नेपाली भूमिमा तारबार गर्न भारतीय एसएसबीको अवरोध


फोटो :फाइल फोटो
काम अघि बढाए जे पनि हुने धम्की
कपिलवस्तु : कपिलवस्तुस्थित नेपाली भू–भागमा पर्ने गुगौली गाविस-३ वीरनगर भाठामा वन कार्यालयले थालेको तारबार गर्ने काममा भारतीय एसएसबीले जबर्जस्ती रोकेको छ ।

अतिक्रमित जग्गा खाली गराई गत जेठ २६ गतेदेखि सुरु गरिएको तारबार भारतीय एसएसबीको अवरोधका कारण शनिबारदेखि रोकिएको हो । गौतमबुद्ध साझेदारी वनको अगुवाइमा ९ दशमलव ८ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइएको थियो । त्यहाँ वृक्षरोपण गर्ने योजना छ ।

नेपाल र भारतको सीमा अर्रा नदीलाई मानिँदै आएको कपिलवस्तु वन कार्यालयले जनाएको छ । अर्रा नदीको पूर्व नेपाली भू–भाग र पश्चिम भारतीय क्षेत्र निर्धारण गरिएको छ तर एसएसबीले सो क्षेत्र विवादित भन्दै तत्कालै काम रोक्न निर्देशन दिएको रेन्जर रवीन्द्रनाथ खनालले बताए ।

भारतको बलरामपुर जिल्ला छोटकी भुकुरुवाबाट आएका एसएसबीले काम अघि बढाइए उचित नहुने भन्दै धम्की दिएपछि बाध्य भएर आफूहरुले काम रोक्नुपरेको खनालले गुनासो गरे ।

'हामीले तारबारका लागि खम्बा गाड्ने काम गरिरहेका थियौँ,' उनले भने, 'त्यही बेला एक्कासी भारतीय एसएसबी आएर तत्कालै काम रोक नत्र ठीक हुने छैन भने ।'

वन कार्यालयको स्वीकृत कार्यक्रम र कार्यादेशअनुसार नै गौतमबुद्ध साझेदारीको अगुवाइमा काम थालिएको थियो । 'दुई सय २४ वटा खम्बासमेत गाडिइसकेका थियौँ, काम अघि बढाइरहेको बेला जबर्जस्ती भारतीय एसएसबीले रोकिदिए,' गौतमबुद्ध साझेदारीका अध्यक्ष जानकारी यादवले भने, 'नेपाली भू–भागमा काम रोक्ने उनीहरुलाई कुनै अधिकार छैन, तर उनीहरुको दादागिरीले काम गर्ने स्थिति नै छैन ।'

यो विवादित जमिन हो, संयुक्त सर्भे नगरी काम अघि नबढाउनू भनेर धम्की दिएकाले यस्तोमा आफ्नो ज्यानै जोखिममा हालेर काम गर्न नसकिने उनले दुःखेसो पोखे ।

यसअघि पनि अतिक्रमण हटाउँदासमेत एसएसबीले आफूहरुलाई काममा अवरोध गरेको उनले बताए । यता वन कार्यालयका प्रमुख राकेश कर्णले रेन्जर खनालले भारतीय एसएसबीले काममा अवरोध गरेको भन्दै कार्यालयमा लिखित जानकारी गराएको बताए ।

आफूले सो क्षेत्रको पटक–पटक अनुगमन गरेको र सो क्षेत्र स्पष्टरुपमा नेपालमै परे पनि भारतीय पक्षद्वारा कामका अवरोध आउनु दुःखद् कुरा भएको उनले बताए । आफूले घटनाबारे स्थानीय प्रशासन, वन विभाग र मन्त्रालयमा समेत जानकारी गराएको बताए ।

सो क्षेत्रको स्थलगत अनुगमन गरेका इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ उपाध्यायले सो क्षेत्र नेपालमै पर्ने स्पष्ट रहेको बताए । 'अर्रा नदीको पूर्व नेपाल र पश्चिमतर्फको क्षेत्र भारतीय हो', उनले भने, 'यस्तोमा भारतीय पक्षले काम रोक्नु कुनै तुक छैन ।'

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भारतीय पक्षले काम रोकेको आफूलाई वन कार्यालयमार्फत जानकारी आएको बताए ।

त्यस विषयमा आफूले समेत माथिल्लो निकायमा जानकारी गराएको भन्दै भारतको बलरमवापुरका डिएमसँग सम्पर्क गर्ने उनले बताए । रोकिएको काम अघि बढाउन आफू प्रयासरत रहेको उनको भनाइ छ । रासस


हवाई हमलमा इस्लामिक चरमपन्थी नेता मारिए

एजेन्सी : लिबियामा गरिएको अमरीकी हवाई हमलामा एकजना शीर्ष इस्लामिक चरमपन्थी नेता मारिएका छन् ।

दुर्इ वर्षअघि अल्जेरियाको एक ग्यास प्लान्टमा घातक हमलाका योजनाकार मानिएका  मुख्तार बेलमुख्तार हवार्इ हमलामा मारिएका हुन् ।

त्यो बेला अल्जेरियामा भएको हमलामा करिब आठ सय मानिलार्इ बन्धक बनाइएको थियो । सो घटनामा चरमपन्थीले ४० जना मानिसको ज्यान लिएका थिए ।

मारिनेहरुमा धेरैजसो बेलायती र अन्य विदेशी नागरिक थिए । लिबिया सरकारले पनि मुख्तार बेलमुख्तार र अन्य कयौं लडाकू पूर्वी सहर अजदाबियामा मारिएका पुष्टि गरेको छ ।

यसअघि पनि मुख्तार मारिएको झुटो खबर बाहिर आएको थियो । अमरीकी रक्षा मन्त्रालय पेन्टागनले पनि मुख्तार मारिएको खबरको पुष्टि गरेको छ । तर अमेरिकाले आफ्नो आक्रमणको निशाना मुख्तार नै नरहेको जनाएको छ ।


पेन्टागनका प्रवक्ता स्टिभ वारनले बताए अनुसार मुख्तार मारिएको पुष्टि गर्दै तर विस्तृत विवरण भने आइनसकेको जनाएका छन् ।

अल्जेरियामा जन्मेका बेलमुख्तार 'अल कायदा इन द इस्लामिक मगरिब' नाम संगठनमा सक्रिय थिए । तर केही समयपछि उनले आफ्नो अलग्गै संगठन बनाएका थिए ।



क्याच लिन खोज्दा क्रिकेटर मैदानमै बेहोस
गम्भीर अवस्थामा अस्पतालमा उपचार हुँदै
 
लण्डन : इङ्ल्यान्डमा टी-२० क्रिकेट म्याचका क्रममा क्याच लिन खोज्दा साथीसँग ठोक्किएर एक अस्ट्रेलियन क्रिकेटर मैदानमै ढलेका छन् ।


 अस्ट्रेलियन क्रिकेट टिमका चर्चित खेलाडी मोइस हेनरिक्स क्याच लिने क्रममा आइतबार आफ्नै साथीसँग ठोक्किर लड्दा गम्भीर घाइते भएका छन् ।

आफ्नै टिमका खेलाडी रोरी बर्न्ससँग ठोक्किन पुग्दा ढलेका उनको च्यापु नै खुस्केको छ भने दाँत भाँच्चिएको छ । घटनापछि उनलार्इ तत्कलै एम्बुलेन्सबाट अस्पताल पुर्याइयो । खेलाडी घाइते भएपछि सो खेल पनि रद्ध गरिएको छ ।

राज्यस्तरीय यो टी-२० म्याच ससेक्सको होम ग्राउन्ड एरुन्डेलमा भइरहेको थियो । यसक्रममा एउटा क्याच लिन विकेटकिपर रोरी बर्न्स र हेनरिक्स दुबै दौडेका थिए । क्याच लिन आकाशतिर हेरेका उनीहरुले एकअर्कालार्इ देखेनन । क्याच लिन उफ्रने क्रममा बर्न्सको घुँडाले हेनरिक्सको च्यापुमा जोडले लाग्यो ।

साथीको घुँडाले च्यापुमा लागेपछि हेनरिक्स तत्कालै बेहोस भए । साथी बर्न्स पनि बेहोस हुन पुगे । बेहोस भएको केही समयपछि उनीहरुको होस त खुल्यो तर उपचारका लागि अस्पताल नै भर्ना हुनुपर्यो ।

ससेक्सका अधिकारीले जानकारी दिएअनुसार हेनरिक्सको च्यापु तीन ठाउँमा भाँच्चिएको छ । च्यापुसँगै दाँतमा पनि चोट लागेकाले उनको उपचार डेन्टल सर्जनले गरिरहेका छन् ।

बर्न्सक अनुहार र घुँडामा चोट लागेको छ । उनको पनि उपचार जारी छ । मैदानमै प्राथमिक उपचारपछि दुबै खेलाडीको अहिले अस्पतालमा उपचार जारी छ । हेनरिक्स टी-२०, वान डे र टेस्ट तीनै फर्म्याटमा अस्ट्रेलियन टिमका सदस्य हुन् । उनलार्इ अस्ट्रेलियन टिमका सबैभन्दा क्षमतावान खेलाडी मानिन्छ ।






प्रतिक्रिया दिनुहोस्...