१६ बुँदे सहमतिले माओवादी एकता भाँडियो
फोटो :फाइल फोटो
एमाओवादीले जनाधिकारको घाँटी निमोठेको आरोप
काठमाडौं: संविधानका विवादित बिषयमा भएको १६ बुँदे सहमतिले एमाओवादी र नेकपा-माओवादी वीचको एकता प्रक्रिया भाँडिएको छ।करिब एक बर्षदेखि पार्टी एकताका लागि प्रयास गर्दै आएका दुई माओवादीलाई १६ बुँदे सहमतिले टाढा पुरयाइदिएको छ। पार्टी एकताको वातावरण बनाउन दुई पार्टीले संयुक्त गतिबिधि गर्दै आएका थिए।
पश्चगामी, प्रतिक्रान्तिकारी र प्रतिगमनकारी संविधान बनाउन १६ बुँदे सहमति भएको बिश्लेषण गर्दै माओवादी अध्यक्ष मोहन बैद्यले आफूहरुलाई एमाओवादीले बिश्वासघात गरेको आरोप लगाए।
'एमाओवादीका नेताहरुले विगतका कमीकमजोरी सच्याएर संसदवादीले भने जस्तो लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन जाँदैनौ भनेर हामीलाई बिश्वास दिलाउन खोजेका थिए।
जनवादी क्रान्तिलाई पूरा गर्ने बारेमा गम्भिर कुराकानी भएका थिए। हामीलाई थाहा नै नदिइकन सहमति गर्नु भएछ' पार्टी कार्यालय बुद्धनगरमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बैद्यले भने'उहाँहरुले दुई जिब्रे नीति लिनु भएको रहेछ। दुई जिब्रे नीति लिनु गलत हो।
पश्चगामी र यथास्थितिवादी संविधान बनाउन जानेहरुसँग पार्टी एकता हुन सक्दैन। एमाओवादी नेतृत्वले धोका दिएको छ। बिश्वासघात गरेको छ। त्यस्ताहरुसँग पार्टी एकता गर्नु पार्टी र आन्दोलनको निम्ति घातक हुनेछ।'
एमाओवादीसँग पार्टी एकताका लागि दुवै पार्टीका नेता कार्यकर्ताले निकै मेहनत गरेको पनि बैद्यले स्मरण गराए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले पहिले पनि बिश्वासघात गरेकै कारण आफूहरुले अलग पार्टी बनाउनु परेको पनि बैद्यले बताए।
'दोस्रो संविधानसभा बिघटन हुनुपर्छ। सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्छ। जनताको हकहित संरक्षण गर्ने अग्रगामी संविधान बनाउनुपर्छ' अबको राजनीतिक बिक ल्प प्रस्तुत गर्दै बैद्यले भने।
परी थापा नेतृत्वको नेकपा एकीकृत र एमाओवादी भित्रका क्रान्तिकारीहरुलाई आफनो पार्टीमा ल्याउन पहल गर्ने बैद्यले बताए। नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीसँग भने सहकार्य हुन सक्ने बैद्यले बताए।
'उहाँहरु हतारिएर अलग हुनुभयो। आउनुस बाटो खुला छ भनेका छौ', बैद्यले भने, 'कमी कमजोरी सच्याउँदै इमान्दारितापूर्वक अगाडि बढ्न चाहने सबैसँग छलफल र बहस गर्न सकिन्छ। बिप्लवजी पनि आउनुहुन्छ भने छलफल गर्न सकिन्छ ।'
'बिभाजित माओवादी शक्ति तथा समूहरुलाई क्रान्तिकारी सिद्वान्त तथा कार्यदिशाका आधारमा नयाँ ढंगले एकताबद्व तुल्याउने ऐतिहासिक आवश्यकतालाई अझै गम्भीरतापूर्वक आत्मसाथ गरी त्यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन निर्णायक पहल गर्ने निर्णय लिइएको छ' बैद्य र महासचिव रामबहादुर थापा'बादल' ले जारी गरेको संयुक्त बिज्ञप्तिमा भनिएको छ 'जेठ २५ गते गरिएको पश्चगामी सहमतिमा संलग्न बन्नुको कारण फेरि पनि एमाओवादी नेतृत्व क्रान्तिकारी कम्युनिष्टहरु वीचको सिद्वान्तनिष्ठ एकता प्रक्रियामा गम्भीर बिश्वासघात गरी त्यसबाट पछि हटेको स्पष्ट हुन गएको छ। यसस्थितिमा एमाओवादीसित एकता प्रक्रियालाई पूरानै रुपमा निरन्तरता दिनु पार्टीका निम्ति घातक हुने ठहर गरिएको छ।'
संसदीय व्यवस्थाका बिरुद्व १० बर्ष जनयुद्व गरेर आएको एमाओवादीले पुन संसदीय व्यवस्थालाई नै स्वीकार गरेकोमा माओवादीका नेता कार्यकर्ताको गुनासो देखिन्छ।
बैद्य र थापाले १६ बुँदे सहमतिलाई 'राष्ट्रघात र जनघातको निकृष्ट नमूना'को रुपमा चित्रण गरेका छन।
'भूकम्पका कारणले मुलुक दु:खमा रहेको र विपद व्यवस्थापनमा केन्द्रित रहनुपर्ने सम्वदेनशील स्थितिमा संसदीय संविधान निर्माणका लागि संसदवादी शक्तिहरुको वीचमा सम्झौता गरिनु बुर्जुवा यथास्थितिवादी दृष्टिकोण अनुसार पनि जनताको संवेदनशीलता प्रति अपमान गर्ने र संविधान निर्माण सम्बन्धी जनतामा व्यापक छलफल गरिनुपर्ने जनअधिकारको पनि घाँटी निमोठ्ने घोर निरंकुश र फासीवादी कदम हो', बिज्ञप्तिमा भनिएको छ' अत: त्यस प्रकारको राष्ट्रघाती,जनघाती र पश्चगामी सहमतिको दृढ बिरोध एवं भण्डाफोर गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा,जनतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताको लागि नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा लाग्नुपर्ने आवश्यकतामाथि पुन बिशेष जोड दिइएको छ।'
माओवादी स्थायी समितिको जेठ २५ गते बैठक बसेको थियो।