अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमण


फोटो :अन्नपूर्ण कार्यालय रहेको भवनको अगाडितर्फको सिसा फुटाएका भाग। तस्बिर: दिनेशविक्रम शाह
आक्रमणको पत्रकार महासंघ र प्रेस युनियनबाट छानबिन र दोषीमाथि कारबाहीको माग
काठमाडौं : राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्को तीनकुनेस्थित कार्यालय कर्पोरेट टावरमा आक्रमण भएको छ। बुधबार राति एक समूहले अन्नपूर्ण कार्यालय रहेको भवनको अगाडितर्फको सिसा फुटाएका छन् ।
सुरक्षागार्डका अनुसार करिब साढे नौ बजे चारपाँच जनाको समूहमा आएका उनीहरुले एक्कासी ढुंगा प्रहार गरेर भागेका थिए। प्रहरीले घटनास्थलको निरीक्षण गरेर क्षतिको विवरणसहित मुचुल्का तयार गरेको छ।
तीनकुनेस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख दानबहादुर कार्कीले घटनाबारे प्रारम्भिक जानकारी लिने काम भएको र आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताए। आक्रमणबाट भवनको अगाडितर्फको भागमा ठूलो प्वाल परेको छ। शिसाका टुक्राहरु कार्यालयभित्र छरिएका थिए। 

अाक्रमणबाट फुटेका शीसाका टुक्राहरु अन्नपूर्ण कार्यलयभित्र
रातको समयमा बजार विभागमा कर्मचारी कोही नभएकोले कसैलाई केही नभएको कार्यालयले जनाएको छ। थप आक्रमणको धम्की दिइएकोले अन्नपूर्ण कार्यालयमा सुरक्षाका लागि प्रहरी खटिएको छ। नेपाल पत्रकार महासंघ अन्‍नपूर्ण शाखाले घट्‌नाको निन्दा गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। घटनास्थलको निरीक्षण गरेर क्षति विवरणसहित मुचुल्का तयार गर्दै प्रहरी टोली 
यस्तै अन्‍नपूर्ण पोस्ट् दैनिकमा भएको आक्रमणको नेपाल प्रेस युनियनले विज्ञप्‍ति निकालेर विरोध जनाएको छ। विज्ञप्‍तिमा युनियनका महासचिव अजयबाबु शिवाकोटीले सञ्‍चार संस्थामाथिको भएको आक्रमण मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र सञ्चारसंस्थाहरुलाई स्वतन्त्रतापूर्वक पत्रकारीता गर्न अवरोध पुर्‍याउने नियतले  गरिएको उल्लेख छ। 
 आक्रमणको भर्त्‍सना गर्दै युनियनले उक्त कार्यको भण्डाफोर गर्न अन्‍नपूर्ण पोष्ट दैनिक लगायतका सबै सञ्‍चार संस्थाहरुलाई युनियनआग्रह समेत गरेको छ। घटनाको विरोध गर्दै युनियनले सरकार र सुरक्षा निकायहरुलाई आक्रमणको दोषीहरुलाई पहिचान गरी कार्बाहीको माग गरेको छ।






प्रतिक्रिया दिनुहोस्...