नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची


काठमाडौं : नेपालले क्यानडालाई विभिन्न २१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने जानकारी गराएको छ। क्यानडाले कामदार लिने संकेत गरेपछि नेपालले आफ्ना मुलुकमा भएका दक्ष कामदार पठाउने सूची उपलब्ध गराएको हो। क्यानडालाई दिइएको सूचीमा धेरैजसो प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति छन्। भूकम्प प्रभावित जनतालाई सहयोग गर्न नेपाल आएकी क्यानडाकी श्रम मन्त्री केल्ली लेइचसमक्ष श्रम तथा रोजगार मन्त्रालयले यस्तो सूची उपलब्ध गराएको हो। नेपालले क्यानडाको आवश्यकताअनुसार उपलब्ध गराउन सक्ने जनशक्तिमा दन्त चिकित्सक, मेडिकल ल्याब प्राविधिक, शिक्षक, नर्स, कृषि विज्ञ, अनमी, एकाउन्टेन्ट, इन्जिनियर, सूचना प्रविधिसम्बन्धी विज्ञ, प्लम्बरलगायतका छन्। नेपालले आकर्षक पारिश्रमिक तथा सेवा सुविधा दिएमा प्राविधक तथा दक्ष जनशक्ति पठाउन सक्ने बताएपछि त्यहाँकी श्रम मन्त्री लेइचले नेपालबाट कामदार लैजान विशेष पहल गर्ने आश्वासन दिएकी छन्। क्यानडाका श्रम मन्त्री लेइचसँग नेपालका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसहितका उच्च अधिकारीले आइतबार भेट गरेका थिए। लेइचको नेपाल भ्रमण अनौपचारिक हो। क्यानडाले नेपाली कामदार लिने संकेत गरेपछि नेपालले आफ्ना मुलुकमा भएका दक्ष कामदार पठाउने सूची उपलब्ध गराएको हो। नेपालले क्यानडालाई दिएको सूचीमा धेरैजसो प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति छन्। तत्काल कृषि क्षेत्रका लागि सिजनल (मौसमी) कामदार लैजान गृहकार्य गर्ने र त्यसपछि क्रमश: अन्य क्षेत्रमा काम गर्नेलाई समेत प्राथमकिता दिन तयार रहेको जानकारी केल्ली लेइचले दिएकी भेटमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीले बताए।

तत्काल ६ महिनादेखि एक वर्ष अवधिका लागि काम गर्ने कृषि कामदार आवश्यक परेकाले त्यस्ता व्यक्ति पठाउन उनले जोड दिएकी महानिर्देशक सुवेदीले जानकारी दिए। कामदार आदानप्रदानका लागि प्रारम्भिक छलफलमात्र भएकाले भारतका लागि क्यानडाको दूतावास र नेपालस्थित क्यानाडाको दूतावासमार्फत काम अघि बढाउने अनौपचारिक सहमति पनि भएको छ। क्यानडाको नेपालमा दूतावास नभएकाले भारतमा रहेको दूतावासले नै नेपालको पनि काम गर्छ। क्यानडाले नेपाली कामदार लिने आवश्वासन दिए पनि कामदार पठाउने मोडालिटी तयार भएको छैन। दक्षिण कोरियामा जस्तै सरकारले पठाउने वा म्यानपावर व्यवसायीलाई दिने भनेर अध्ययन गर्न बाँकी रहेको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले नेपालले क्यानडाको श्रम बजार प्रवद्र्धन गर्न केही समयदेखि पहल गरेको र सोही सन्दर्भमा त्यहाँको श्रम मन्त्रीसँग भेटघाट गरिएको जानकारी दिए। नेपाली कामदार लिन क्यानडा उत्सुक भएको उनले बताए। कति शुल्क लिने र कुन मोडालिटीमा पठाउनेलगायतका विषयमा विस्तृत अध्ययन गर्ने काम कूटनीतिक नियोगमार्फत अघि बढाउने सहमति भएको छ। यसैगरी, क्यानडाले नेपालमा दूतावास खोल्न चाहेको जानकारी गराएको महानिर्देशक सुवेदीले बताए। नेपालले वैदेशिक रोजगारीका लागि क्यानडा खुला गरेपनि म्यानपावर व्यवसायीलाई खासै कामदार पठाउन सकेका छैनन्। उच्चशिक्षा हासिल गरेका, अनुभवी तथा प्राविधिक क्षेत्रमा काम गर्नेहरू व्यक्तिगत पहलमा जानेक्रम बढी छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गएको एक वर्षमा काम गर्न क्यानडा जान सरकारी अनुमति लिनेको सख्ंया एक सय ६१ जना छ।




प्रतिक्रिया दिनुहोस्...