३४ देशका उद्धार टोली फर्काइँदै


काठमाडौं : सरकारले महाभूकम्पपछि उद्धारका लागि विभिन्न मुलुकबाट आएका उद्धार (सर्च एन्ड रेस्क्यु) टोलीलाई फिर्ता गर्ने तयारी गरेको छ। गृह मन्त्रालयअन्तर्गत केन्द्रीय दैवीप्रकोप उद्धार समितिको आइतबार बसेको बैठकले उद्धारका लागि विभिन्न ३४ राष्ट्रबाट आएका चार हजार ५० जना र सोही कामका लागि ल्याइएका एक सय २९ वटा कुकुर फिर्ता गर्ने निर्णय गरेको हो।
 
गृह मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विदेशी मुलुकका उद्धार टोलीलाई कार्यविधिअनुसार एक सातामात्र काम गर्न पाउने अधिकार भएकाले अब फिर्ता गर्ने निर्णय भएको बताए। नेपाली सेनाले विदेशी उद्धारटोली अब नचाहिने भन्दै गृह मन्त्रालयमा पत्राचार गरेपछि उनीहरूलाई फिर्ता पठाउन लागिएको हो।
 
'विदेशबाट आएका सर्च एन्ड रेस्क्यु टिम एक साताभन्दा बढी समय बस्न पाउँदैनन्', गृह प्रवक्ता ढकालले भने, 'उहाँहरूले दु:खमा परेका नेपालीलाई सहयोग गर्नुभएको छ। उहाँहरूलाई धन्यवाद दिएर बिदा गर्ने निर्णयमा पुग्यौं।'
 
नेपाली सेनाले पटकपटक उद्धार गर्न नेपाली सेना सक्षम रहेको भन्दै विदेशी टोलीलाई तत्काल फिर्ता गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो। प्रधानसेनापति गौरवशमशेर राणाले समेत प्रधानमन्त्री सुशील कोइरालालाई विदेशी उद्धार टोलीलाई फिर्ता गर्न आग्रह गर्दै आएका थिए।
केन्द्रीय दैवीप्रकोप उद्धार समितिले उद्धारका लागि विभिन्न ३४ राष्ट्रबाट आएका चार हजार ५० जनालाई फिर्ता गर्ने निर्णय गरेको हो।
गृह प्रवक्ता ढकालले भने, 'विदेशी उद्धार टोलीको कार्यअवधि सकिएकाले फिर्ता गर्ने निर्णय गरेका छौं। बाँकी काम नेपाली सेना र सशस्त्र प्रहरीले गर्नेछन्।' उद्धार समितिले उनीहरूलाई फिर्ता पठाउने निर्णय गरेपछि मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ।
 
सशस्त्र प्रहरी बलले समेत आफूहरूले पुरिएका धेरै व्यक्तिको जीवितै उद्धार गरिसकेकाले सर्च र रेस्क्युका लागि नेपाल आएका विदेशी टोलीलाई फिर्ता गर्न लबिङ गरेको छ।
 
उद्धारका लागि भारतबाट आएको सैन्य टोलीले कामभन्दा पनि आफ्ना सञ्चारमाध्यम प्रयोग गरेर गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री कोइरालालाई सरकारकै केही मन्त्रीले गुनासो गरेको स्रोतले बतायो। 
 
केही मन्त्रीले भारतीय उद्धार टोली र त्यहाँबाट आएका सञ्चारमाध्यमप्रति औंला उठाएका थिए। प्रधानमन्त्री कोइरालाको विमानस्थल निरीक्षणका क्रममा प्रधानसेनापति राणाले विदेशी उद्धार टोली र सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति सार्वजनिक रूपमै टिप्पणी गरेका थिए।
 
उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय भए पनि भूकम्प प्रभावित क्षेत्रमा रहेका विभिन्न मुलुकका मेडिकल टोलीलाई भने तत्काल फिर्ता पठाइनेछैन। 
 
ढकालले प्रभावित क्षेत्रमा खटिएका मेडिकल टोली स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा आवश्यकताअनुसार परिचालन हुने बताए। प्रभावित क्षेत्रमा विभिन्न मुलुकका ६० समूहका सात सयजना स्वास्थ्यकर्मी खटिएका छन्।
 
भूकम्प प्रभावित क्षेत्रका लागि खाद्यान्न, टेन्टलगायत अत्यावश्यक सामग्री आपूर्तिका लागि प्रयोग भइरहेका भारत, चीन र अमेरिकाबाट ल्याइएका हेलिकोप्टर र विमान भने तत्काल फिर्ता नगरिने भएको छ।






प्रतिक्रिया दिनुहोस्...