'भूकम्पले सगरमाथा दक्षिणपश्चिमतर्फ सर्यो'


फोटो :फाइल फोटो
बेइजिङ : अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्पले सगरमाथालाई तीन सेन्टिमिटर (एक इन्चभन्दा केही बढी) दक्षिणपश्चिमतर्फ सारेको एक चिनियाँ अध्ययनले देखाएको छ । 
 
सगरमाथा सरेपनि उचाइँमा परिवर्तन नभएको मङगलबार प्रकाशित एक चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 
विश्वको सबैभन्दा अग्लो हिमाल विस्तारै उत्तरपूर्वी दिशातर्फ अगाडि बढिरहेको अवस्थामा नेपालमा आएको ७.८ म्याग्निच्यूडको भूकम्पले सगरमाथा विपरीत दिशातर्फ सरेको चीनको सर्वेक्षण, नक्साङ्कन तथा भौगोलिक सूचनासम्बन्धी राष्ट्रिय प्रशासनले पत्ता लगाएको छ । सगरमाथा नेपाल र चीनको सीमामा अवस्थित छ । 
 
सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर अर्थात २९ हजार २९ फिटको छ । यस प्रकोपले सगरमाथाको उचाइमा परिवर्तन नगरेको चीनको सरकारी सञ्चारले प्रकाशन गरेको समाचारमा उक्त जनाइएको छ । 
 
प्रतिवेदनमा सगरमाथा गत दशकमा प्रति वर्ष चार सेन्टिमिटरका गतिले ४० सेन्टिमिटर उत्तरपूर्वतर्फ अगाडि बढेको जनाइएको छ । यस अवधिमा यसको उचाइ तीन सेन्टिमिटरले बढेको उल्लेख छ । 
 
नेपाल दुई बनावटीय प्लेटबीच प्रमुख समस्याग्रस्त रेखामा अवस्थित छ । यीमध्ये एक प्लेटमा युरोप तथा एसिया अवस्थित छ । यो प्रतिवर्ष दुई सेन्टिमिटरका दरले उत्तरतर्फ अगाडि बढिरहेको छ । यसै प्रक्रियाको आधारमा हिमालय सिर्जना भएका हुन् । 
 
कोलोराडो विश्वविद्यालयका भौगर्भिक विज्ञानका प्राध्यापक रोजर बिलहामले चिनियाँ अनुसन्धान प्रतिवेदनलाई समर्थन गरेका छन् । उनले यस क्षेत्रमा सगरमाथा उभिएको र यस चालमा सगरमाथा केही सेन्टिमिटर दक्षिणतर्फ तानिएको बताए । 
 
अप्रिल २५ मा गएको भूकम्पका र मे १२ मा गएको परकम्पका कारण आठ हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसका कारण पहिरो गएका छन् र करिब पाँच लाख घर नष्ट भएका छन् । हजारौँ मानिस घरवारबिहीन भएका छन् । 
 
वैज्ञानिकहरूले घना जनसङ्ख्या भएको र भूकम्पको केन्द्रबिन्दुबाट ८० किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित काठमाडौँ उपत्यका यस भूकम्पका समयमा करिब दुई मिटर सरेको बताएका छन् । सन् १९५४ मा भारतले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको निक्र्यौल गरिएको थियो । 
 
चीनले सगरमाथामाथि रहेको चार मिटरको हिउँको थुप्रो कम गरी मापन गरेको छ । सन् १९९९ मा एक अमेरिकी समूहले जीपीएस प्रविधि उपयोग गरी सगरमाथाको उचाइ आठ हजार ८५० मिटर भएको निक्र्यौल गरेको थियो । उक्त मापनलाई युएस नेसनल जियोग्राफिक सोसाइटीले उपयोग गरेको छ । 
 
तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्नुभन्दा करिब १०० वर्ष अगाडि सन् १८५६ मा सगरमाथा पहिलो पटक मापन गरिएको हो । 
 
सन् २०१० मा नेपाल तथा चीनबीच एक सहमति भई नेपालले सगरमाथाको उचाइ आठ हजार ८४८ मापन गर्ने र चीनले त्यसको हिमको थुप्रो हटाइ आठ हजार ८४४ मिटर मापन गर्ने गरेको एएफपीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 
 
अप्रिलमा गएको भूकम्पका कारण आएको हिमपहिरोबाट सगरमाथा आधार शिविरमा १८ व्यक्तिको मृत्यु भएको थियो भने त्यसका कारण गृष्ममा केही समयका लागि आरोहरण स्थगन गरिएको थियो । 
 
चिनियाँ अधिकारीहरूले सगरमाथाको उत्तरी भागबाट आरोहण गर्ने कार्य यस वर्षका लागि रोकेको छ । एजेन्सी






प्रतिक्रिया दिनुहोस्...