका ४० वटै घर भत्किए। तीन जनाको ज्यान गयो। दर्जनभन्दा बढी घाइते भए। केही आफन्तले काठमाडौंबाट टेन्ट र चिउरा पठाइदिएका छन्। त्यसैले गुजारा चलेको छ,' नागढुंगाबाट केही तल चौरमा भेटिएका स्थानीय गुनासो गर्दै थिए, ‘सरकारले केही गरेको छैन।'
पृथ्वी राजमार्गवरपरका केही पुराना घर मात्र ढलेका छन्। केही पक्की घर चर्केका। दायाँबायाँ पालै पाल। पसल खुलेका छन् तर मान्छेको चहलपहल खासै छैन। भूकम्पले खाजा, खानाको व्यापार गर्नेलाई भने मुनाफा गरिदिएको छ। मलेखुका पक्की घर पनि चर्केका छन्। ‘हामीले त पाल राख्ने ठाउँ पनि पाएनौं। घर चर्केको छ, भूकम्प गएको दिनपछि माथिल्लो तलामा गएको पनि छैन। घर अघि हाइवे छ। हाइवेको पेटीमा पाल टागेर सुते कुनै चालकले जाँड खाएर गाडी पेटीमा उकाल्देला भन्ने पीर। भित्र सुत्यो, घरले थिच्ला भन्ने डर,' मलेखुकी एक होटल साहुनीको बेग्लै पिरलो।
भूकम्पपछि सडकमा हिँड्ने मान्छेको चहलपहल घटे पनि गाडीको चहलपहल भने ह्वात्तै बढेको छ। सडकमा प्राय दुईथरी गाडी भेटिन्छन्– एकथरी यात्रु बोकेका, अर्को राहत सामग्री। ‘निशुल्क यात्रा' ब्यानर टाँसेर थुप्रै स्कुलबस काठमाडौंतर्फ लम्किरहेका थिए। भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएका ‘उत्तर प्रदेश' लेखिएका बसको संख्या पनि कम थिएन। तराईका विभिन्न जिल्लादेखि भारत, बिहारका विद्यार्थीले पठाएको राहत सामग्री लेखिएका ब्यानरसहित राहत बोकेका गाडी लस्करै देखिन्थे। राहत सामग्री बोकेका गाडी काठमाडौं प्रवेश गर्नेभन्दा बाहिरिने निकै बढी थिए।
‘दसैंमा पनि यति धेरै गाडी र मानिस काठमाडौंबाट बाहिरिएको देखेको थिइनँ,' तनहुँको पुर्कोट घर भई मुग्लिनमा १५ वर्षदेखि होटल व्यवसाय गर्दै आएका एक व्यक्तिले भने।
आँबुखैरेनीमा पनि घरहरु चर्किएका छन्। अन्य ठाउँमा जस्तै आँबुखैरेनीमा पनि सडकमा वरपर पाल गाडिएका छन्। साँझ साढे ७ बजे भूकम्पको डरले आँबुखैरेनीका होटल साहुले खाना पकाउन मानेनन्। उनीहरु उज्यालो छउन्जेल घरभित्र पस्ने गरेका रहेछन्।
आँबुखैरेनीबाट गोरखा तर्फ लागेपछि भने अधिकांश गाडी राहत सामग्री बोकेका भेटिन्छन्। सबै गाडीका अघिपछि तुल झुन्ड्याइएका छन्। तुलमा दाताको नाम। यात्रुबस र राहत सामग्री ओसारपसार गरेका गाडी दिउँसो मात्र होइन, राति पनि एउटै रफ्तारमा गुडिरहेका छन्। काठमाडौंदेखि गोरखा बजारसम्मको सडक वरपर थोरै संख्यामा मात्र घर भत्केका छन्। तर, क्षति भने कुनै न कुनै रुपमा पुगेका।
... ... ...
सदरमुकाम गोर्खाबजार केही तल सेनाको गण नजिक रहेको हेलिप्याडबाट पूरै जिल्लाभरका घाइते ओसार्ने तथा राहत वितरणका लागि लगिने गरिएको छ। भूकम्प गएदेखि पानी परिरहेकाले राहत वितरण कठिन भएको गुनासो गर्दै थिए, त्यहाँ खटिएका सैनिक। बिहान बाक्लो हुस्सु लाइदिँदा हेलिकप्टरबाट गरिने घाइतेको उद्धार र राहत वितरणमा प्रभाव परेको थियो। मुस्किलले बिहान ११ बजेपछि हेलिकप्टर उड्थे।
गाडी नपुग्ने ठाउँमा राहत सामग्री पुर्यातउने एउटै माध्यम हो– हेलिकप्टर। संख्या कम हुँदा र मौसमस प्रतिकूल भइदिँदा स्थानीय आवश्यकताअनुसार सबै ठाउँमा राहत पुग्न सकेको छैन। तर जति प्रयास भएको छ, प्रशंसनीय नै छ। नेपाली सेना र निजी हेलिकप्टरले गोर्खाबजारबाट सेवा प्रदान गरिरहेका छन् भने भारतीय हेलिकप्टरले पोखराबाट। आवश्यक परे भारतीय हेलिकप्टरलाई पनि झिकाइन्छ।
भारतीय हेलिकप्टर बढी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा मात्र केन्द्रित भएको गुनासो केही स्थानीयको छ। भारतीय हेलिकप्टरले सुरुका केही दिन राहत सामग्री लैजान अटेर गरेका थिए रे! अहिले भने राहत सामग्री लगेर प्रभावित क्षेत्रमै छाड्ने गरेका छन्। भारतीय सैनिक र हेलिकप्टर बारपाक केन्द्रित हुनुलाई भने स्थानीयले रहस्यका रुपमा लिएका छन्।
‘भारतीय हेलिकप्टर तथा सेनाले हामीले भनेको मान्दैनन्। घाइते लैजाऊभन्दा पनि वास्ता गर्दैनन्, राहत सामग्री लैजाऊ भन्दा पनि टेर्दैनन्। उनीहरु आफ्नै सुरुमा काम गरिरहेका छन्,' गोर्खाबजारमा भेटिएका सशस्त्र प्रहरीका एक जवानले भने।
बारपाकनजिकैका लाप्राक, सौरपानी, गुम्दा, लापु, लु लगायत उत्तरी क्षेत्रमा भने उद्धार र राहत वितरण त्यति प्रभावकारी हुन सकेको छैन। ती सबै ठाउँमा रहेका अधिकांश घर भूकम्पले ध्वस्त पारेका छन्। गोर्खामा रहेको सेना अहिले ती क्षेत्रमा प्रभावकारी रुपमा उद्धार कार्य र राहत वितरणमा जुटेको छ।
‘सौरपानीमा अझै कोही पुगेको छैन। खाने, बस्ने, ओढ्ने केही पाएका छैनन्। पानीमा रुझेर आकाशमुनि रात बिताइरहेका छन्,' सौरपानीबाट उद्धार र राहतका लागि गुहार माग्न गोर्खाबजार आएका अशोक थापाले भने। उनी हामीलाई सुझाउँदै थिए, ‘तपाईंहरु सौरपानी जानुस्।' हामीले पनि उनको आग्रह सुनेनौं। हामी लाग्यौं, बारपाक वारिको गाविस सिम्जुङ।
... ... ...
भूकम्पबाट गोर्खामा एउटै गाविसका सबैभन्दा बढी ३५ जनाको मृत्यु भएको सिम्जुङमै हो। गाविसका कुनै पनि घर सद्दे छैनन्। गाउँ मैदान बनेको छ।
बिहीबार दिउँसो २ बजेतिर हामी मोटरसाइकलमै सिम्जुङतर्फ अघि बढ्यौं। गोरखाबजारबाट १२ किलो, छेपेटार, भिरकोट, खोप्लाङ, छोप्राक, गाखु, श्रीनाथकोट, जौबारी, मुचोक हुँदै सिम्जुङ। छेपेटार पुगेपछि दरौंदीको किनारै किनार। सडक पूरै हिलाम्मे। धेरै ठाउँमा घँुडाघँुडासम्म हिलोले भेट्ने। त्यस्तो बाटोमा पनि मोटरसाइकल कुदेकै छन्, राहत सामग्री बोकेका गाडी हुइँकेकै छन्। भिर उस्तै। एक सेकेन्ड ब्रेक लाउन ढिला भए वा केही इन्च मात्र चिप्लिए सिधै दरौंदी।
बाटोको अवस्था जस्तोसुकै होस् तर सवारी चापको दृष्टिले यो बाटो कुनै राजमार्गभन्दा कम छैन। मिनेट–मिनेटमा यात्रु र राहत सामग्री बोकेका गाडी भेटिन्छन्। पैदल आवतजावत गर्नेको भिड सानो छैन। सडकका प्रत्येक पाइलामा ठूलो मेला लागेजस्तो। भर्खरका केटाकेटीदेखि वृद्धवृद्धा सडकमा। कसैका काँधमा चामलको बोरा त कसैको काँधमा चाउचाउको कार्टुन। कसैले ब्ल्यांकेट बोकेका छन्, कसैले पाल। चिउरा, भुजियालगायत खाद्य सामग्री पनि छुटेका छैनन्।
सिम्जुङ जाने सडक टेलिभिजनमा देखाइएको युद्धग्रस्त राष्ट्रको सीमाजस्तो देखिएको थियो। जसरी युद्धग्रस्त राष्ट्रमा पीडित जनता सानो पोका टाउकोमा बोकेर अर्को देशको सीमामा शरण माग्न पुग्छन्, ठिक त्यस्तै देखिन्छ गोरखाका विभिन्न गाउँ जाने यो कच्ची सडक।
कोही आइरहेका छन् त गइरहेका। कथा सबैको एउटै छ– गाँस छैन, बास छैन। परिवार छैनन्। छ त मात्र शरीरमा एकसरो कपडा।
गाउँतर्फ जानेहरु चामल, चिउरा, ब्ल्यांकेट, पाल लिएर फर्किरहेका छन् भने सदरमुकामतर्फ झर्नेहरु रित्तै। केही भने बचेको लत्ताकपडा, चौपाया डोर्या्उँदै झरिरहेका। उनीहरु बसाइँ सरेका। ‘गाउँमा केही आएन, त्यसैले कसैले केही दिन्छ कि भनेर तल झरेको,' सिम्जुङ पोखराटारका प्रकाश थापामगरले भने।
भर्खर खोसि्रएको बाटो, अनि दरौंदी विद्युत परियोजनाले टनेल बनाउँदा फोरेका पहरा। छुसुक्क सानो कम्पन आयो भने पनि ठूला ढुंगा सडकमा खस्न सुरु हुने। मोटरसाइकल चलाउने र पछाडि बस्ने असारका बाउसेजस्ता। सडक वरपरका घर भत्केका छन्। कतैकतै मात्र सग्ला भेटिन्छन्, ती पनि बस्न लायक भने छैनन्।
सडक किनारमा जहाँजहाँ भुरुप्प घर छन्, त्यहाँ राहत वितरण भइरहेको छ। केहीमा भने राहत नपाएको आक्रोश पनि छ। एउटा समूहले भुजिया सडकमै घोप्टाएर जलाउनसमेत भ्याएछ। हामी पुग्दा भुजिया दनदनी बलिरहेको थियो।
साँघुरो सडक, त्यसमाथि हिलो, अनि ठूलाठूला गाडी। भूकम्पले गर्दा बाटोको अधिकांश छेउ चर्केका छन्। कुन बेला को बाटो भास्सिएर दरौंदीमा खस्छ, पत्तो छैन। मुस्किलले एउटा गाडी र मोटरसाइकल पास हुने कच्ची सडकमा विपरीत दिशातर्फ दुई गाडी भेटिए सकी–नसकी ब्याक गर्नुपर्ने। बाटोमा भेटिने सबैका अनुसार निन्याउरा। कोही एक्लै डिलमा बसी रोइरहेका, कोही आँसु पुछ्दै गरेका। कोही भग्नावशेषबाट लत्ताकपडा झिक्दै। आँखाले जति टाढासम्म देख्थ्यो, सबै घर भत्केका मात्र देखिन्थ्यो। अनि पहाडका भित्ता भरी पाल गाडिएका।
दरौंदी विद्युतको ड्याम निर्माण स्थलमा नपुग्दै मोटरबाटो बन्द। भूकम्प गएपछि ठूलो पहिरो जाँदा बाटो पुरिएको छ। बाटो मात्र पुरिएको छैन, पहिरोले १०.८ किलोवाट क्षमताको हिम्ले लघुजलविद्युत पनि पुरिदियो। विद्युत उत्पादन बन्द भएको छ। विद्युत लाइन काटिएपछि वरपरकाले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन्।
कुन त बाटो, त्यो पनि पहिरोले छेक्यो। मोटरसाइकल दरौंदी किनारमा ओरालेर हामी अघि बढ्यौं। त्यहाँ विदेशी डाक्टरको समूह पुगेको रहेछ। पहिरोका सामुन्ने दरौंदी किनारमा उनीहरु क्याम्प गाडेर बसेका छन्। सामान्य घाइतेको उपचार उनीहरुले त्यहीँ गरिदिँदा रहेछन्। पहिरोबाट १० मिनेट जति अघि बढेपछि हामी बाँया मोडियौं। सिधै गएको भए भूकम्पको केन्द्र बारपाक पुगिन्थ्यो। तर बीच बाटोमा ठूलो पहिरो गएकाले हिँडेर बारपाक जान निकै फन्को लगाउनुपर्छ। बारपाकमा उद्धार गर्न हिँडेको सेना र सशस्त्र प्रहरीको टोलीसमेत पहिरो छिचोल्न नसकेपर त्यहीँ रोकिएको छ।
सिम्जुङको फेदी पुग्यौं। अब सुरु हुन्छ सबैभन्दा अफ्ठेरो बाटो। हामीले फेदीमा स्थानीयले सल्लाह दिइरहेका थिए, ‘नजानुस्, बाटो अफ्ठेरो छ। झन् मोटरसाइकलमा जान त सम्भवै छैन।' हामी भने मोटरसाइकल लिएरै अघि बढ्यौं। भर्खर खोसि्रएको साँघुरो मोटरबाटोमा ठूलाठूला ढुंगा झरेका छन्। तिनलाई पन्छाउन असम्भव। सडकभरि ढुंगै ढुंगा। कति ठाउँमा बलतल्ल ढुंगा पन्छाएर बाइक छिराएका छौं। बाइक निकैपटक पल्टे। धेरै ठूलाठूला ढुंगा झर्न ठिक्क परेका छन्। सानो कम्पन आयो भने बुरुरु झर्छन्। यस्तो भयो भने सडकमा रहेका जिवित भेटिन मुस्कल छ।
निकै अफ्ठेरो भएपछि पछाडि बस्ने हिँड्ने र एक्लैले बाइक अघि बढाउने सल्लाह भयो। कुन बेला ढुंगा खस्ला भन्ने डरले उकालोमा मोटरसाइकल चढ्ने र हिँड्नेबीच प्रतिस्पर्धा नै चल्यो। मोटरसाइकल चलाउने केही छिटो माथि पुगे। हिँड्नेहरुको टाउकोबाट तपतप पसिना चुहिएको थियो, तर टाउकोबाट हेल्मेट हटेको थिएन। कारण, ढुंगा झरिहाल्यो भने हेलमेटले जोगाउला भन्ने भ्रम। मान्छे भन्दा ठूला ढुंगालाई हेल्मेटले के छेक्थ्यो र!
उकालो सकिनेबित्तिकै टार भेटियो। सबै टारको एउटा गरामा पल्टियौं। सबैले एउटै सोचेको हुनुपर्छ, ‘अब त बाँचियो।' टारमा पल्टेको एक मिनेट हुन नपाउँदै एक स्थानीय त्यहाँ देखिए। उनले भने– टार पूरै भासिएर पहिरो जान ठिक्क परेको छ। हामी सबै जर्याहकजुरुक उठ्यौं। हाम्रो हंसले ठाउँ छाड्यो। त्यति नै बेला हेलिकप्टर आइपुग्यो। हामीभन्दा केही माथि मकैबारीमा बस्यो। सिम्जुङ–८ का बचेका सबै हेलिकप्टरतर्फ हुत्तिए।
हेलिकप्टरले केही राहत सामग्री ल्याएको थियो। चामल, चिउरा, भुजिया, चाउचाउ, पाल, ब्ल्यांकेट झार्योद। केही गाउँले काँधमा खाद्य सामग्री काँधमा बोकेर थन्क्याउन लागे भने केही भूकम्पबाट गम्भीर घाइते भएकालाई हेलिकप्टरमा राख्न। भूकम्प गएको ६ दिनमा बल्ल चार जना घाइतेलाई त्यहाँबाट सदरमुकाम लगियो।
यिनैमध्ये एक घाइते थिइन्, अभिषेककी भाउजु तारा।
... ... ...
पाँच मिनेट गुहार मागेपछि बचेका केही गाउँले अभिषेकलाई सघाउन आइपुगे। अभिषेक गुहार माग्दै एक्लै भग्नावशेष खोतलिरहेका थिए। उनी दाइ, भाउजू र भतिजीलाई बोलाइरहेका थिए। उनको जवाफ कतैबाट आएन। सबै मिलेर १५ मिनेट भग्नावेशष खोतल्दा भाउजू भेटिइन्। सास चलेको थियो, तर शरीरको कुनै अंगले काम गरेको थिएन।
एक घन्टा खोतल्दा पनि दाइ र भतिजीको भने पत्तो लागेन। साँझ पर्ने बेला मात्र दाइ र भतिजी भेटिए तर दुवै मृत। ‘दाइले भतिजीलाई घोप्टो परेर दुवै हातले छातीमा टाँसेर राख्नुभएको रहेछ। सायद उहाँले भतिजीलाई जोगाउन त्यसो गर्नुभएको थियो,' अभिषेकको आँखाबाट आँसु झर्योर।
भतिजीको नाम?
‘नाम नै राखेको थिएन। स्वस्तिका राख्ने सल्लाह भएको थियो,' उनको गला अवरुद्ध भयो।
राति गाउँलेहरु एकैठाउँ बसे। ओढ्ने–ओछ्याउने केही थिएन। सबैले मकैबारीको काँध्लामा अढेस लाएर रात बिताए। भूकम्प गएकै राति उनीहरुले थाहा पाए, आफ्नो गाउँमा रहेका ३२ घरका १२ जना पुरिएर मरेछन्। १२ जना घाइते । एक सय भन्दा बढी गाई, भैंसी, गोरु, बाख्रा अझै पुरिरहेकै छन्। गाउँका ३२ वटै घर ध्वस्त छन्।
भूकम्प गएको भोलिपल्ट पोखराबाट आएको एउटा टोलीले ठूलो पाल छाडेर गएको रहेछ। त्यही एउटा पालमा ३२ घरका ३ सयभन्दा बढी उनीहरु बस्दै आएका थिए। बिहीबार आएको हेलिकप्टरले केही पाल र खाद्य सामग्री छाडेर गएपछि भने उनीहरुको बाँच्ने आशा पलाएको छ। उनीहरु हेलिकप्टर देख्नेबित्तिकै पराल बालेर धुवाँ पुत्याउँथे। तर हेलिकप्टरले देखेन।
बिहीबार भने अचानक हेलिकप्टर आएर रोकियो।
सिम्जुङ–८ का तीन परिवारले दुई–दुई जना आफ्ना परिवारका सदस्य गुमाएका छन्। रामबहादुर रानामगर (४३) ले तीनवर्षे छोरा सामुअल र आठवर्षे भतिजी विविषा गुमाए। छिमेकीको घरमा खेलिरहेका पाँचमध्ये दुई जना त्यहीँ पुरिएर सदाका लागि निदाए।
‘पिँढीमा बसेको थिएँ। एक्कासि भूकम्प आयो। मलाई त आँगनमा हुर्या इदियो। हेर्दाहेर्दै सबै घर गर्ल्याम गुर्लुम भए। छोरो कहाँ गयो खोज्दै जाँदा पुरिएको ठाउँ नै पत्ता लगाउन समय लाग्यो। भेटिँदा त ...,' उनी रोकिए।
‘खोइ त तपार्इंकी श्रीमती?'
उनले औंलाले हाम्रापछाडि देखाए। हामीले टाउको मोड्यौं। उनीकी श्रीमती सुँक्कसुँक्क गर्दै थिइन्।
उनीहरु अहिले गाउँबाट केही पर पाल टाँगेर एकै ठाउँ बसेका छन्। भत्केका घरमा जान छाडेका छन्। पुरिएका चौपाया कुहिएर गनाउन थालेपछि उनीहरु जान छाडेका हुन्।
तर हामीलाई देखाउन भने उनीहरु गए।
गाउँ पूरै मैदान बनेको थियो। चौपाया कुहिएकाले दुर्गन्ध आइरहेको थियो। झिंगा भन्किरहेका थिए। भग्नावेशमा रित्ता भकारी पल्टिएका छन्। भूकम्पपछि निरन्तर पानी परिरहेकाले पोखिएका अन्न टुसाएर छन्। धानको बिउ राख्ने बेला भयो, उनीहरुसँग एउटा बियाँ धान छैन। खेत जोत्न गोरु छैनन्।
सिम्जुङ गाविस सचिव शेखरनाथ न्यौपानेका अनुसार उक्त गाविसमा रहेका ८ सय ५७ घरमा सबै घर नै ध्वस्त छन्। गाविसमा ३५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ८ नम्बर वडामा १२ जनाको मृत्यु भएको छ। विद्यालय भवन समेत ध्वस्त छन्।
‘बस्नलाई त पाल पाइयो। अब स्कुल के गरी चलाउने हो, थाहा छैन,' स्थानीय देवीस्थान प्राविको प्रधानाध्यापक धनकुमारी थापामगरले भनिन्। उनले हिम्मत भने हारेकी छैनन्। उनी बालबालिकाको पढाइ टुटाउने पक्षमा छैनन्। भूकम्पको असर साना बालबालिकामा पर्न दिनु हुँदैन भन्ने उनको धारणा छ।
घाम र पानी छेक्ने छानो नपाए खुला आकाशमै राखेर भए पनि पढाइ सुचारु गर्ने उनी जनाउँछिन्। ‘तत्काललाई ठूलो पाल पाए पालभित्रै पनि पढाउन सकिन्छ,' उनीभित्र अझै आसाका किरण चम्चमाइरहेका छन्।
अर्थात् रातपछि दिन अवश्य आउँछ भन्ने उनलाई राम्ररी हेक्का छ।
