अमेरिकी हेलिकप्टरको दुर्घटना प्रकरण: थप रहस्यहरु खुल्दै


US-Army-helicopter
काठमाडौँ, १३ जेठ । गत बैशाख २९ गते दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमानामा दुर्घटनामा परेको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनास्थलमा थप एक जनाको मानव कंकाल भेटिएको छ ।
हेलिकप्टर दुर्घटना परेको इलाकामा निरन्तर सुरक्षा प्रदान गर्दै अनुसन्धानका लागि थप मद्दत पुग्ने प्रमाणहरुको खोजी गर्ने क्रममा दुर्घटनास्थलमा विगतमा नभेटिएको मानव अस्थिपन्जरको भाग फेला परेको नेपाली सेनाले जनाएको छ । आइतबार भेटिएको थप अस्थिपञ्जरलाई काठमाडौ ल्यार्ई परिक्षण कार्य शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
उक्त मानव कंकाल यसअघि नै संकलन गरिएको ८ जना (नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ जना) बाहेकको हो वा अन्य व्यक्तिहरुको हो भन्ने पहिचान गर्न अमेरिकाको बिशेषज्ञ टोलीको सहायता लिई डिएनए परिक्षण तथा संयुक्त रुपमा अनुसन्धान गरी पत्ता लगाउने प्रक्रिया प्रारम्भ भइसकेको नेपाली सेनाले जनाएको छ ।
बैशाख २९ गतेको भूकम्पपछि उद्दारका लागि दोलखा उडेको नेपाली सेनाको हेलिकप्टर जेठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाँडाको उत्तरपूर्वी भेगमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा दोलखा जिल्लाको लादुक र लामिडाँडा पाँच जना मानिस समेत परेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । उनीहरुलाई उपचारका लागि सिंगटी बजारबाट हेलिकप्टरले राखी ल्याइएपनि दोलखा र काठमाडौंका विभिन्न अस्पतालहरुमा खोजतलास गर्दा पनि अहिलेसम्म फेला नपरेको बताइएको छ । हराइरहेका भनिएका ५ जना व्यक्तिहरुको नेपाली सेना, स्थानिय प्रशासन र अन्य सुरक्षा निकायहरुबाट दोलखा, धुलिखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पतालहरुमा बुझ्ने कार्य भइरहेकोमा अहिलेसम्म कुनै विवरणहरु प्राप्त नभएको सेनाले जनाएको छ । हराएका पाँच दोलखाली पनि अमेरिकी हेलिकप्टरमै परेको दाबी गरिरहँदा सोही दाबीलाई बल पुग्ने गरी आइतबार दुर्घटनास्थलमा मानव कंकाल भेटिएको हो ।
यद्यपि दुर्घटनाग्रस्त हेलिकप्टरमा नेपाल र अमेरिकाका सैनिकहरुबाहेक अन्य व्यक्तिहरु समेत भए, नभएकोे सम्बन्धमा अनुसन्धान भइरहेको सेनाको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्...