ताप्लेजुङमा प्रहरी र अभियुक्तबीच गोली हानाहान मस्ट वान्टेड ‘मण्डेला’ भाग्न सफल
ताप्लेजुङ, बैशाख २६ – ताप्लेजुङमा प्रहरी र अभियुक्तबीच गोली हानाहान भएको छ । जिल्लाको साँबा २ घर भएका प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अभियुक्त सागर लिम्बू ‘मण्डेला’ र उसलाई पक्राउ गर्न गएको प्रहरी टोलीबीच गोली हानाहान भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार साँबा ४ स्थित एक छिमेकीको घरमा लुकिछिपी बसेका अभियुक्त लिम्बूलाई पक्राउ गर्ने प्रयास गर्दा प्रहरी माथि नै फायरिङ गर्दै भागेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । लिम्बूले दुई राउण्ड पेस्तोल फायरिङ गरेको र प्रहरीले चार राउण्ड जवाफी फायरिङ गर्नुपरेको प्रनाउ कोइरालाले जानकारी दिए ।
अभियुक्त लिम्बू गाउँमै लुकिछिपी बसेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक (असई) पूर्णबहादुर लिम्बूको नेतृत्वमा प्रहरी टोली शनिबार बिहान साँबा पुगेको थियो । असई लिम्बूको नेतृत्वमा गएको प्रहरी टोलीले घर घेरा हाली पक्रने प्रयास गर्दा घरको बरण्डाबाट फायरिङ गर्दै अभियुक्त भागेका थिए । यस पटक पनि मण्डेलालाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।
जिल्लाको प्रहरी प्रमुख भएर आएपछि तीन महिना यता सो समेत चार पटक निज अभियुक्तलाई पक्राउ गर्न खोजिएपनि भौगोलिक विकटताकै कारण असफल हुँदै आएको प्रनाउ कोइरालाले बताए । हाल असफल भएपनि ढिलो चाँडो निज लगायत यहाँका सबै अभियुक्तलाई पक्राउ गरेरै छाड्ने कोइरालाको भनाइ छ ।
अभियक्त लिम्बूले आजभन्दा पाँच वर्ष अघि २०६६ साल माघ महिनामा एक विवाह भोजमा साँबा ६ का स्थानीय २५ वर्षीय रामप्रसाद गुरुङलाई खुकुरी प्रहारबाट हत्या गरी फरार भएका थिए । अभियक्त लिम्बू नेपाली सेनाका भगौडा भएको बताइएको छ । निज लिम्बूकै कारण गाउँ समाज सधैं त्रसित रहनुपर्ने अवस्था रहेको र गाउँमा हिंसा मच्चाएर जंगलका गोठतिर भाग्ने गरेको स्थानाबासीको गुनासो रहेको प्रहरीले जनाएको छ ।
यता लिम्बू समेत सर्वाधिक खोजीको सूचीमा पाँच जना र अन्य प्रहरीको खोजी सूचीमा ४१ जना अभियक्त रहेका जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी नायव निरीक्षक (सई) कृष्णप्रसाद सापकोटाले जानकारी दिए
। सापकोटाका अनुसार उनीहरु प्रहरीमा मुद्दा दर्ता भई हालसम्म पक्राउ पर्न नसकेका हुन् भने अदालतमा मुद्दा दर्ता भई फरार भएका करिव एक सय बढी अन्य अभियुक्त रहेका छन् ।