एयरपोर्टको गेटमै यसरी कुटिए युवा


फोटो :कुटपिटबाट घाइते भएका युवा । तस्बिर : अन्‍नपूर्ण
काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट अगाडि एक होटल व्यवसायी युवा गम्भीर घाइते हुने गरी कुटिएका छन् ।

एयरपोर्ट अगाडि टी थ्री थकाली होटल चलाउँदै आएका २५ वर्षीय प्रवेक तुलाचनलाई कडा सुरक्षा रहेको विमानस्थलको मूलगेटमै गाँजा खाएका तीन युवाले सोमबार राति कुटपिट गरी घाइते बनाएका हुन् ।

होटलमा आएका पाहुनालाई पिपलबोट अगाडिको ट्याक्सी स्ट्यान्डमा छोडेर फर्किरहेका तुलाचनलाई गाँजाले मातेका तीन युवाले सोमबार राति १० बजे अन्धाधुन्दा कुटपिट गरेका थिए ।

तुलाचनमाथि कुटपिटमा संलग्न बारा घर भई एयरपोर्ट अगाडि बस्ने २० वर्षीय विक्रम लामा, रुपन्देहीका सन्तोष खड्का र सोलुखुम्बु घर भएका सुमन रानालाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिट गर्ने क्रममा उनीहरुले आफूले लगाएको दुई तोलाको सुनको सिक्री र १० हजार नगदसहितको पर्ससमेत लुटेर लगेको पीडित युवाले बताएका छन् ।

‘पाहुनालाई ट्याक्सी स्ट्यान्डमा छाडेर फर्कँदा मलाई विनाकारण आक्रमण गरियो’, उनले भने, ‘बलियो सुरक्षा भएकै क्षेत्रमा मैले कुटाई खाएपछि अरुले पनि असुरक्षित महसुस गरेका छन् ।’

कुटपिट गरेपछि अनुहार, मुख, ढाड र शरीरका अन्य भागमा चोट लागेका उनको काठमडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । मुखको भित्रीभागमा चिकित्सकले सात टाँका लगाएका छन् ।
 
कुटपिटमा संलग्न तीनैजनाविरद्ध पीडित युवाले महानगरीय प्रहरी वृत्त गौशालामा केही सार्वजनिक अपराधमा जाहेरी दिएका छन् । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको गौशला प्रहरीले जानकारी दिएको छ ।

गौशाला वृत्तका डिएसपी राकेश सिंहले तुलाचनमाथि व्यक्तिगत रिसिवीका कारण आक्रमण भएको अनुसन्धानबाट खुलेको बताए ।
 
‘कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरी हिरासतमा राखेका छौं’, सिंहले भने, ‘उनीहरुविरुद्ध अदालतबाट म्याद थपेर  केही सार्वजनिक अपराधमा मुद्धा चलाउने तयारी गरेका छौं ।’






प्रतिक्रिया दिनुहोस्...