नेपाल आउदै गरेको बस दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ११ घाइते



काठमाण्डौ, जेठ २३ - भारतको गुजरातबाट रुपैडिया हुँदै नेपालगञ्ज आउँदै गरेको बस शनिवार राजस्थान प्रदेशको उदयपुर जिल्लामा दुर्घटना हुदा ५ नेपालीको ज्यान गएको छ भने ११ नेपाली यात्रु घाइते भएका छन् ।

तीव्र गतिका कारण बस मोडमा पल्टिएको बताइएको छ । ज्यान जानेमध्ये एक जना सुर्खेत लेखफर्साका ६ वर्षीय बालक संगम विकको मात्र सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको र उनीहरु पनि सुर्खेतकै बासिन्दा भएको अनुमान गरिएको छ ।

सुर्खेतकै केही व्यक्तिहरुले सञ्चालन गरेको श्री पञ्चकोशी ट्राभल्सको उक्त बसमा सुर्खेतका नागरिकहरु घर आउन चढेका थिए । गुजरातमा रहेका हरी महरले चारजनाको सनाखत हुन नसकेको र उनीहरु सबै सुर्खेतका हुनसक्ने बताए ।

उनका अनुसार घाइते भएका ११ जनाको उदयपुरमा रहेको भूपाल राजकीय हस्पिटलमा उपचार भइरहेको छ । पाँच जना नेपालीले सञ्चालन गदै आएको बस दुर्घटनामा परेपछि बस चालक र सञ्चालकहरु पनि फरार भएका छन् भने यात्रुहरुको विचल्ली भएको छ।

आइतवारमात्र थप मृतक तथा घाइतेको पहिचान हुने भारतीय प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन ।  अत्याधिक भार र तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्...