ससुराली हिडेंका लालबाबु बोरामा भेटिए


फोटो :फाइल फोटो

वीरगन्ज : एक साताअघि ससुराली हिँडेका पर्साको सोनवर्षाका एक युवाको शव बोरामा पोको पारेर फ्याकेको अवस्थामा भेटिएको छ ।

पर्साको सोनवर्षा गाविस–८ का  ३१ वर्षीय लालबाबु गौरोको शव जंगलभित्र बोरामा पोको पारेर फ्याकिएको अवस्थामा सोमबार फेला परेको हो ।

गौरोको हत्या गरेर शव पर्साकै बागवाना गाविसनजिकको कोइलाभार जंगलभित्र बोरामा पोका पारेर फालिएको अवस्थामा फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए ।

सोमबार बिहान जंगलमा दाउरा खोज्न गएका गाँउलेले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए

गत बैशाख २१ देखि परिवारको सम्पर्कबाहिर रहेका गौरोलाई त्यसयता परिवार र प्रहरीले खोजी गरिरहेका थिए ।

बागवाना गाविसको मनवामा रहेको ससुराली घर गएका गौरो त्यही दिनदेखि बेपत्ता थिए । ससुराली जाँदा गौरोले प्रयोग गरेको ना २७ प ७३९५ नम्बरको मोटरसाइकल भने भोलिपल्ट बागवानाकै कोइलाभार मन्दिरनजिक फेला परेको थियो ।

गौरोको शव कोइलाभार मन्दिरदेखि तीन किलोमिटर उत्तरको जंगलभित्र फेला परेपछि अनुसन्धान थालिएको प्रनाउ ओलीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्...