मैले लुटुको होइन, हिसिलाको निर्देशन पालना गरेको हुँ - रेणु दहाल


पीडितलाई एउटा भारतीय संस्थाले पठाएको राहत सामग्री तपाईंले लुटेको चर्चा छ, खास के हो ?
यो मेरो चरित्र हत्याका लागि गरिएको नियोजित षड्यन्त्र हो । यसमा कुनै सत्यता छैन । मलाई त्यसबारेमा केही थाहा छैन ।

तर, तपाईंकै पार्टीका कार्यकर्ता ज्योति झाले सामान तपाईंको जिम्मा लगाएको भनिरहेका छन् त ?
ज्योति झा भन्ने को हुन् म चिन्दिँन । हाम्रो पार्टीको मान्छे भन्ने पनि थाहा थिएन । हिसिला यमी हाम्रो पार्टीले बनाएको राहत वितरण तथा अनुगमन समिति काठमाण्डुको इन्चार्ज हुनुहुन्छ । म पार्टीको काठमाण्डु जिल्ला समितिको सचिव हुँ । उहाँले मलाई फोन गरेर भारतबाट सामान आउँदैछ । ज्योति झा भन्ने व्यक्तिले फोन गर्नुहुन्छ ।
सामान जिम्मा लिन भन्नुभयो । भारतबाट सामान आउँदैछ भन्ने सुनेपछि मैले ज्योति झा कुनै भाइचारा संगठनका प्रतिनिधि होलान् भन्ने बुझें । लगत्तै भारतीय नम्बर ९१८३७५८६३१८५ बाट ज्योतिको फोन आयो । उनले तपाईंको नम्बर मलाई हिसिला यमीले दिनुभएको । भूकम्प पीडितका लागि भारतको गुजरातबाट दुई ट्रक सामान आउँदैछ भने । मैले ठीकै छ भनें । उनले त्यसपछि पनि तीनपटक जति फोन गरे । तर मैले एकपटक पनि उनलाई फोन गरेको छैन ।

तर त्यो सामान गोरखाका भूकम्प पीडितका लागि आएको रहेछ त ?
समाचारमा नआउँदासम्म सामान कसले, कसका लागि पठाएको हो भन्ने थाहा थिएन । सिमानामा सामान आएपछि ९८००९०५६४७ नम्बरबाट कल आयो । उनी को हुन् मलाई थाहा छैन । मैले परिचय पनि सोधिन । उनले मलाई तपाईं प्रकाशको दिदी हो ? भनेर सोधे । ज्योति झाले नम्बर दिएको भनेका थिए । उनको लवज भारतीयजस्तो थियो । उनले आधा नेपाली र आधा हिन्दीमा बोलेका थिए । उनले सामान काठमाण्डुका लागि आएको बताएका थिए । त्यसबाहेक केही थाहा छैन ।

ती व्यक्तिसँग थप के कुरा भयो ?
उनले मोरङको भण्टाबारीमा सामान आइपुग्यो । तपाईंको सम्पर्कमा पठाउने कुरा भएको छ  । कता पठाउने भनेर सोधे । बानेश्वरमा सिभिल अस्पताल अगाडि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगै ट्रली बसको कार्यालय छ । त्यहीँ पठाइदिनुस् भनें । उनले उताबाट ट्रकमा आएको सामान झारेर दुईवटा बसमा राखेर पठाउँदै गरेको जानकारी दिए । उनले गाडी भाडा १० हजारमा ५ हजार हामीले दिएका छौं । बाँकी ५ हजार तपाईंहरुले दिनुहोला भने ।
हामीले पछि त्यो पैसा दियौं पनि । सामान हिंडेको खबार पाएलगत्तै मैले हिसिला यमीलाई फोन गरेर सामान उताबाट हिंडेको र साँझ सात बजेतिर आइपुग्ने बताएँ । सात बजेतिर हिसिलासहित पार्टीका काठमाण्डु जिल्ला इन्चार्ज हिमाल शर्मा, म लगायतका साथीहरु सामान बुझ्न ट्रली बसको कार्यालयमा पुग्यौं ।

सामान लिएर आउने मानिस को थिए ?
बीचबीचमा बाटोबाट चालकले ९८१३२०९५२८ नम्बरबाट फोन गरेका थिए । अरु कोही आएका थिएनन् । हामीले चालकबाटै सामान बुझेका हौं ।

त्यो सामान चाहिं के थियो ?
एउटा बसमा ११७ र अर्कोमा ११० पोका सामान थियो । एउटा पोका खोलेर हेरेका थियौं । भित्र दुई वटा स–साना कम्बल, एउटा प्लाष्टिकको त्रिपाल, दुईटा गुन्द्री, एउटा बाल्टी, दुईटा ग्यालिन, टुथपेष्ट, ब्रस, साबुन र एक सेट कुर्ता सलवारजस्तो कपडा थियो । अरु प्याकेट खोलेर हेरेनौं । सायद सबैमा उस्तै सामान थिए होलान् ।

तपाईंले जे–जे भनिरहनुभएको छ, यी त सबै आफू उम्कन गरिएको बयानजस्तो भयो, सामान लुटेको होइन भन्ने आधार के त ?
सामान्य मानिसले पनि बुझ्न सक्ने कुरा के छ भने त्यो सामान गोरखाका लागि आएको हो भने किन काठमाण्डु ल्याइयो ? के मैले मुग्लिनबाट जबर्जस्ती नियन्त्रणमा लिएर सामान काठमाण्डु ल्याएको थिएँ ? जसले मलाई सामान लुटेको आरोप लगाएर समाचार लेखेका छन् के उनले रेणु दाहालले गोरखा गएर सामान काठमाण्डु ल्याएको पुष्टि गर्न सक्छन् ? इण्डियाबाट सामान हिंडेदेखि काठमाण्डु आउँदासम्म पटकपटक विभिन्न व्यक्तिले मलाई फोन गरेर सामान ल्याएका छन् । त्यहीबाट थाहा भइहाल्छ नि लुटेको हो कि पु¥याउन आएका थिए भन्ने ।

छोरी लुट्ने, बाबु (प्रचण्ड) ले वितरण गर्ने काम भइरहेको सुनिन्छ त ?
यो त झन् महाहावादारी कुरा हो । त्यसबारेमा बुबालाई केही थाहा छैन । बदनियतपूर्वक मेरो बेज्जत गर्न खेजिएकामा जति दुःखी छु । बुबाको नाम अनावश्यक रुपमा मुछिएका कारण थप दुःखी छु । त्यो सामान काठमाण्डुका १० वटै निर्वाचन क्षेत्रका अतिप्रभावित क्षेत्रमा बाँडियो । बुबाले विभिन्न संघसंस्था र सिख धर्मावलम्बीले दिएका सामान बाँड्नुभएको छ ।
उहाँले कम्बल, त्रिपाल, चामल र खाद्यान्न वितरण गर्नुभएको छ । लुटिएको भनिएको भारतबाट आएको सामानको एउटा पोका मात्र बुबाले बाँडेको पुष्टि गर्न चुनौती दिन्छु । बुबाले जताजता सामान वितरण गर्नुभएको छ । ती सबै ठाउँको फोटो र भिडियो मिडायाले खिचेका छन् । बुबाले पोके सामान बाँडेको एउटै मात्र फोटो देखाइयोस् आजैबाट राजनीति छाडिदिन्छु ।

गोरखाका लागि आएको सामान काठमाण्डुमा वितरण गर्नुभयो । यो सुनेर गोरखाका पीडितहरु कति दुःखी भए होलान् अनुमान गर्न सक्नुहुन्छ ?
गोरखा भूकम्पबाट बढी प्रभावित क्षेत्र हो । पीडित भनेका सबैतिरका उस्तै हुन् । हाम्रो पार्टीको जोड पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार र राहत पठाउने भन्ने छ । बाबुराम भट्टराईको गृहजिल्लाका लागि आएको सामान हिसिलाकै नेतृत्वमा लुटेर काठमाण्डु ल्याउने कुरा के सम्भव थियो होला र ? अघिल्लो दिन आएको सामान भोलिपल्ट बिहानै पार्टीका सबै क्षेत्रका प्रमुखहरुलाई बोलाएर जिम्मा लगाइयो ।
जुन दिन सामान बाँडियो, त्यसको राति १२ बजे मलाई बोर्डरबाट फोन गर्ने व्यक्तिले फेरि फोन गरे । निन्द्रामै फोन उठाएँ । गोरखाका लागि आएको सामान ‘मिस्टेक्ली’ काठमाण्डु पुगेछ । उनले हामीबाट गल्ती भयो । कृपया सामान फिर्ता दिनुस् भने । यस्तो विपदका बेला आएको सामान कतै जम्मा गरेर राखिरहने कुरा त हुँदैनथ्यो । हामीले बाँडिसक्यौं । ढिला खबर गर्नुभयो । हामीले मागेका थिएनौं, तपाईंहरुले आफैंले फोन गरेर सामान पठाउनुभएको हो । मैले त सामान रिसिभ गरेको मात्र हो । यसबारेमा हिसिला यमी र ज्योति झासँग कुरा गर्नुस् भनें । ती मानिस आत्तिएको जसरी बोलेका थिए । 

त्यसो भए तपाईंलाई हिसिला र ज्योति झाले फसाएका रहेछन् हो ?
फसाएको भन्ने शब्द प्रयोग नगरौं । मलाई फसाउने नियत उहाँहरुको होइन होला । तर, एउटा कुरा सत्य के हो भने मैले हिसिला यमीको निर्देशनमा काम गरेको हुँ । सामान कताबाट आयो, कसले पठायो, कसका लागि पठाएको थियो केही थाहा छैन । सामान लुटेको हो वा कसैले दिएको हो भन्ने कुरा मलाई थाहा छैन ।
यो कुरा हिसिला र ज्योति झालाई सोध्नुस् । मेरो नाम अनावश्यक रुपमा जोडिएपछि हिसिला कमरेडलाई यसबारेमा पटकपटक प्रष्ट्याउन आग्रह गरें । तपाईंको निर्देशनमा काम गरेको हुँ । तर नखाएको विष लाग्यो । ममाथि अन्याय भयो भनें । उहाँले तपाईं प्रचण्डकी छोरी भएको हुनाले समाचार बनेको हो । राजनीति गर्ने मानिसका बारेमा राम्रा/नराम्रा सबै चर्चा हुन्छन् । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।
मैरै बारेमा एउटा अनलाइनले दक्षिण एसियाकै भ्रष्ट महिला  भनेर समाचार लेखेको थियो । मैले अदालतमा मुद्धा हालेर सफाई पाएँ । तपाईं पनि त्यसै गर्नुस् भन्नुभयो । दुःखको कुरा के छ भने उहाँको निर्देशनमा काम गर्दा ममाथि जे जति आरोप लाग्यो, त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने थियो ।

बुबा (प्रचण्ड) ले त्यसबारेमा के भन्नुभयो ?
बुबालाई यसबारे जानकारी नै छैन । हाम्रो कुरा भएको पनि छैन । मेरो कारणबाट बुबामाथि जसरी आरोपित गर्न खोजिएको छ, त्यसबाट दुःखी छु । मलाई देखाएर बुबामाथि प्रहार भयो  । भूकम्प गएको भोलिपल्टैदेखि भूकम्प पीडितको राहत र उद्धारका लागि खट्नुभएको छ ।
राहत तथा उद्धारको काम प्रभावकारी भएन भनेर सरकारलाई दबाब दिइरहनुभएको छ । अरु पार्टीका को नेता भूकम्प पीडितलाई भेट्न गाउँगाउँ गएको छ ? आफू केही गर्न नसक्नेहरुले प्रचण्डको राम्रो कामबाट आत्तिएर गलत प्रचार गरिरहेका छन् ।

सामान खोज्न भारतबाट मानिसहरु आएको सुनियो, उनीहरुले तपाईंलाई के भने ?
उनीहरु आएका छन् कि छैनन् मलाई थाहा छैन । उनीहरु मेरो सम्पर्कमा छैनन् । मैले माथि पनि भनिसेकको छु कि त्यसको बारेमा प्रष्टीकरण मैले होइन, ज्योति झा र हिसिला कमरेडले दिनुहोला ।





प्रतिक्रिया दिनुहोस्...