विभिन्न संघ संस्थाले पठाएको ११ ट्रक राहत विमानस्थलमा थन्कियो
| शनिबार गएको भूकम्पमा परी पीडित बनेकाहरुका लागी विदेशबाट विभिन्न संघ संस्थाले पठाएको करिब ११ ट्रक राहत सामाग्री विमानस्थलमा अलपत्र परेको छ। | |
काठमाण्डौ, बैशाख १८ - शनिबार गएको भूकम्पमा परी पीडित बनेकाहरुका लागी विदेशबाट विभिन्न संघ संस्थाले पठाएको करिब ११ ट्रक राहत सामाग्री विमानस्थलमा अलपत्र परेको छ ।
राहत पठाउने विभिन्न संघ संस्थाले भन्सार नतिरेको भन्दै त्रिवि भन्सार प्रशासनले उक्त सामानलाई विमानस्थलको गोदाममा थन्क्याएको हो । ’सामान बुझ्ने मान्छेको समस्या छ, सामानको भन्सार पनि क्लियर भएको छैन,’ शुक्रबार दिउँसो प्रधानमन्त्री सुशील कोइराला आफैंले गोदाममा गएर सामान हेरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले सो जानकारी दिएका हुन् । दैवी प्रकोपमा परेकाहरुका लागि आउने राहतमा भन्सार शुल्क लिने प्रचलन छैन । तर, यसका लागि भन्सार छुट गरिएको निर्णय मन्त्रिपरिषदबाटै त्रिवि भन्सार कार्यालयलाई पठाइनु पर्ने व्यवस्था छ । सोको नीरिक्षणपछि प्रधानमन्त्री कोइरालाले राहत सामग्री तत्काल भूकम्प प्रभावित क्षेत्रमा पुर्याउन निर्देशन दिए । सरकारले भूकम्प पीडितको राहत संकलनमा गैरसरकारी संघसंस्थालाई निरुत्साहित गर्ने नीति लिएको छ । |
