अमेरिकी विमानलाई दोलखामा रोक
चरीकोट : महाभूकम्पपछि राहत सामग्री लिएर आएको अमेरिकी विमान ओस्प्रेलाई दोलखामा अवतरण गर्न दोलखा प्रशासनले रोक लगाएको छ।
भारतीय हेलिकोप्टरले राहत सामग्री कम बोकेको र सम्बन्धित स्थानमा नगएको भन्दै रोक लगाइरहेका बेला अमेरिकाबाट आएको विमानलाई पनि रोक लगाइएको हो।
सामान थोरै ल्याउने र अवतरण गर्दा धेरै विनाश गर्ने उल्लेख गर्दै दोलखामा उक्त विमान अवतरण गर्न उपयुक्त स्थान नभएकाले नआउन आग्रह गरिएको प्रजिअ प्रेमलाल लामिछानेले जानकारी दिए।
उनले अमेरिकाको सहयोग अतुलनीय भएको भन्दै साना हेलिकोप्टरमार्फत सामान ल्याइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
भूकम्पबाट चर्किएको जिल्लाका धेरै घर अमेरिकी विमान अवतरण हुँदा हल्लिने र झ्यालका सिसा फुटेको भन्दै स्थानीयले विरोध जनाएका थिए।
सोमबार बेलुकी पहिलोपटक आएको उक्त विमान अवतरण हुँदा जिल्ला प्रशासनको सेक्युरेटी गार्डको पोस्टको छानो उडाउनुको साथै प्रशासनको सिसासमेत फुटेको थियो।
जिविसको पर्खाल र जिल्ला प्रशासनको एउटा भवनको छानो उडाएपछि अवतरणका लागि रोक लगाइएको प्रजिअ लामिछानेले बताए।