होसियार ! छोरी चेली फकाउन दलाल गाउँ पस्न थाले


  • कुमार चौलागाईं
सिन्धुपाल्चोक, जेठ २०–“भुइँचालोले थातथलो गुम्यो, अन्नपात पनि माटोमा मिल्यो । भएका पशु चौपाया पनि मरे । बस्ने घर छैन, खानलाई अन्न छैन, परिवारका सदस्य गुमेका छन् यस्तो बेला सोझासाझा युवतीलाई ललाइफकाइ पार्ने बेला यही हो भन्दै दलालहरू गाउँ पस्न थालेका छन्, तपाइँहरू यस्ताका पछि नलाग्नुस् होसियार रहनुस् ।”
dalal
मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था माइती नेपालका निर्देशक विश्वराम खड्काले यसो भनिरहँदा सिन्धुपाल्चोक महाँकाल–७ का युवतीहरू झसङ्ग भए । माइती नेपालले बेचबिखनबाट अति नै प्रभावित क्षेत्रमा अस्थायी बासस्थान निर्माणका लागि जस्ताको पाता वितरणसँगै बेचबिखनविरुद्ध परामर्श दिन सुरु गरेको हो ।
नेपाली काँग्रेस नेता तारानाथ दाहालको पहलमा माइती नेपालले मङ्गलबार सिन्धुपाल्चोकको शिखरपुरका ८४ घर दलित परिवार र महाँकाल गाविस–७ का १४१ घर तामाङ समुदायलाई प्रतिपरिवार एक÷एक बण्डलका दरले जस्तापाता वितरणसँगै बेचबिखनविरुद्ध परामर्श दिएको हो । दुवै गाविस चेलीबेटी बेचबिखनका लागि जोखिमयुक्त गाविस हुन् ।
जस्तापाता लिन आएकी महाँकाल–७ की १७ वर्षीया वसन्ती तामाङलाई भूकम्पपछि सहरमा राम्रो जागिर लगाइदिन्छु, देशविदेश घुमाइदिन्छु, तिमीले पढुञ्जेल पढाइदिन्छु भन्दै राहत वितरण गर्न जाने नाममा केही व्यक्ति गएर फकाएको स्मरण गर्दै उनले अब त्यस्ताको पछि नलाग्ने बताइन् ।
भूकम्पपछि यस्तैयस्तै प्रलोभन देखाएर गाउँ छिर्ने अपरिचित व्यक्तिबारे बताउँदै उनले भनिन् “अब उनीहरूको लहैलहैमा लागिँदैन ।”
चारजनाको परिवार रहेको उनको घरमा आमा भने रोजगारीको सिलसिलामा काठमाडौँ रहेको र बाबु मजदुरी गर्न जानुपर्ने भएकाले एउटा बहिनीको हेरचाहसँगै उनको काँधमा घर चलाउने जिम्मेवारीसमेत परेको बताइन् ।
“घर भत्केपछि हाम्रो परिवार त्रिपालमुनि बस्दै आएको थियो, अब यही जस्तापाताले अस्थायी छाप्रो बनाउँछौँ” जस्तापाता पाएपछि खुसी हुँदै भनिन् “यस्ता व्यक्तिको पछिलाग्दा गाउँका धेरै दिदीबहिनीको जीवन बर्बाद भएको मैले देखेको छु ।”
बर्खा कसरी काट्ने भन्ने चिन्ताले सताएका बेला माइती नेपालको परोपकारी कामले आफूहरू हर्षित भएको भन्दै स्थानीय सुनबहादुर तामाङले वर्षाभरि पानीमा रुझ्दै दिनहरू काट्नुपर्ला भन्ने चिन्ता हटेको बताए ।
कसरी ओत लाग्ने भन्ने पीडामा रहेका उनलाई माइती नेपालले प्रदान गरेको सातपाता जस्ताले वर्षा धानिएला भन्ने विश्वास पलाएको भए पनि गाउँका ठाउँठाउँमा फाटेका धाँजदेखि भने डर छ ।
सरकारी राहत केही मात्रामा आए पनि स्थायी बासस्थानको उचित व्यवस्था नहुँदा उनीहरू थप समस्यामा परेका थिए ।
माइती नेपालले भूकम्प प्रवाहित क्षेत्रमा खाद्यान्न, नुनतेल, लत्ताकपडा, झुल, त्रिपाल, टेन्ट, औषधि वितरणसँगै अस्थायीरुपमा भए पनि पुनःनिर्माणको काममा अग्रसर भएको निर्देशक खड्काले जानकारी दिए ।
उनका  अनुसार जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकालाई पुनःस्थापना गृहमा आवश्यक संरक्षण प्रदान गर्ने काम पनि माइती नेपालले गरिरहेको छ ।
माइती नेपालले राहत वितरण गरेका क्षेत्रमा दोलखाको जफे गाविस, नुवाकोटको सिन्चे, चिलाउने, बास्कोटे, अरकौले, ककनी, महादेवडाँडा, घ्याङ्फेदी, राउतबँेसी, सिन्धुपाल्चोककोे बरुवा, सिखरपुर, दुवाचौर, महाँकाल काठमाडाँैको थप्लेगाउँ, मसिनी, बाडभन्ज्याङ, बोसीगाउँ,, ललितपुरको भट्टेडाँडा, प्युटार, लाकुरीभन्ज्याङ, सिद्धीपुर क्षेत्र, काभ्रेको दाप्चा, छत्रेभन्ज्याङ डराउने पोखरी, पुरानो गाउँ, बसेरी गाउँ, बलथली र खोपासीलगायत छन् ।
भूकम्पबाट अनाथ बन्न पुगेका साथै हिंसाको जोखिममा रहेका २०० जना बालिकालाई संरक्षण दिनेसमेत योजना रहेको निर्देशक खड्काले बताए ।





प्रतिक्रिया दिनुहोस्...