मन मिल्ने सँग मात्र यौन सम्बन्ध राख्छु - भूमिका श्रेष्ठ, तेस्रो लिंगी


भूमिका श्रेष्ठ, तेस्रो लिंगी समूहको अधिकारका लागि क्रियाशील छन् । उनी आवद्ध संस्थामै झन्डै पाँचलाख जति चार क्याटोगोरीका समूह सम्पर्कमा छन् । समाजले छिःछिः र दूरःदूरः गरेको अवस्थामा उनीहरुका लागि लड्नु चुनौती नै थियो । पछिल्लो समय कानुनले पनि केही राहत दिएको छ । नीलहीरा समाजमा आवद्ध भूमिका श्रेष्ठको परिचय कुनै बेला कैलाश श्रेष्ठ थियो । उनी नयाँ नैकाप काठमाडौँकी बासिन्दा हुन् । उनीसँग वर्षा शाहले गरेको कुराकानीः
आजभोजि केमा व्यस्त हुनुहुन्छ ?
तपाईलाई थाहा नै छ । हामीलाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ । समाज यतिकै बदलिँदैन ।  हामीले पनि आफ्नो हकअधिकारका लागि आवाज उठाउनु पर्छ । त्यसकारण आजभोलि  हकअधिकार हामीले पाउनु पर्छ भन्दै यताउति हिँड्दैमा दिन बितिरहेको छ ।
कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ हुँदा कति गाह्रो भयो ?
बायोलोजिकल्ली म छोरा भएर जन्मेँ । परिवारले त्यहीअनुसारको नामका रुपमा मेरो नाम कैलाश राखे । तर उमेर बढ्दै गएपछि मेरो व्यवहारमा परिवर्तन आयो । गाह्रो त भयो । परिवार भन्दा पनि समाजबाट गाह्रो भयो । म जब नीलहीरा समाजमा आबद्ध भएँ । अनि  भूमिका भएँ । अहिले जुन अवस्थामा मलाई तपाईंले देख्नु भएको छ । के मलाई कैलाश भन्न सुहाउँछ त ?
तपाईंलाई कहिलेकाहिँ म किन यस्तो भएको होला भनेर दुःख लाग्दैन ?
जतिबेला मैले आफूलाई बुझेको थिइनँ । त्यतिबेला किन यस्तो भएको होला जस्तो लाग्थ्यो । तर जब आफूलाई बुझेँ, अहँ मलाई त्यस्तो लाग्दैन । म त आफनो जीवनसँग खुशी छु । आफनो इच्छाचाहना जे छ, त्यहीअनुसार बाँच्नु पर्छ मान्छे । मैले इच्छाअनुसार बाँचेको छु । दुःख लाग्ने कुरै भएन ।
हिजोको दिन र आजको दिनमा के परिवर्तन भएको छ जस्तो लाग्छ तपाईंलाई ?
हिजो जुनबेला म खुलेर समाजमा आउँदा चुनौती धेरै थियो । मान्छेले हेर्ने, मान्छेले गर्ने व्यवहार, समाजले गर्ने व्यवहार थियो । अहिले केही हदसम्म सम्मान गर्छन् ।
अहिलेसम्म नीलहीरा समाजको सम्पर्कमा कति हुनुहुन्छ ?
तेस्रोलिंगी, समलिंगी, दुईलिंगी र अन्तरलिंगी गरेर नीलहीरा समाजमा अहिल पाँच लाख जति सम्पर्कमामा हुनुहुन्छ ।
तपाईंले धेरै अन्तरवार्तामा प्रेममा धोका पाएको भन्नु भएको छ । यो विषयमा केही भन्नुहुन्छ ?
जतिबेला म कैलाश थिएँ । त्योबेला पनि मैले कुनै केटालाई नै एकतर्फी माया गर्थेँ । तर त्यो मेरोमात्र माया थियो । भूमिका भएपछि पनि मलाई तीनचारपटक चोखो मायामा परेँ । तपाईंले धोका पाएको भन्नु भयो । तर वास्तवमा धोका मैले दिएको हुँ । माया पनि गर्छु भनेँ तर अर्को केटीलाई बिहे गर्छु भने मलाई नि राख्छु भनेर भन्नेलाई दिएँ मैले धोका । त्यस कारण मलाई विवाहप्रति विश्वाश छैन । माया त सबैलाई चाहिन्छ । मलाई आजभोलि त्यो किसिमको माया भन्दा पनि मेरो समाजले मलाई गर्ने माया, परिवारले गर्ने माया अनि तपाईंले गर्ने माया नै सबै हो जस्तो लाग्छ ।
भनेपछि तपाईंको विवाह गर्ने कुनै योजना छैन ?
मैले भनेँ नि विवाहमा विश्वाश लाग्दैन । त्यसकारण मेरो विवाह सम्भव छैन । तर कसैसँग मन मिल्यो भने लिभिङ टुगेदरमा बस्नचाहिँ सक्छु ।
रत्नपर्क, ठमेलतिर तपाईंहरुको समाजको व्यक्तिले छाडा व्यवहार गर्छन् भनिन्छ नि ?
हेर्नुस्, तपाईंले भनेका ठाउँमा हाम्रो समाजका मात्र साथी हुँदैनन् । त्यहा यौन व्यवसाय गर्ने महिला, पुरुष सबै हुन्छन् । तर हामीलाई भने  उनीहरु फरक तरिकाले भन्छन् र व्यवहार गर्छन् । यही हो हाम्रो समाजले हामी र महिला, पुरुषप्रति गरेको भेदभाव, त्यसकारण त हामी हाम्रो पहिचानका लागि लडिरहेका छौँ ।
तपाईंको नजरमा यौन  के हो ?
यो एउटा बायोलोजिकल निड हो । जुन सबलाई चाहिन्छ ।
तपाईंलाई यौन  चाहिँदा चैँ के गर्नु हुन्छ ?
हेर्नुस्, हामीहरुको धेरै कुरा त भनेको फिलिङ्स हो । जोसँग मन मिल्छ, कुरा मिल्छ । म पनि त्यस्तो मन मिल्ने पार्टनरसँग यौन (रसबस )गर्छु । तर रसबस गर्ने भन्दैमा जो पायो त्योसँग भने गर्दिेनँ ।
जीवन केहो जस्तो लाग्छ ?
हामी त यो समाजको एक्स्ट्रा मान्छे हौँ । जो अरुले चाहेर पनि हाम्रो जस्तो जीवन  बिताउन पाउनु हुन्न । त्यसैले  हामीजस्ता साथीलाई खुलेर आउन भन्छु । @ नेप्लिज डट ओआरजी






प्रतिक्रिया दिनुहोस्...