'सुशीलपछि केपी स्वतः प्रधानमन्त्री'
फोटो :फाइल फोटो
सेरेमोनियल राष्ट्रपति हुने रहर छैन
काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार मसान्तमा संविधान जारी गरेर दोस्रो ठूलो पार्टीको नेताको हैसियतले केपी ओली स्वतः प्रधामन्त्री हुने बताएका छन् ।
बुधबार राति बीबीसी नेपाली सेवासँगको कुराकानीमा अध्यक्ष प्रचण्डले सहमतिबाट संविधान जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएको अवस्थामा ओली नै प्रधानमन्त्रीका दाबेदार हुने बताएका हुन् ।
‘केपीजीलाई प्रधानमन्त्री बनाउन हामीले औपचारिक निर्णय गरेका छैनौ’, उनले भने, ‘पहिलो ठूलो पार्टीले सरकार छाडेपछि दोस्रो ठूलो नेताको हैसियतमा उहाँका लागि प्रधामन्त्री बन्ने बाटो खुल्ला छ ।’
ओलीलाई कुनै बेला ‘पागल’ भनेको प्रसंगमा ओलीले राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने भन्दै अहिले परिस्थिति अर्कै भइसकेको दाबी गरे ।
‘’राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन । ओलीजीले हाम्रोबारे गरेको टिप्पणीको जबाफमा मैले पागल भनेको थिएँ’, प्रचण्डे भने, ‘अब संविधान बनाएर मुलुकलाई आर्थिक उन्नतितर्र्फ लैजान विगतका तिता भुल्न राजनीतिक एकता जरुरी छ ।’
सेरेमोनियल राष्ट्रपति हुन्न
प्रचण्डले एमाओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै आफूलाई सेरेमोनियल राष्ट्रपति हुने कुनै रहर नरहेको बताए ।
‘एमाओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा छ । यो विषयमा संविधानमा पनि नोट अफ डिसेन्ट लेख्छौं’, प्रचण्डले भने, ‘२५ वर्षसम्म पार्टी अध्यक्ष र महासचिव भएर बसेँ । त्यही कारण परिवर्तन खोजेको हुँ । तर सेरेमोनियल राष्ट्रपति हुन्नँ ।’
एमाओवादीले राष्ट्रपतिको दाबी नगर्ने प्रष्ट पार्दै प्रचण्डले प्रधानमन्त्रीबाट सुशील बाहिरिएपछि राष्ट्रपतिका लागि उनलाई समर्थन गरेर अघि बढ्न सकिने उल्लेख गरे ।
‘अझै ५ देखि ७ वर्ष सक्रिय राजनीति गर्छु, मलाई राष्ट्रपतिको रहर छैन’, प्रचण्डले दोहोर्याए, ‘एमाओवादीले राष्ट्रपति दाबी गर्दैन । कांग्रेस–एमालेका उम्मेदवारलाई समर्थन गर्छ ।’