डाक्टर टोली थियो हेलिकोप्टरमा


काठमाडौं : फिलिपिन्सको योकोता एभिएसनबाट पाइलटको तालिम लिएर आएका क्याप्टेन सुवेक श्रेष्ठ निकै मिलनसार र लगनशील थिए।  माउन्टेन हेलिकोप्टर्सको ९ एनएजेपी हेलिकोप्टर मंगलबार सिन्धुपाल्चोकको यमुनाडाँडामा दुर्घटना हुँदा क्याप्टेन श्रेष्ठसहित चारजनाले ज्यान गुमाए।
 
फिलिपिन्सबाट कमर्सियल पाइलटको इजाजत लिएरै आएका सुवेक सन् २०१२ को सुरुबाट नै माउन्टेन हेलिकोप्टरमा आबद्ध थिए।  भक्तपुरको गठ्ठाघर घर भएका सुवेकले माउन्टेन हेलिकोप्टर्समा कोपाइलटका रूपमा काम सुरु गरेका थिए।
 
एक वर्षदेखि क्याप्टेनको जिम्मेवारी समाल्दै आएका उनी निकै हँसिला, जोसिला र साथीभाइसँग छिट्टै घुलमिल हुने स्वभावका रहेको माउन्टेन हेलिकोप्टर्सकै कार्यकारीनिर्देशक क्याप्टेन पासाङनुर्बु शेर्पाले बताए।
सुवेकको परिवारमा भाइ सागर श्रेष्ठ र आमा छन्। सागर पनि विमान चालक नै हुन्। २७ वर्षीय सुवेक अविवाहित थिए। सुवेकले मंगलबार दोलखाकै लागि दुईवटा उडान गरिसकेका थिए। 
 
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डक्टर्स विदाउट बोर्डर्स अर्थात् मेडिसिन सास फन्टियर्स (एमएसएफ) का तर्फबाट राहत तथा उद्धारमा खटिएको यो हेलिकोप्टर केही दिनदेखि दोलखामा नै खटिएको थियो।
 
तेस्रो उडान गरेर दोलखाबाट फर्कने क्रममा यो हेलिकोप्टर सिन्धुपाल्चोकको यमुनाडाँडामा बिजुलीको तारमा ठोक्किएको हो। एमएसफएले नेपालमा एक महिनादेखि राहत तथा उद्धारका लागि काम गर्दै आएको छ।
 
डा. सन्दीप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र हल्यान्डकी नर्स जेसिकासहितको टोली लिएर गएको हेलिकोप्टर दुर्घटनाको कारणबारे छानबिनका लागि बुधबार पर्यटन मन्त्रालयले टोली गठन गर्ने भएको छ। डा. महत, कार्की र नर्स जेसिका तीनैजना एमएसएफका प्रतिनिधि हुन्।
 
क्याप्टेन सुवेक निकै लगनशील भएकाले उनको कामको प्रशंसा अन्य हेलिकोप्टर कम्पनीबाट पनि हुने गरेको थियो। सबैले रुचाएका उनले पछिल्लो समयमा हेलिकोप्टर कम्पनी परिवर्तन गर्न चाहेको उनका एक समकक्षी मित्रले बताए।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकोप्टर दिउँसो तीन बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको थियो। 
 
यो हेलिकोप्टर जमिन नजिकैबाट उडेको र दिउँसोको चर्को घाममा क्याप्टेनले बिजुलीको तार नदेख्दा ठोकिएको हुनसक्ने अनुमान गरिएको छ।
 
बिजुलीको नाङ्गो तारमा छोएपछि हेलिकोप्टर अनियन्त्रित भएर ठोक्किएको अनुमान छ। दुर्घटनाबाट हेलिकोप्टरमा पूर्ण रूपमा क्षति पुगेको छ। हेलिकोप्टरमा परी मृत्यु भएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।






प्रतिक्रिया दिनुहोस्...