कतारमा रहेका नेपाली कामदार फ्रि भिसा र टिकटका विषयमा के भन्छन्


कतारको विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले मन्त्री गुरुङलाई आफूहरुले पूर्ण समर्थन गर्ने भन्दै लागू भएको व्यवस्थालाई खारेज नगर्न अनुरोध गरेका छन्।

विगतमा पनि चर्को दवावपछि राम्रा निर्णयहरु समेत फिर्ता भएको उदाहरण दिँदै उनीहरुले अहिले पनि म्यानपावरको दवावले निर्णयबाट मन्त्री पछि हट्न नहुनेमा उनीहरुको जोड छ।

त्यहाँका अधिकांश नेपालीहरुले आफूले म्यानपावर व्यवसायीहरुलाई मोटो रकम तिरेर गएको तर्क गर्दै तोकिएको तलव र सुविधा नपाएको गुनासो पनि गरेका छन्।

दोहाको अलजाबर जेटीसी कम्पनीमा कार्यरत दाङका बलबहादुर चौधरीले मन्त्री गुरुङले गरेको निर्णयको सह्राहना गर्दै पछि नहट्न आग्रह गरेका छन्। कतारबाट नेपालका लागि जाने सबैजसो भिसा निशुल्क हुने गरे पनि त्यहाँका म्यानपावर व्यवसायीहरुले गरिरहेको ठगीप्रति उनले चर्को आलोचना गरे।

त्यस्तै क्यू–कोन कम्पनीमा कार्यरत बागलुङका जीवन प्रतिक्षा पौडेलले कतारका सबै भिसा निशुल्क हुने गरे पनि नेपालका म्यानपावर कम्पनीहरुले चर्को रकम अशुलेको भन्दै यस्ता ठगी कम्पनीहरुलाई कडा कारबाहीको माग गरे।

कतारको क्यारिलेयन कम्पनीमा कार्यरत सूर्य निउरेले कम्पनीले आफूहरुलाई निशुल्क भिसा र अन्य खर्च समेत ब्यहोरेर झिकाएको भए पनि आफूले ६५ हजार रुपैयाँ खर्च गरेको बताए।
ठगी गर्न नपाएको झोंकमा म्यानपावरहरुले गरिरहेको आन्दोलनको उनले विरोध जनाए।

कतारको देदाज ईएस कम्पनीमा कार्यरत अर्का नेपाली वालकृष्ण रिजालले पनि मन्त्रीको निर्णय लाखौं गरीब नेपाली कामदारहरुको हितमा रहेको तर्क गर्दै निर्णयबाट पछि नहट्न आग्रह गरेका छन्।

अम्बाज क्याटरिङमा कार्यरत कृष्ण गौतमले आफू कार्यरत कम्पनीले सधै फ्यूचर इम्ल्योमेन्ट सर्भिस म्यानपावरलाई निशुल्क भिसाहरु पठाउने गरेको भए पनि त्यहाँबाट आउने सबै नेपालीलाई सो म्यानपावरले चर्को शुल्क लिँदै पठाउने गरेको बताए।

वोकुद पेट्रोल कम्पनी दोहामा कार्यरत अर्का नेपाली रामजी पन्त भन्छन् ‘मन्त्रीको यो कदम प्रशंसनीय छ, यहीं बेला हो मन्त्रीले आफ्नो नाम सुनौलो अक्षरमा लेखाउन सकुन्।’





प्रतिक्रिया दिनुहोस्...