फर्कंदै भारतीय सेनाको अन्तिम टोली


फोटो :फाइल तस्बिर: अन्‍नपूर्ण
काठमाडौं : भूकम्पलगत्तै उद्धार र राहतका लागि आएको भारतीय सेनाको अन्तिम टोली र हेलिकोप्टरहरू यो साताभित्रै फर्कने भएका छन्।
 
वैशाख १२ गते अपराह्नदेखि जहाजहरूसहित आएका भारतीय सैनिकहरूको अन्तिम टोलीमा ६९ जना रहेको नेपाली सेनाले जनाएको छ। भारतीय सेनाको यो टोलीमा जहाजका पाइलटहरू, इन्जिनियरहरू, अन्य प्राविधिक र तिनका सहयोगी सैनिक छन्। 
 
सुरुमा काठमाडौं र त्यसपछि पोखरा विमानस्थलमा एयर बेस बनाएर राहत र उद्धारमा खटाइएका जहाजहरूमध्ये अब ६ वटा काठमाडौंमा रहेको सैनिक स्रोतले बतायो। 
 
यीमध्ये तीनवटा एमआई १७ हेलिकोप्टर भारतीय वायुसेनाका छन् भने तीनवटा अल्ट्रा लाइट हेलिकोप्टर भारतीय आर्मी एभिएसनका छन्। एउटा जहाज प्राविधिक गडबडी भएपछि मर्मतका क्रममा छ।
 
भारतीय सैनिक कमान्डरले नेपाली सेनालाई आफ्नो अन्तिम टोली फर्कने क्रममा रहेको जानकारी गराइसकेका छन्। सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोख्रेलले भने, 'उहाँहरू छिट्टै फर्कने तयारीमा हुनुहुन्छ।'
 
विपत्को बेला थुप्रै देशका सैनिक उद्धारका लागि आए पनि अब फर्कन बाँकी अन्तिम टोलीमा भारतका ६९ जना र क्यानाडाका सातजनामात्र छन्। क्यानाडेली सेनाको टोली दुई दिनभित्रै नियमित उडानबाट फर्कने भएको छ।






प्रतिक्रिया दिनुहोस्...