सम्पदा पुनर्निर्माणमा निगमको 'एक सय रुपैयाँ अभियान


काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भूकम्पले ध्वस्त बनाएका सम्पदा पुनर्निर्माणका लागि 'एक सय रुपैयाँ' अभियान सुरु गरेको छ। 
 
निगमले गत जेठ १८ गतेदेखि आगामी एक वर्षसम्म बिक्री हुने सबै अन्तर्राष्ट्रिय उडानको टिकटबाट एक सय रुपैयाँ संकलन गर्ने भएको छ। निगमले एक वर्षसम्म संकलन गरेको यो रकम सम्पदा पुनर्निर्माण कोषमा प्रदान गर्ने जानकारी निगमका प्रवक्ता रामहरि शर्माले बताए।
 
उनका अनुसार निगमले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानका हरेक यात्रुले किनेको टिकटबाट एक सय रुपैयाँ सम्पदाको पुनर्निर्माणका लागि छुट्याउने भएको छ। यसका लागि यात्रुले अतिरिक्त शुल्क तिर्नुपर्दैन। 
 
निगमले बेचेको टिकटबाट नै यो रकम छुट्याइने निगमको भनाइ छ। यो रकम सरकारी निकायलाई हस्तान्तरण गर्ने शर्माले जानकारी दिए। 
निगमले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानका हरेक यात्रुले किनेको टिकटबाट एक सय रुपैयाँ सम्पदाको पुनर्निर्माणका लागि छुट्याउने भएको छ।
भूकम्पले सम्पदा क्षेत्रमा पुर्‍याएको असरमा निगमको जहाज चढ्ने हरेक यात्रुको योगदानका लागि उसैले तिरेको रकममध्येबाट एक सय रुपैयाँ निगमले सम्पदा पुनर्निर्माणका लागि उपलब्ध गराउने भएको हो।
 
यो रकम करिब पाँच करोड रुपैयाँ हुने अनुमान निगमको छ। निगमले यो वर्ष दुईवटा एअरबस थपेको छ। यसैले यात्रु संख्या पनि दोब्बरले बढ्ने अनुमान छ। निगमले यसअघि दुईवटा एअरबस उडाउँदै आएको थियो।
 
निगमले यसअघि भूकम्प पीडितका लागि नगद सहयोग गरिसकेको छ। निगमका सम्पूर्ण कर्मचारीका तर्फबाट भूकम्प पीडितको सहयोगार्थ ४६ लाख ९६ हजार नौ सय ७३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको निगमले जानकारी दिएको छ। 
 
निगमले भूकम्प पीडितको राहतका लागि आएको औषधिसहितको सामग्री विभिन्न देशबाट नि:शुल्क ढुवानी गरेको थियो।
 
टिकेटिङको व्यवस्था सहज बनाउन माग
सोसाइटी अफ टुर एन्ड ट्राभल एसोसिएसन (सोट्टो) नेपालले नेपाल वायुसेवा निगमको टिकेटिङ सरलीकरण गर्न माग गरेको छ। सोट्टो कार्यसमितिले शुक्रबार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भेटी यस्तो माग गरेको हो। 
 
निगमको आन्तरिक उडानको टिकेटका लागि नगद नै बुझाउनुपर्ने व्यवस्था बैंकिङ प्रणालीमार्फत हुनुपर्ने, ई-टिकेटिङको व्यवस्था सहजै हुनुपर्नेसहितको माग सोट्टोले गरेको छ। 
 
सोट्टोले निगमले गर्नुपर्ने र व्यावसायिक सहजताका लागि विभिन्न सातबुँदे माग पनि राखेको छ। सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्का, महासचिव मधुसूदन उपाध्यायसहितको टोलीले कंसाकारलाई निगमको महाप्रबन्धकमा नियुक्त भएकोमा बधाई दिँदै निगम तथा व्यवसायी दुवैको हितमा सुझाव पेस गरेको सोट्टोले जनाएको छ।
 
कतार एयरवेजबाट निगमको प्रशंसा
भूकम्पपछि नेपालमा बढेको विदेशी उडानको ग्राउन्ड ह्यान्डलिङ व्यवस्थापनमा वायुसेवा निगमले गरेको योगदानको कदरस्वरूप कतार एअरवेजले प्रशंसापत्र दिएको छ। 
 
कतारले भूकम्पपछिको विपत्का समयमा पनि निगमले उल्लेखनीय काम गरेको भन्दै कतारले प्रशंसापत्र दिएको हो। भूकम्पको समयमा निगमले दिएको उत्कृष्ट सेवाको सम्मान गर्दै कतारले यो प्रशंसापत्र दिएको निगमका प्रवक्ता रामहरि शर्माले बताए।






प्रतिक्रिया दिनुहोस्...