भारतीय नागरिक झुन्झुनवालासँग विवाह बन्धनमा बाँधिदै हर्षिका


काठमाडौं– अभिनेत्री हर्षिका श्रेष्ठले विवाह गर्ने भएकी छन्। श्रेष्ठले मोबाइल कम्पनीमा कार्यरत भारतीय प्रसुन झुन्झुनवालासँग आगामी जेठ २७ गते राजधानीको रोयल ब्याङ्केटमा विहा गर्नेछिन्।



'आठ महिना मुम्बईमा सांस्कृतिक कार्यक्रमको सिलसिलामा जाँदा उनीसँग परिचय भएको थियो। निकटता बढेपछि उनले प्रेम प्रस्ताव राखे,' हर्षिकाले भनिन्, 'भूकम्पपछि उनले धेरै साथ दिए। परिवारले समेत उनलाई मन पराएपछि विवाह गर्ने निर्णय गरेको हुँ।'

कलकत्ता निवासी झुन्झुनवालासँग विवाह गरेपनि उनले फिल्म करियरलाई भने निरन्तरता दिने बताइन्। 'विवाहपछि एक महिना कलकत्ता बसेर फर्कन्छु। केही फिल्मको साइनिङ रकम लिइसकेको हुँदा पहिलो प्राथमिकता त्यस फिल्मलाई दिनेछु,' उनले भनिन्। कलकत्ता र नेपालको दूरी जम्मा दुई घण्टा भएको बताउँदै उनले यसका कारण फिल्म करियरलाई असर नगर्ने बताइन्।

हेटौंडामा रहेका बाबुसँग भेटघाट गरिसकेपछि अन्य सदस्यसँग परिचय गराएको उनले बताइन्। 'दुवै परिवारको भेटघाटपछि विवाह निश्चित भयो, अनि जन्मदिन पनि सँगै मनयौं।,' उनले भनिन्।

उनीद्धारा अभिनित पछिल्ला फिल्महरु 'आवारा', 'लुटेरा' र 'साइकल' रिलिज हुन बाँकी छन्।

'नालबेली', 'कर्कश', 'मिसन पैसा रिलोडेड', 'मुखौटा', 'षडङ्ग', 'जंजीर' र 'नतिजा'लगायत फिल्ममा उनले अभिनय गरेकी छन्।




प्रतिक्रिया दिनुहोस्...