बर्माभित्र लडाकुविरुद्ध भारतीय सैन्य कारबाही


बर्माभित्र लडाकुविरुद्ध भारतीय सैन्य कारबाही
नयाँ दिल्ली– भारतीय सेनाले मंगलबार बर्माभित्र पसेर सैन्य कारबाही गरी विद्रोही लडाकुका दुई वटा शिविर ध्वस्त पारेको छ। भारतका सूचना तथा प्रसारण राज्यमन्त्री राज्यवर्धनसिंह राठौरले भारतीय सेना बिहान बर्माभित्र पसी विद्रोहीका शिविर ध्वस्त पारेको मंगलबार पुष्टि गरेका हुन्। ‘विशेष सैन्य बलले बर्माको सीमाभित्र विशेष अभियान गरेको थियो,' भारतको टेलिभिजन च्यानल टाइम्स नाऊसँग कुराकानी गर्दै राज्यमन्त्री राठौरले भने, ‘कारबाहीमा सेनाले उग्रवादीका दुई वटा शिविर ध्वस्त पारेको छ।' राज्यमन्त्री राठौरले भने, ‘कारबाही प्रधानमन्त्रीद्वारा लिइएको एउटा ऐतिहासिक र साहसिक निर्णय थियो।'राज्यमन्त्री राठौरले बर्माभित्र गरिएको सैनिक कारबाही पाकिस्तानलगायत भारतविरुद्ध उग्रवादी विचारधाराका मानिस बस्ने राष्ट्रका लागिसमेतसन्देश भएको परोक्ष चेतावनी दिए। भारतीय अखबार इन्डियन एक्सप्रेसले सोधेको प्रश्नको जबाफमा राठौरले भने, ‘यो कारबाही पाकिस्तानसमेत ती सबै देश र संगठनका लागि एउटा सन्देश हो, जो भारतविरुद्ध आतंकवादलाई बढावा दिन्छन्। एउटा आतंकवादी आतंकवादी मात्र हुन्छ, उसको कुनै पहिचान हुँदैन। हामीले चाहेको बेला कारबाही गर्न सक्छौं।'
राज्यमन्त्री राठौरले कारबाहीको पुष्टि गर्नुअघि भारतीय सेनाले पनि भारत–बर्मा सीमा क्षेत्रमा उग्रवादीसँग भिडन्त भएको जनाएको थियो। सेनाले भिडन्तमा ठूलो संख्यामा उग्रवादी विद्रोही मारिएको उल्लेख गरेको थियो।
भारतीय सेनाको प्रधान कार्यालयका सैन्य अभियानका अतिरिक्त महानिर्देशक मेजर जनरल रनबिर सिंहले स्थानीय समयअनुसार मंगलबार बिहान बर्माको सीमास्थित दुई बेग्लाबेग्लै ठाउँमा भारतीय सेना–उग्रवादी विद्रोहीबीच भिडन्त भएको बताए। सिंहले भिडन्तमा ठूलो संख्यामा उग्रवादी विद्रोही मारिएको उल्लेख गरे। तर उनले मारिएका विद्रोहीको संख्या भने बताएनन्।
‘केही दिनयता सेनामाथि अझै केही आक्रमण हुनसक्ने अत्यन्त विश्वासिलो र सटिक जानकारी पाएका थियौं,' सिंहले भने, ‘त्यही गोप्य जानकारीका आधारमा हामीले आफूविरुद्ध सम्भावित आक्रमण रोक्न अभियान चलायौं।' उनले थपे, ‘मंगलबार बिहान भारतीय सेनाले बर्माको सीमानजिक उग्रवादीका दुई समूहलाई बेग्लाबेग्लै निसाना बनायौं, जसमा कैयौं उग्रवादी विद्रोही मारिए।'
सैन्य कारबाहीमा छिमेकी राष्ट्र बर्माको सहयोग रहेकोतर्फ संकेत गर्दै सिंहले भने, ‘हामी बर्मेली अधिकारीसँग निरन्तर सम्पर्कमा छौं। दुवै देशका सेनाबीच आपसी सहयोगको ऐतिहासिक परम्परा छ र हामी भविष्यमा पनि बर्मेली सेनाबाट यस्तै सहयोगको अपेक्षा राख्छौं।'
केही दिनअघि मात्र भारतको पूर्वोत्तर राज्य मणिपुरमा त्यहाँका पृथक्तावादी लडाकुले सेनामाथि आक्रमण गर्दा १८ भारतीय सैनिक मारिएका थिए।





प्रतिक्रिया दिनुहोस्...