जेल जानबाट जोगिए सलमान खान


काठमाडौं, वैशाख २५ । पाँच वर्षको जेल सजाय सुनाइएका भारतीय सिनेमाका नायक सलमान खान जमानतमा रिहा भएका छन् ।

मादकपदार्थ सेवन गरी गाडी चलाउँदा एकजनाको हत्या गरेको आरोपमा पाँच वर्षको जेल सजाय पाएको उनलाई शुक्रबार मुम्बई उच्च अदालतले जमानतमा रिहा गरेको हो । उनले अब जेलबाहिर रहेर मुद्दा लड्न सक्नेछन् ।

सन् २००२ को सेप्टेम्बर २८ को रातिनसा सेवन गरी गाडी चलाउँदा फुटपाथमा सुतिरहेका एकजनालाई किचेको आरोप सलमानविरुद्ध लागेको थियो । उक्त घटनामा अरु चारजना घाइते भएका थिए ।

यद्यपि, सलमान खानले उक्त समयमा आफूले गाडी पनि नचलाएको र नसा सेवन पनि नगरेको भन्दै सबै आरोप अस्वीकार गर्दै आएका छन् । सरकारी वकिलले भने सलमान दुर्घटनालगत्तै भागेको दाबी गरेका छन् ।

सलमान खान जेल जाँदा उनमै केन्द्रित रही बनाउँदै गरिएको भारतीय सिनेमा क्षेत्रको दुई सय करोड लगानी के हुने भन्ने अन्यौल बढ्दै गएको बेला जमानतमा रिहा भएपछि तत्काललाई उक्त अन्यौल हटेको छ । (एजेन्सी) 





प्रतिक्रिया दिनुहोस्...