२२ करोड मूल्य बराबरको कोकिनसहित पक्राउ परेकी युवतीको आग्रह मलाइ फिर्ता नपठाउनु


लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काटेश्वरको चौथो तलामा एक महिला प्रहरीले हत्कडी लगाएकी युवतीलाई ल्याइन्। ब्युरो प्रमुख डिआइजी केशरीराज घिमिरेले ती युवतीको हतकडी खोल्न लगाए। महिला प्रहरीले हत्कडी खोलिदिईन्। केशरीले युवतीलाई  सोफामा बस्न भने। र अंग्रेजीमा सोधे– हाउ आर यु मारिना?
‘आ‘म नट वेल, आइ एम इन स्ट्रेस.....‘ उत्तर दिन नसक्दै ती युवतीका आँखा आँसुले भरिए। भर्खरै हत्कडीमुक्त बनेका दुवै हातले आँसु पुछिन्। सुक्क सुक्क रोइन्।


‘ह्वाट ह्यापन्ड?‘ घिमिरेले फेरि सोधे।
म एक महिला हुँ, तपाईहरू मलाई पशुको जस्तो ब्यवहार गर्नुहुन्छ, उनले रुँदै भनिन्, ‘मैले कोकिन पो बोकेकी हुँ, हत्या त गरेकी होइन नि!’

विरानो मुलूकमा एक युवती प्रहरीसामू रोइरहेको देख्दा लाग्नसक्छ ‘कठै विचरी.. अवला नारी।’
तर कानुनले नारी/पुरूषका संवेदना र अनुभूति महसुश गर्दैन। त्यसैले सांकेतिक रूपमा न्यायमूर्तिका आँखामा पट्टि बाँधिएको हुन्छ। त्यही पट्टि बाँधिएको कानूनको नजरले हेर्दा उनी अवला नारी देखिन्नन्।
उनी २२ करोड मूल्य बरावरको ११ केजी अवैध  कोकिन नेपाल बाहिर लैजाँदै गर्दा प्रहरीको फन्दामा परेकी अभियुक्त हुन्।

युरोपियन मुलुक इटाली लैजान लागेको कोकिनको रङ सेतो भएपनि मलेसियन नागरिक मारिना बिन्ती जमलुद्दिनको उद्देश्य धेरै कालो रहेछ। मिहनेतको कमाईमा विश्वास गर्नुको साटो अवैध सामानको ओसारपसारबाट पैसा कमाउने त्यही उद्देश्यले उनलाई प्रहरी हिरासतमा पुर्‍याएको छ।
***


२०७१ साल चैत २० गते साँझ सात बजेतिर त्रिभुवन विमानस्थलको प्रहरी चेकिङमा हवल्दार झुपलाल खड्का ड्युटीमा थिए। विमानस्थलमा नेपाल प्रहरीका केही कर्मचारीले यात्रुका लगेज र शरीर चेक जाँच गर्छन्। लागू औषध नियन्त्रण ब्युरोबाट गएका कर्मचारीले भने लागूऔषध सम्बन्धी जाँच  गर्छन्। खड्का पनि ब्युरोबाट खटिएका थिए।

‘एक युवतीको सुटकेश चेक गर्दा शंकास्पद लाग्ने बस्तु स्क्रिनमा देखियो,’ खड्काले भने ‘ल्यापटप राख्ने जस्ता ब्याग तर पाँचवटा, के होला भन्ने लाग्यो?’

उनले त्यो सुटकेशलाई फेरि मेसिनमा राखे। स्क्रिन पनि जुम पारेर हेरे। यताउती दुई/दुई वटा ब्याग ठाडो अनि एउटा बीचमा एउटा तेर्सो राखेको देखियो। शंका लागेपछि उनले झोला खोल्न लगाए।


सुरुमा मारिनाले केही होइन भनेर टार्न खोजिन्। सुटकेशबाट झोला निकालेपछि उनले खड्कालाई भनेकी थिइन्, ‘यी झोलाहरू मेरो साथीले उपहार दिएको हो, राम्रो लाग्यो भने तपाईँ नै राख्नुस्। मलाई जान दिनुस्।’
कसैलाई हतोत्साही नबनाउनू भन्ने माथिको आदेश अनुसार खड्काले उनलाई हाँसेर ‘हुन्छ तर के रहेछ, हेर्छौं’, भने। उनले तत्काल विमानस्थलमा ब्यूरोबाट खटिएको टोलीको नेतृत्व सम्हालिरहेका इनिस्पेक्टर प्रेमबहादुर शाहीलाई खबर गरे। केहीबेरमा शाही पनि त्यहीँ पुगे। त्यतिञ्जेल मारिनाले ती झोलासहित आफूसँग भएको ५ सय यूरो पनि राख्न तर आफूलाई छोडिदिन खड्कालाई आग्रह गरेकी थिइन्। खड्काले उनलाई सबै कुरामा हुन्छ भनेका थिए।
‘त्यतिञ्जेलसम्म त उ साह्रै खुसीजस्ती देखिन्थी’, खड्काले भने।

उनको खुसीको ऐना त्यतिबेला चर्कियो जब उनका ती ब्याग ब्यूरोका एयरपोर्टस्थित कार्यालयमा लिई जाँच गर्दा ११ केजी कोकिन भएको पत्ता लाग्यो। प्रहरीले उनलाई हिरासतमा लियो। गाडीमा राख्दा उनले सोधेकी थिइन्– खोइ त मलाई छोडेको?

कोकिन ओसारपसार गरेको अभियोगमा उनी प्रहरी हिरासतमा परेको र छोड्न नमिल्ने बताएपछि उनले अध्यारो मुख लगाउँदै प्रहरीलाई अनुरोध गरिन्– ‘जे हुन्छ, यहीँ गर्नू, प्लिज मलाई मेरो देश फिर्ता नपठाउनू।’
मारिनाको देश मलेसियामा कोकिनको ओसार पसारमा संलग्नलाई मृत्युदण्डको सजाय हुन्छ। त्यहाँको कानूनमा ४० ग्रामभन्दा माथि कोकिन बोक्नेलाई मृत्युदण्ड दिइने व्यवस्था छ। नेपालमा लागूऔषध ओसारपसारमा अधिकतम २० वर्षसम्म जेल सजाय हुन्छ। त्यो कुरा मारिनाले पक्कै थाहा थियो।
***

नेपालको इतिहास पनि विमानस्थलबाट त्यति ठूलो मात्रामा कोकिनसहित मानिस पक्राउ परेको यो नै पहिलो घटना हो। ‘१ दुई किलोसम्म कोकिन बोकेका ब्यक्ति पक्राउ परेका थिए। तर यत्रो परिणाममा थिएन’, डिआइजी घिमिरेले भने।
पछिल्ला पाँच महिनामा प्रहरीले ७५ जनलाई लागूऔषध ओसारपसारको अभियोगमा पक्रेको छ। त्यसमा ६९ जना नेपाली छन् भने ६ जना विदेशी नागरिक। मारिनाले आफूले ब्राजिलबाट कोकिन ल्याएर नेपाल हुँदै इटलीको रोम लैजान लागेको प्रहरीलाई बयान दिएकी छन्। उनको संजालमा धेरै जना संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले उनीसँग थप सोधपुछ गरिरहेको छ।

मलेसियाको मुस्लिम समुदायकी मारिना ३६ वर्षकी भइन्। विएस्सी नसिङ पढ्दै गरेकी उनलाई इला नामकी साथीले लागूऔषधको ओसार पसार गरे छिटो पैसा कमाउन सकिने लोभ देखाइन्। इलाले मारिनाको सम्पर्क टोनीसँग गराइन्। टोनी नाइजेरियाबाट सञ्चालित लागूपदार्थ ओसार पसार जालोका मलेसियामा एजेन्ट थिए। उनै टोनीले मारिनालाई ब्राजिलबाट युरोपसम्म कोकिन पुर्‍याउँदा हुने कमाइको बारेमा बताए।

सजिलो तरिकाबाट कमाई हुने, देश विदेश पनि घुम्न पाइने भएपछि मारिना कोकिन बोक्न राजी भइन्। टोनीले नै उनको सम्पर्क नाइजेरियामा रहेको मुख्य मान्छेसँग गराएको उनले प्रहरीलाई बयान दिएकी छन्।

मारिना ब्राजिल गइन्। त्यहाँबाट कोकिन बोकेर दोहाहुँदै भारतको राजधानी दिल्ली आइन्।   उसो त ब्राजिलबाट युरोप आउन दोहा वा दिल्ली आउनु पर्दैन। तर अधिकारीहरूलाई कुनै शंका नहोस् भनेर लागूऔषधको ओसार पसार गर्नेहरू ल्याटिन अमेरिकी मुलुकबाट एसियन मुलुक आउँछन्। र यहाँबाट युरोप उडछ्न्।

दिल्लीबाट १० चोटी कोकिन सहितको लगेज युरोप पुर्‍याएको बयान मारिनाले दिएकी छिन्। त्यसमा दुईचोटि उनी नेदरल्याण्डको आमस्र्टडम पुगिन् भने बाँकि ८ पटक इटालीको रोम।

उनले अहिलेसम्म आफू भरियामात्र भएको बयान दिएकी छन्। उनलाई लागूपदार्थ ओसारपसारको जालोमा घुसाउने टोनी मलेसियामा पक्राउ परेका छन्।

एजेन्टले भने अनुसार मात्र काम गरेका बताउने मारिनाले एजेन्टकै सल्लाहमा पहिलो पटक नेपाल आएको प्रहरीलाई बयान दिएकी छन्। भारत जस्तै सुरक्षा व्यवस्था सम्झी उनका एजेन्टले उनलाई यसपाली नेपालको विमानस्थल प्रयोग गर्न सुझाएका रै’छन्।

३० मार्चमा उनी ब्राजिलबाट दोहा हुँदै काठमाडौं ओर्लिइन्। पर्यटक भिसामा आएकी उनी लाजिम्पाटको  विल्स अपार्टमेन्टमा बसिन्। अपार्टमेन्टको रूम एजेन्टले अनलाइनबाट बुक गराएका थिए। पर्यटक बनेर उनी केही दिन काठमाडौं घुमिन्। अप्रिल ३ तारिखमा फर्कने बेला त्रिभुवन विमानस्थलमा रहेको प्रहरीले उनलाई पक्रिहाल्यो। उनी र उनको एजेन्टको योजना नेपाल प्रहरीले पुरा हुन दिएन।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारी पनि उनी एक विश्वासिलो र इमान्दार भरियामात्र भएको बताउँछन्। गरिबी अनि सजिलै पैसा कमाउने महत्वाकांक्षाका कारण उनी कोकिन ओसारपसारमा लागेका हुनसक्ने ती अधिकारीको अनुमान छ।

ब्राजिलबाट एकचोटी युरोपमा कोकिन ओसारेबापत् पारिश्रमिक मात्र ६ हजार अमेरिकी डलर पाउने बताएकी छन्। टिकट होटल खर्च सबै एजेन्टले नै बेर्होथे। सजिलै त्यत्रो पैसा कमाइने र देशविदेश घुम्न पाइने भएपछि मारिना त्यही काममा अभ्यस्त बनिन्।

मारिनाका श्रीमान्  र भाइ केही दिन अघि नेपाल आएका थिए।, उनको हालत बुझ्न। भूतपूर्व आर्मी उनका श्रीमान्‌ले त उनलाई पहिले नै सम्झाउथे रे ‘गलत काम नगर, कुनै दिन प्रहरी फन्दामा परिन्छ।’ तर पैसाको नसामा डुबेकी मारिनाले जीवनसाथीको सुझावलाई मानिनन्।  नभन्दै उनी नेपाल प्रहरीको फन्दामा परेकी छन्।

हामीलाई उनीसँग धेरै कुरा गर्न मन थियो। तर उनले त्यसलाई ठाडै नकारिदिईन्। ‘मलाई प्रेसको पनि कुनै विश्वास लाग्दैन्, तपाईहरु मेरो फोटो छाप्नु हुन्छ, उता मेरो परिवारमा कति पीडा छ, त्यो बुझ्नु हुन्न’, उनले भनिन्। हो, ४० ग्राम कोकिन बोक्दा मृत्युदण्ड दिइने कानुन भएको देशमा छोरी\बुहारी ११ केजी कोकिनसहित पक्रिईभन्दा चिन्ता पर्छ नै।

नेपालमा मृत्युदण्डको सजाय दिइने कानुनी व्यवस्था छैन्। अदालतबाट उनी दोषी ठहरिए २० वर्ष कैद सजाय हुने हो। उनी हामीसँग धेरै कुरा गर्न मानिनन्। यत्ति भनिन्– ‘भन्नपर्ने कुरा धेरै छन् तर म भन्दिनँ, डायरीमा लेखेर राखेकी छु।’

उनले डायरीमा के लेख्नेछिन भन्ने कौतुहल पाठकलाई होला। हामीलाई पनि छ। केहि पहिना पछि हामी फेरि उनलाई पछ्याउने छौ।




प्रतिक्रिया दिनुहोस्...