कालोबजारी गर्ने व्यवसायीमध्ये चारवटा फार्मेसी तथा औषधि पसलहरु
| नयाँ बसपार्क क्षेत्रका १७ वटा पसलले पनि तोकिएको मूल्य भन्दा दोब्बर मूल्य असुल गरे । | |
काठमाडौ,वैशाख २१ – बजार अनुगमनको जिम्मेवारी पाएको सरकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले विपत्तिको फाइदा उठाउने २३ व्यवसायीलाई कालोबजारी ऐन अन्तर्गत कारबाही अघि बढाउन सिफारिस गरेको छ । विभागले बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात आपूर्ति व्यवस्था तथा बजारलाई नियमित बनाउन बैशाख १४ गतेदेखि सुरु गरेको अनुगमनका क्रममा कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको विभागका महानिर्देशक शम्भु कोइरालाले रातोपाटीलाई बताए । कोइरालाले विपदको मौका छोपि कालोबजारी गर्ने व्यवसायीलाई कालोबजारी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीसामु बुझाइएको जानकारी दिए । उनले भने,‘विपदको बेला सहयोग गर्नुको सट्टा उल्टै चर्काे मूल्य असुल गरेको पाइएकाले ती व्यवसायीहरुलाई कारबाहीका लागि प्रहरीलाई बुझाइएको हो ।’ पक्राउ परेका व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गरिने कोइरालाले बताए । कालोबजारी गर्ने व्यवसायीमध्ये चारवटा फार्मेसी तथा औषधि पसलहरु रहेको उनले जानकारी दिए । ती औषधी पसलहरुले माक्स तथा औषधिको खरिदमा बिक्री मूल्यभन्दा चर्काे मूल्य असुल गरेकाले उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि प्रहरीलाई बुझाइएको हो । यसरी कालोबजारी गर्ने फार्मेसीमा वीर अस्पताल अगाडि रहेको संकिर फार्मेर्सी, महाराजगञ्जमा रहेको भेरी राप्ती फार्मेसी, ओम सिवन फार्मेसी बाँसबारी र नीलम औषधी घर त्रिपुरेश्वर रहेको विभागले जनाएको छ । त्यस्तै नयाँ बसपार्क क्षेत्रका १७ वटा पसलले पनि तोकिएको मूल्य भन्दा दोब्बर मूल्य असुल गरेको पाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको छ । नयाँ बसपार्कमा रहेको कान्तिपुर कुदपाक लगायतका पसलहरुले खाद्यपदार्थको बिक्रीमा चर्काे मूल्य असुल गरेको र तोकिएको भन्दा दोब्बर मूल्य असुल गरेको पाइएपछि उनीहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको कोइरालाले जानकारी दिए । त्यस्तै नयाँ बानेश्वरको एउटा पसल र बवरमहलमा रहेको अर्काे एउटा पसलले समेत कालोबजारी गरेको पाइएकाले ती दुई पसलाई पनि कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
| |
