उपेन्द्र, अमरेश र राजेन्द्रलाई कारबाही माग


फोटो :फाइल फोटो
माफी नमागेसम्म सुदूरपश्चिममा बहिष्कार गर्ने
काठमाडौं : केही मधेसवादी नेताहरुले कैलालीमा पुगेर दिएको विखण्डनकारी अभिव्यक्तिको सुदूरपश्चिमका तीन संगठनले कडा विरोध गरेका छन् ।

राष्ट्रिय सरोकार मञ्च नेपाल, सुदूरपश्चिम पत्रकार समाज र सुन्दर सुदूरपश्चिम बिकास अभियानले शनिबार संयुक्त विज्ञप्ती निकालेर मधेसी नेताहरु उपेन्द्र यादव, अमरेश सिंह र राजेन्द्र महतोमाथि कारबाही माग गरेका हुन् ।
‘देशले नयाँ संविधान पाउने क्रममा सिमाकंन, संघीयता र धर्मको टुंगोमा पुर्याउँदै गर्दा मधेसमुलका केही नेताहरुले कैलालीमा त्यहाँका थारु र पहाडी बासिन्दाबीच द्वन्द्व गराउने गरी दिएका अभिब्यक्तिको भ्रत्सना गर्दछौं’, विज्ञप्तीमा भनिएको छ, ‘थारुहरुको सभामा कथित मधेशी नेता उपेन्द्र यादव, अमरेश कुमार सिंह र राजेन्द्र महतोले थारु र अन्य सम्पूर्ण सुदूरपश्चिमेलीको एकतामा खलल पुग्ने गरी अभिव्यक्ति दिएकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’

मञ्चका अध्यक्ष सोमबिक्रम सिंह, समाजका महासचिव खगेन्द्र भण्डारी र विकास अभियानका महासचिव किशोर खड्काले विज्ञप्ति निकालेर यस्ता बिखण्डनकारीलाई बहिष्कार गरी सामाजिक सजाय दिन पनि आमजनतासँग आग्रह गरेका छन् ।

ती मधेसी नेताहरुले सुदुरपश्चिममा जातीय, सामाजिक र सांस्कृतिक सद्भाव खल्बल्याउने गरी दिएको अभिब्यक्तिबारे त्यसक्षेत्रका जनतासँग माफी माग्न पनि उनीहरुले माग गरेका छन् ।

‘उनीहरुले सुदूरपश्चिममै गएर माफी नमागुञ्जेल सुदूरपश्चिमका जनताले बहिष्कार गर्नेछन्’, विज्ञप्तीमा भनिएको छ, ‘बिखण्डनकारी, जातीय द्वन्द्व सृजना गराउने दलालकारुपमा लिएर सुदूरपश्चिममा प्रवेश गर्न दिइने छैन ।’






प्रतिक्रिया दिनुहोस्...