इन्काउन्टरमा मारिएका गुण्डा नाइके चरीको सहयोगी पक्राउ


प्रहरी इन्काउण्टरमा मारिएका चर्चित गुण्डा नाइके चरी भनिने दिनेश अधिकारीका एक सहयोगीले अवैध भिओआईपीमा लगानी गरेको फेला परेको छ । चरीको मृत्युपछि फरार रहेका उनका सहयोगीहरु अवैध धन्दासहित फन्दामा परेका छन् । गुण्डा नाईके चरीका सहयोगी २९ वर्षीय विष्णु रानाभाटलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो भिओआईपी सञ्चालन गरेको अभियोगमा काठमाडौंको धापासीबाट पक्राउ गरेको हो । रानाभाटले धापासी हाईट स्थित एक घरमा भिओआईपीका उपकरण जडान गरी सञ्चालन गरेको पाईएको व्यूरोले जनाएको छ । 

अभियुक्त रानाभाटले चितवनकाका ३० वर्षिय नसिब तामाङ्लाई मासिक तलब दिएर पछिल्लो एक वर्षयता भिओआईपी सञ्चालन गर्दै आएको पाइएको छ । सिआईवीले अभियुक्तहरुको साथबाट भिओआईपी सञ्चालनका उपकरण, साँढे तिन लाख रुपैंया बरामद गरेको छ । चरी मारिएपछि उनका सहयोगीहरु फरार थिए । प्रहरीले चरी समुहका अन्य सदस्यलाई समाउन सकेको थिएन । भिन्न प्रकृतिको गैह्र कानुनी गतिविधिमा चरीका सदस्यको संलग्नता पाईएपछि सिआईवीले गहिरो अनुसन्धान थालेको बताएको छ । यसैबीच सिआईबीको अनुसन्धानले नेपाली सिम कार्डको प्रयोग गरी झापा पारि भारतिय भूमिबाट भिओआईपी सञ्चालन गरेको पाइएको छ । यसरी सिमापारिबाट नेपाली दुरसञ्चार प्रदाय कम्पनिको सिमकार्ड प्रयोग गरी हुने भिओआईपीले मासिक करोडौं बराबरको राजश्व गुमेको छ । यस्ता गिरोहलाई पक्राउ गर्न सिआईवीले भारतीय सुरक्षाकर्मीको सहयोग लिएर अपरेशन थालेको बताएको छ । सिआईवीले हालसम्म अवैध भिओआईपी विरुद्ध ७९ स्थानहरुमा गरेको कारवाहीमा १०४ नेपाली र ३१ जना विदेशी सहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । पक्राउ अभियुक्तहरु विरुद्ध हालसम्म दश अर्ब अठासी करोड ९७ लाख २६ हजार भन्दा बढी रुपैंया बराबरको बिगो मागदाबी लिई मुद्धा दायर गरिएका छन् । हालसम्म भिओआईपीमा प्रयोग गरिएका नेपाल टेलिकम र एनसेलका २१ हजार थान सिम कार्ड र करोडौं मूल्यका भिओआईपीका उपकरण बरामद गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्...