नक्‍कली प्रहरी बनेर ठग्‍ने जेलमा


फोटो :नक्‍कली असई बिजेन्द्र देव चौधरी।
राजविराज: 'म अनुसन्धानको असई' खाइलाग्दो ज्यान भएका एकजनाले डिएसपीलाई स्यालुट ठोक्दै निर्धक्कताका साथ भने, 'म राष्ट्रिय अनुसन्धानको असई, उदयपुरमा पोस्टिङ छ र अहिले विदामा घर आएको हुँ।'
 
पक्राउ परी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएका सप्तरीको विषहरिया ९ र बाराको प्रसौना २ घर बताउने ३० वर्षीय बिजेन्द्रदेव चौधरीले यस्तो दाबी लिएपछि डिएसपी नारायणप्रसाद चिमरियासमेत अलमलमा परें। असई भनी ठगी हिंडने चौधरीले एकक्षण डिएसपीलाई पनि झुक्याउन खोजे। 
 
डिएसपी चिमरियाले उदयपुर, सप्तरी लगायतका राष्ट्रिय अनुसन्धान कार्यालयमा सम्पर्क गरिरहदा समेत उनी भन्दै थिए' सोध्नुस् न म असई नै हो। झुठ्ठा आरोपमा मलाई यहाँ ल्याउनु भएछ।' उता राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सप्तरीका अनुसन्धान उपनिर्देशक ठाकुरचन्द्र केसीले पक्राउ परेका चौधरी अनुसन्धानको असई नभएको बताए।

नक्‍कली असई बनेका बिजेन्द्र देव चौधरी अनुसन्धान शाखामा। तस्बिर: मनोहर
आफूलाई अनुसन्धानको असई बताउने ती व्यक्तिले विराटनगर १४ स्थित लाइभ एण्ड लजका सञ्चालक दिपक श्रेष्ठको को.१२ प १०९१ नम्बरको होण्डा मोटरसाइकल मागेर जेठ अन्त्यतिर बेपत्ता भएका थिए। बेला-बेलामा लजमा बास बस्न आउने उनले राष्ट्रिय अनुसन्धान विभागको असई रहेको नक्कली परिचय पत्र देखाई श्रेष्ठलाई विश्वासमा पारेका थिए। 
 
श्रेष्ठका अनुसार एकै क्षणका लागि भनेर मोटरसाइकल मागेर गएका चौधरी फर्केर आएनन्। मोटरसाइकलसहित बेपत्ता भएका चौधरीले मोटरसाइकलको सो नम्बर हटाई कहिले बा.१ ब ४४०३ र कहिले बा.१ ब १४९२ नम्बरको सरकारी सेतो प्लेट लगाएर चढने गरेका थिए। 
 
यसरी सेतो प्लेटको मोटरसाइकलमा चढेर हिंडदा उनलाई दुईवटा फाइदा थियो। ट्राफिक प्रहरीको चेकजाँचको झन्झटबाट जोगिने र तल्लो दर्जाका प्रहरीबाट स्यालुट पाइने।
 
गत असार २० गते काठमाडौंबाट बसमा विराटनगर फर्कदै गरेका लज सञ्चालक श्रेष्ठले तिनै नक्कली असईलाई पूर्व-पश्चिम लोकमार्गस्थित सप्तरीको शम्भुनाथस्थित कठौना सडकमा मोटरसाइकलसहित देखे। उनले प्रहरीको सहयोगमा मोटरसाइकलसहित चौधरीलाई पक्राउ गराए।
 
प्रहरी अनुसन्धानबाट नक्‍कली प्रहरीको यो घटनाको खुलासा भएपछि उनले राष्ट्रिय अनुसन्धान विभागको असई भन्दै प्रहरी र स्थानीय व्यापारीलाई समेत ठगी गरेको उजुरीहरु पर्न थाले। चौधरीले असई भन्दै सप्तरीको हरीहरपुर-३ की सुलेखा यादव, वडा नं. ४ की राजकुमारी चौधरी, सावित्रीदेवी खंग, राजकुमारी खंग, फर्सेठ ७ मा पसल गर्ने विन्देश्वरप्रसाद यादव, राजविराज ३ का व्यापारी प्रवेज आलम, मधवापुर ४ का पंकजकुमार झा, रामनगर ९ का रंजितकुमार झा, इनरुवा ८ का जाकिर हुसेन, गणेश ट्रेड एण्ड सप्लायर्स राजविराजबाट ठगी गरेर वेपत्ता भएको पीडितहरुले उजुरी दिए।

सेतो रंगको सरकारी नम्बर प्लेट लगाई चौधरी चढने गरेको मोटरसाइकल।तस्विर: मनोहरकुमार 
चौधरीले मोटरसाइकल र विभिन्‍न व्यक्तिहरुबाट ८३ हजार आठ सय ५० रुपैयाँ भन्दा बढी ठगि गरेको उजुरी आइसकेको प्रहरीको भनाई छ। उनका विरुद्ध जिल्ला प्रहरी कार्यालयले ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान गरेपछि ठगीको रहस्य खुलेको हो।  नक्‍कली असईको साथबाट परिचय पत्रसहित उनको कोठा खानतलाशी गर्दा राष्ट्रिय अनुसन्धानको प्रहरी र भारतीय एसएसबीको कम्ब्‍याड ड्रेस, प्रहरीको बुट र पेटी बरामद भयो।आफूलाई राष्ट्रिय अनुसन्धान विभागको असई भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्दै हिंड्ने उनी अहिले सक्कली कारागारमा कारागारमा परेका छन्। जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले साउन १५ गते मात्र उनी पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका छन्।





प्रतिक्रिया दिनुहोस्...