करौडौं ठगी गरेको अभियोगमा पुष्पा दाहाल पक्राउ


काठमाडौं, जेठ २४ – घर आफ्नो नाममा पास गरिदिए पैसा दिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने बसन्त शर्माकी श्रीमती पुष्पा दाहाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अपराध महाशाखाबाट खटिएको विशेष टोलीले दाहाललाई आइतबार पक्राउ गरेको हो । चितवनको गर्दी गाविस वडा. नम्बर ६ घर भएका बसन्त शर्माले म्याग्दी जिल्ला घर भइ काठमाडौं बस्दै आएका मनोज कुमार श्रेष्ठसँग करोडौं रुपैयाँ ठगेका थिए । श्रेष्ठलाई केही रकम तत्काल आवश्यक परेको बेला बसन्त शर्माले घर आफ्नो नाममा राजीनामा पास गरिदिए बैंकबाट रकम निकालिदिने वाचा गरेका थिए । एक वर्षभित्र रकम फर्काइदिएपछि घर फिर्ता दिने सम्झौता समेत भएको थियो ।

सम्झौता अनुरुप १ करोड ५० लाख मुल्य पर्ने घरलाई धितो स्वरुप ६५ लाख शर्माले श्रेष्ठलाई दिएका थिए । तर, राजीनामा पास भएपछि शर्माले काठमाडौंको वडा नम्बर ३१ मा रहेको साढे चार तल्ले घरलाई बेचेर श्रीमतीसहित फरार भएका थिए । उनीहरुले उक्त घर १ करोड ८० लाखमा विक्रिी गरेका थिए । उनीहरुले काठमाडौं जिल्ला गोलढुङ्गा गा.वि.स.वडा नं.३ बस्ने राम प्रसाद अर्याललाई २० लाख एवं जिल्ला पाचँथर अमरपुर गा.वि.स.वडा नं.१ घर हुने केशर बहादुर अधिकारीलाई अर्काको नामको जग्गा आफ्नो हो भनि बैना गरी ५० लाख ठगीसमेत गरेका थिए । यस विषयमा उजुरी परेपछि सुनसरी जिल्ला बक्लौरी गा.वि.स.वडा नं.३ माईतिघर भएकी जिल्ला चितवन गर्दी गा.वि.स.वडा नं.६ घर भएकी पुष्पा दाहाललाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।




प्रतिक्रिया दिनुहोस्...