भूकम्पपछि मासुको मूल्य घट्‍यो


सिन्धुली : वैशाख १२ गते आएको भूकम्पपछि राजधानीलगायतका ठूला सहरमा खपत हुन छाडेपछि ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको छ। महाविपत्तिका कारण कुखुरा खपत हुन छाडेपछि सिन्धुलीमा कुखुराको मासुको मूल्यमा प्रति किलो एक सय २० रुपैयाँसम्म घटेको हो।
 
सोमबार जिल्लामा भएको मासु व्यवसायी संघ, कुखुरापालक व्यवसायी संघ र दाना चल्ला सप्लायर्सहरूको छलफलपछि मासुको मूल्य घटाउने निर्णय भएको कुखुरापालक व्यवसायी संघका अध्यक्ष रमेश कार्कीले बताए। 
 
अहिले जिउँदो कुखुराको प्रतिकिलो एक सय ४० रुपैयाँ र तयारी मासुको मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो दुई सय ७० र तयारी मासुको मूल्य तीन सय ४० रुपैयाँसम्म थियो।
 
जिल्लामा व्यवसायीले पालेका कुखुरा राजधानी काठमाडौंमा निर्यात नभएपछि मासुको मूल्य घटाउन किसान बाध्य भएको कमलामाई नगरपालिका ४ का कुखुरापालक किसान शेरबहादुर तामाङले जानकारी दिए। राजधानीमा हाल सरकारले मासुजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ। 
महाविपत्तिका कारण कुखुरा खपत हुन छाडेपछि सिन्धुलीमा कुखुराको मासुको मूल्यमा प्रतिकिलो एक सय २० रुपैयाँसम्म घटेको छ।
यसअघि जिल्लाबाट काठमाडौंमा दुई हजार कुखुरा पालक व्यवसायीले मासिक एक लाख २० हजार केजीभन्दा बढी ब्रोइलर खपत गर्ने गरेका थिए। राजधानीमा कुखुरा खपत हुन छाडेपछि किसानले बाध्य भएर तराईको मूल्यसँग यहाँको मूल्य समायोजन गरेर कुखुरा बिक्री गर्न थालेको बताए।
 
जिल्लामा मासिक रूपमा २५ लाख किलोग्राम कुखुराको मासु उत्पादन तथा बिक्री हुँदै आएको छ।अघिल्लो शनिबार गएको महाविनाशकारी भूकम्पका कारण सिन्धुलीमा ३० प्रतिशत ब्रोइलर कुखरामा क्षति पुगेको किसानले बताएका छन्।
 
आठ स्थानमा माछामासु बिक्री प्रतिबन्ध
काठमाडौं : विनाशकारी भूकम्पपछि रोगको महामारी फैलसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका आठ स्थानमा माछामासु बिक्रीमा प्रतिबन्ध लगाएको छ। 
 
प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालका अनुसार सुन्धारा, वसन्तपुर, असन, त्यौड, गोंगबु चोक, नयाँ बसपार्क क्षेत्र, बालाजु माछापोखरी क्षेत्र र साँखु बजार क्षेत्रमा माछामासु बिक्री गर्न प्रतिबन्ध लगाइएको हो।
 
जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि २१ गते सम्म भूकम्पमा परी ज्यान गुमाएकाको शव उत्खनन कार्य भइरहेकाले रोगको संक्रमण फैलने खतरा भएको भन्दै राजधानीभर माछामासु बिक्रीमा प्रतिबन्ध लगाएको थियो। 
 
मंगलबारबाट भने राजधानीको स्थिति सामान्य बन्दै गएकाले तोकिएका आठ स्थानबाहेक अन्य स्थानमा भने स्वस्थ्यकर माछामासु बिक्री गर्न स्वीकृति दिएको छ। 
 
तोकिएको स्थान बाहेकका मासु पसलमा प्राविधिक सहितको टोलीबाट नियमित अनुगमन भैरहेकोले तोकिए बमोजिम मासु बिक्री नगरेको पाईएमा कानुन अनुसार कारबाही गरिने अयार्लले बताए।





प्रतिक्रिया दिनुहोस्...