बैठकमै निदाएको भन्दै नेतालाई मृत्युदण्ड
बैशाख ३१ गते-बैठकमै सुतेर निदाएको तथा तत्कालै जवाफ दिने गरेको भन्दै उत्तर कोरियाली प्रतिरक्षा प्रमुखलाई मृत्युदण्ड दिइएको दक्षिण कोरियाली गुप्तचर संस्थाले दावी गरेको छ ।
उत्तर कोरियाली प्रतिरक्षा प्रमुखले आफ्ना युवक शासक किम जोङ उनप्रति गुनासो गरेको, उनलाई तत्कालै जवाफ दिने गरेको तथा उनको अध्यक्षतामा बसेको बैठकमा सुतेको आरोपमा विमानभेदक बन्दुक प्रयोग गरी मृत्युदण्ड दिन नेता किमले आदेश दिएको जानकारी दक्षिण कोरियाली गुप्तचर संस्थाले सांसदहरूलाई दिएको र यसका लागि आफूसँग विश्वसनीय सूचना भएको दावी गरेको हो ।
दक्षिण कोरियाली विश्लेषकहरू यस रक्तपातपूर्ण कार्यले उत्तर कोरियाली नेता किम जोङ उनको शक्ति वा कमजोरी देखाउने भन्ने कुरामा विभाजित भएका छन् । सन् २०११ मा वर्तमान नेता किमका पिताको मृत्यु भएपछि उनले शासन नियन्त्रणमा लिएका थिए ।
केही विश्लेषक यो घटना वास्तवमै भएको हो वा होइन भन्ने विषयमा निश्चित छैनन् । एक विशेषज्ञले यस घटनालाई नेता किमले उच्च पदस्थ पदाधिकारीलाई दिनुभएको मृत्युदण्डको रूपमा लिएका छन् र उनले यसमार्फत आतङ्कको राज्य स्थापना गरी आफ्नो नेतृत्व बलियो बनाउनु खोजेको बताएका छन् ।
राष्ट्रिय गुप्तचर सेवाका अधिकारीहरूले संसदीय समितिको बन्द बैठकमा जानकारी दिएको उक्त बैठकमा उपस्थित सांसद सिन क्योङ–मिनले दिए । उनले उत्तर कोरियाली जनसशस्त्र बलमन्त्री ह्योन योङ चोललाई प्योङयाङको काङ कोन सैनिक विद्यालयमा रहेको बन्दुक अभ्यासस्थलमा अप्रिलको अन्त्यमा सयौँ दर्शकसामु मृत्युदण्ड दिइएको बैठकमा जानकारी दिइएको बताए ।
कोरियाली नेता किमले दिएको निदेशन पालना गर्न मन्त्री ह्योन अनेकौँ पटक असफल भएको गुप्तचर सेवाले बैठकमा जानकारी दिएको संसदीय गुप्तचर समितिका अध्यक्ष किम ग्वाङ–लिमले बताए ।
सांसद ली चोल वुको कार्यालयले पनि बैठकमा सोही प्रकारको जानकारी दिइएको भनी एक विज्ञप्ति प्रकाशन गरेको छ । दक्षिण कोरियाली गुप्तचर सेवाले सांसदहरूलाई ती जानकारी कसरी प्राप्त गरे भन्ने सम्बन्धमा उल्लेख नगरेको र विभिन्न स्रोतले जानकारी दिएको र आफूहरूले सो कुरा सत्य हो भनी विश्वास गरेको बताएको सिनले बताए । एपी