दोलखा, वैशाख २१ - चरिकोटस्थित होटल क्षेत्र चरिघ्याङमा ढलेर तेर्सो परेर बसेको एउटा घरको कारण वरपरका वासिन्दाले आफ्नो सग्लो घर छिर्नसमेत पाएका छैनन् ।
ढलेर अर्को घरमा गएर ढेस्सिएको होटल संगम र ढल्न खतरा रहेको अरु दुई घर टोलकै काल बनेपछि चरिघ्याङ क्षेत्र भुकम्प गएको दशौं दिनमा त्रसित नै छ । आसपासका २५ घरका वासिन्दाले उक्त घर तत्काल भत्काउन सघाइदिन सरकारलाई अनुरोध गरेको छ ।
पाँचतला भन्दा माथिका ३ वटा घर नभत्काएसम्म उक्त टोलमा हिडडुल गर्नसमेत कठिनाइ छ । २५ घरका मुलीहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा जोखिममा रहेको घर भत्काउँदा हुने हानी बेहोर्ने उल्लेख छ । उक्त घरहरु नभत्किए टोल नै छाडेर हिड्नुपर्ने अवस्था आएको पीडितहरुले प्रशासनमा अपिल गरेका छन् ।
भीमेश्वर नगर- १ स्थित चरिघ्याङ क्षेत्रमा रहेको सुन्दर कार्कीको होटल संगम ढलेर अर्को सग्लो घरमा अडिएको छ । त्यो जतिखेर पनि जता पनि पल्टने सक्ने खतरा छ । संगोलमा रहेको नेपाल बैक बसेको सूर्यबहादुर तमाङको घर पनि जगकै रड भाँचिएकाले खतरामा छ । साथै रहेको तारा उपाध्यायको घर पनि भत्कने अवस्थामा रहेकोले टोलमै खतरा रहेको निवेदनमा उल्लेख छ । निवेदन प्राप्त भएपछि जिल्ला प्रशासनले घर भत्काउन बर्दबहादुर गणलाई पत्राचार गरेको छ ।
धरापमा रहेको घरहरु भत्काइदिन आग्रह
