१ लाख २० हजार घूससहित इन्जिनियर पक्राउ
विदुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घूस रकमसहित सडक कार्यालय नुवाकोटका इन्जिनियरलाई पक्राउ गरेको छ। अख्तियारमा तीन दिनअघि परेको उजुरीका आधारमा आयोगबाट प्रहरी नायब उपरीक्षक खेमबहादुर केसीको नेतृत्वको टोलीले विदुरमा एक लाख २० हजार रुपैयाँसहित डिभिजनल सडक कार्यालय नं. ५ नुवाकोटका इन्जिनियर लालसिंह ऐरीलाई पक्राउ गरेको हो।
ऐरीलाई अख्तियार टोलीले मंगलबार काठमाडौं लगेको छ। विदुरस्थित नेपाल बैंकको कार्यालयअगाडि सेवाग्राहीसँग नगद घूस लिइरहेको समयमा अख्तियार टोलीले सडक कार्यालयको भे१ झ नम्बरको गाडीबाट नगदसहित ऐरीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खेमबहादुर केसीले जानकारी दिए।
'हामीले घूस रकमको नगद फोटोकपीसहित उनीमाथि निगरानी गरिरहेका थियौं। उनले घूस लिने तय भएको दिन मंगलबार विदुर आएर घूस लिँदै गर्दा पक्राउ गरेका हौं', प्रनाउ केसीले भने।
सात लाख ६४ हजार लागतको चनौटे-रातमाटे-आगेगैह्री-साहुगाउँ सडक योजनाको फर्स्यौट गर्दा मागेको रकम एक लाख २० हजार रुपैयाँ इन्जिनियर ऐरीले मागेका थिए। वैतडीको वासुलिङ गाविस ८ एैरी गाउँ स्थायी घर भएका इन्जिनियर ऐरी २० वर्षदेखि नुवाकोट सडक कार्यालयमा कार्यरत छन्।
ग्रामीण सडकको निर्माणपछि प्राविधिक फस्र्यौट स्वीकृत गर्न सेवाग्राहीसँग ऐरीले एक लाख २५ हजार रुपैयाँ मागेकोमा एक लाख २० हजार रुपैयाँमा सहमति भए अनुसार नगद रुपैयाँ लिएका थिए।
'सो सडक खण्डको मर्मतपछि सेवाग्राहीले प्राविधिक जाँच गरी बिल फर्स्यौट गर्न बारम्बार आग्रह गर्दा पनि काम नगरेको पाइयो', प्रनाउ केसी भने।