News
»
९२ वर्षीय रामबहादुर तामाङ भन्छन्, नब्बे सालको भुइँचालोले खोकना सहरमा धुलो उडायो, अहिले जताततै उठिबास बनायो
९२ वर्षीय रामबहादुर तामाङ भन्छन्, नब्बे सालको भुइँचालोले खोकना सहरमा धुलो उडायो, अहिले जताततै उठिबास बनायो
रामबहादुर तामाङ अहिले ९२ वर्ष लागे । तामाङको जन्म १९८१ सालको हो । नब्बे सालको भूकम्प आउँदा उनी नौ वर्षका थिए । काठमाडौं चाल्नाखेलका तामाङ अहिले धोबिघाटमा बस्छन् । नब्बे साल र अहिलेको भुइँचालो भोगेका तामाङले रातोपाटीसँग साटेको अनुभव : ०९० सालको भुइँचालो आउँदा म नौ वर्षको थिएँ । चाल्नाखेलमा बाख्रा गोठालो गएको थिएँ । एकजना बुढीआमाले पारिबाट आयो आयो भनिन् । उनले भूकम्प आयो भन्नै भ्याइनन् कि जानिन् । के आयो आयो, म बच्चै थिएँ, केही बुुझिनँ । के आको हो के ! भाग्न त पर्यो । हामी केही केटाकेटी कुदेर नजिकैको घरको पिँढीमा लुक्न गयौँ । त्यस घरका मानिस आएर हामीलाई स्याउलामा धकेले ।
उनको आँगनमा स्याउला थियो । हामी त्यहीँ लड्यौँ । हामीले यताउता हेर्यौँ । खोकनाको फाँटमा धुलो उड्यो । त्यसपछि मान्छेहरुको कोकोहोलो सुनियो– भुइँचालो गयो, भुइँचालो गयो । घरबाट बाले, आमाले, दाइले चिच्याउन थाले । मलाई त्यति ठूलो लागेन किनकि म बच्चै थिएँ । अलिअलि जमिन हल्लेजस्तो भाथ्यो । भरे घरमा जाँदा सबैले ‘आज घरमा नबस्ने, बारीको पाटामा जाने’ भने । त्यस रात बारीकै पाटामा बस्यौँ । अहिलेको भुइँचालो घचघच तलमाथि भयो, पटकपटक भइरह्यो । ऊ बेलाको भुइँचालो एकैबाजी आएको जस्तो लाग्थ्यो । पटकपटक आएको थाह भएन । ऊ बेला हाम्रो चाल्नाखेलका घरमा केही भएन । वरवर पनि घर भत्केनन् । खोकना सहरमा भने थुप्रै घर भत्के छन् । ढुंगामाटो एकै ठाउँमा जम्मा भाको देखेँ । ऊ बेला अहिलेजस्तो टिभी–रेडियो थिएन । भुइँचालोले घर भत्केको मान्छेले भनेपछि मात्रै थाहा हुन्थ्यो । हामीले जति वरपर देख्यौँ, त्यति नै थाहा हुन्थ्यो । त्यही भएर पनि होला ऊ बोलाको भूकम्प अहिलेको जति हल्ला भएको मैले थाहा पाइनँ । अहिले त यतिका मान्छेको उठिबास भएको छ । मान्छेहरुको बिचल्ली भएको खबर आइरहेका छन् । अहिले मैले रेडियोबाट थाहा पाएँ । टिभीबाट बिचल्ली भएको देखिराछु । ऊ बेला त हामीमाथि मात्रै भुइँचालो आएझैँ लाग्थ्यो ।