अर्बौ ऋण बोकाउने दलहरुप्रति अभिनेत्री रेखा थापाको यस्तो आक्रोश
मिडिया एनपी, काठमाडौं, १८ जेठ । अभिनेत्री तथा निर्माता रेखा थापाले राजनीतिक दलहरुको पछिल्लो रवैयाप्रति तीव्र असन्तुष्टि जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् पोष्ट गर्दै थापाले अबौं विदेशी ऋण बोकाएर दल तथा तिनका नेतृत्वमा बनेका सरकारले जनतालाई केही गर्न नसकेकोमा तीव्र असन्तुष्टि जनाएकी हुन् ।
माओवादी द्वन्द्वकालमा ध्वस्त भएका संरचनाहरु पुनर्निर्माणका नाममा अर्बाै रुपैयाँ बाह्य मुलुकबाट भित्र्याएको ऋण शान्ति मन्त्रालयले सदुपयोग गर्न नसकेको भन्दै थापाले जनतालाई ऋण मात्रै बोकाएको टिप्प्णी गर्दै उक्त रकमको बारेमा चासो समेत राखेकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘माओवादी द्वन्द्व कालमा ध्वस्त भएका संरचनाहरु पुनर्निर्माण गर्ने भनेर थपिएको तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आज को ९ वर्ष सम्म के कति संरचना पुनर्निर्माण गरेको छ कुनै यकिन डाटा छ नेपाल सरकार सँग ? अर्बांै डलरको विदेशी दातृ राष्ट्रको ऋण जनतालाई बोकाएर, कहाँ गयो सहयोगहरु ?
यस्तै उनले सरकार परिवर्तनको विषयमा पनि खरो टिप्पणी गरेकी छिन् । अभिनेत्री थापाले राष्ट्रिय सरकार बनाउने हो भने पुरानो अनुहार असफल भइसकेको भन्दै नयाँ अनुहार ल्याउन राजनीतिक दलहरुसँग माग गरेकी छिन् । सरकार र पद परिवर्तन गरेर जनताको भावनामाथि राजनीतिक दलहरुले खेलवाड गरेको थापाको आरोप छ ।
‘आज फेरि राष्ट्रिय सरकार, नेतृत्व परिर्वतन अनि पद परिवर्तनका कुरा गरेर तिनै निर्दोस जनताहरुको भावना माथि कति खेल्ने ? त्यो विगतका वर्ष देखि तिनै अनुहारहरु दोहोरिदै छन्, जो पहिले नै असफल सावित भइसकेका छन् । हो, अहिले नयाँ सरकार आवश्यकता छ तर पुरानै अनुहारको प्रतिस्पर्दा को के फाईदा ? के युवा नेता अनि नयाँ अनुहारको विचारवान प्रधानमन्त्री हामी नेपाली जनताले अब देख्न नपाउने नै हो त ?’, थापाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् ।
राजनीतिक दलहरुको गैरजिम्मेवार व्यवहार बढ्दै गएको प्रति संकेत गरेकी थापाले अब जनताहरु सजग हुनुपर्ने बताएकी छिन् । पीडितका नाउँमा गलत व्यक्तिले राहत लिने र वास्तविक पीडित सिंहदरवार छिर्न नसकेर तातो लाइनमा बस्न बाध्य भएको भन्दै उनले राहत र सहयोग बेचेर खाएका नेताहरुले पुनर्निर्माण र सरकार परिवर्तन भनेर कुर्लिएको देख्दा धेरै मन दुखेको गुनासो समेत गरेकी छिन् ।
फेसबुकमा उनले लेखेकी छिन्, ‘समयमा नै अब हामी जनता सजग हुन जरुरी छ। सरकारले सही पीडित पहिचान गरेर उनीहरुलाई तत्काल परिचय–पत्र दिनु पर्छ । भोलि राजनीतिकरण हुँदै अनि झुटो पीडितहरुले राहत रातारात लिन्छन अनि साँचो पीडित सिंहदरबार छिर्न नसकेर तातो लाइनमा बस्न बाध्य हुन्छन् । माफ गर्नुस, मैले नेगेटिभ कुरा मात्र भनेको होइन , हिजो सहिदको नाममा आएको राहत र सहयोग बेचेर खाने नेताहरुले नै आज पुनर्निर्माण र सरकार परिवर्तन भनेर कुर्लिरहेको देख्दा बहुत मन दुखेर आउँछ ।’
नागरिकप्रति गरिएको बेमानी जान्दा जान्दै पनि राजनीतिक दलहरुको पछि लाग्ने प्रवृत्तिको विरोध गर्दै थापाले अब देशका लागि सोच्ने बेला आएको र बेलैमा सचेत हुन पनि आह्वान गरेकी छिन् । ‘कहिले सम्म हामी जनता देखेर पनि बोल्न नसक्ने, सुनेर पनि बुझ्न नसक्ने अनि तिनै नेताको पछि नलागे पनि नहुने अनि गाली नगरे पनि नहुने ? तपाई, हाम्रो र जनताको अधिकारको लागि कुनै पार्टी र नेता नभनी, देशको लागि हामी जनताले नै सोच्ने बेला आएको छ, बेलैमा सचेत बनौं’, थापाले फेसबुकमा उल्लेख गरेकी छिन् ।