उनले सयौँलाई बचाए तर आफैलाई बचाउन सकेनन्


काठमाडौँ, २० जेठ । केही महिना अघिमात्रै क्याप्टेनमा बढुवा भएका सुबेक श्रेष्ठ कम्ती खुसी थिएनन् । उनी बढुवा भएको बेलाको तस्वीरले भन्छ, उनीमा छुट्टै उत्साह र कर्तव्यबोध थियो । बढुवा पाएपछि माउन्टेन एयरले गरेको औपचारिक कार्यक्रममा होस् या त्यसपछि हेलिकप्टरका अगाडि उभिँदा उनीमा जीवनको एकखाले उत्साह देखिन्छ । २७ बर्षीय जोशिला सुबेक काम भनेपछि मरिमेट्थे, सोहीकारण उनले छोटो समयमै बढुवा पनि पाए । भूकम्पका बेला झन उनी अहोरात्र खटे । गोरखाको बारपाकदेखि विभिन्न जिल्लामा भूकम्पबाट घाइते सयौँको उद्दार तथा राहत वितरणमा खटिए । सयौँ घाइतेलाई उद्दार गरी ज्यान जोगाएका सुबेकले मंगलबार आफैलाई जोगाउन सकेनन् । २७ बर्षको कलिलो उमेरमै सिन्धुपाल्चोकको यमुनाडाडा गाविस–८ शीलापर्वतमा उनको जीवनलाला समाप्त भयो । उनले उडाएको माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ कलसाइनको हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोँक्किदा सुबेकसहित चार जनाको ज्यान गएको छ । सुबेकले २ बजेर ३७ मिनेटमा अन्तिमपटक त्रिभुवन बिमानस्थलको टावरलाई खबर गरेका थिए । त्यस लगत्तै हेलिकप्टर दुर्घटनामा परेको थियो । सिन्धुपाल्चोक र दोलखाका भूकम्प प्रभावित क्षेत्रमा औषधीसहितको राहत पुर्‍याएर काठमाडौं फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। सुबेकको निधनले भक्तपुरस्थित उनको परिवार शोकमा डुबेको छ । शोककै कारण माउन्टेन एयरले बुधबार आफ्नो उडान बन्द गरेको छ ।




प्रतिक्रिया दिनुहोस्...