सभासद्को घर तोडफोड गर्न खोज्दा नवलपरासीमा गोली चल्यो दाउन्ने पूर्वको नवलपुर क्षेत्रलाई छुट्टैं जिल्ला बनाउन माग
दिपक भट्टराई नवलपरासी, साउन ३० – नवलपरासी क्षेत्र नम्बर ४ का सभासद् वैजनाथ चौधरीको घर तोडफोड गर्न पुगेपछि गोली चलेको छ । आन्दोलनकारीले घटनामा रबरको गोली चलेको बताए पनि प्रहरीले भने हवाई फायर गरेको बताएको छ । तिलकपुरको मगरमुढास्थित सभासद् चौघरीको घर तोडफोड गर्न गएका आन्दोलनकारीलाई रोक्न प्रहरीले शुरुमा अश्रु ग्याँस प्रहार गरेको थियो । भीड नियन्त्रण नभएपछि थप बल प्रयोग गर्ने क्रममा अश्रु ग्याँस र रबरको गोली प्रहार भएको बताइएको छ । घटनामा एक जना घाइते भएका छन् । घाइते भएका कमल चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अहिले सभासद् चौधरीको घरलाई सुरक्षा दिइरहेको छ । दाउन्ने पूर्वको नवलपुर क्षेत्रलाई छुट्टैं जिल्ला बनाउन माग यसैबीच, नवलपरासीको नवलपुर क्षेत्रमा क्रियाशिल तिनवटा उद्योग वाणिज्य संघले दाउन्ने पुर्वको नवलपुर क्षेत्रलाई छुट्टैं जिल्ला घोषणा गर्न माग गरेका छन् । उनिहरुले नवलपुरबासीले सदरमुकाम परासी हुदा बिगत चार दशक भन्दा बढी समयदेखि सास्ती भोगिरहेको भन्दैं संघियतामा जादा नवलपुर छुट्टैं जिल्ला बनाउन माग गरेका हुन् । चार दलको सहमतीमा नवलपुर क्षेत्र प्रदेश ४ मा परेको भन्दैं दिप प्रज्वलन गर्दे खुशीयाली व्यक्त गरेका उनिहरुले नवलपुरबासीले यो कुरालाई सहर्ष स्विकार गरेकाले अखण्ड जिल्लाको नाममा थप षड्यन्त्र नगर्न चेतावनी दिए । तीनवटैं उद्योग वाणिज्य संघले आज जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उनिहरुले प्रदेश ४ मा समेटिएका नवलपरासीका क्षेत्रहरुलाई यो या त्यो बहानामा परासी खण्डमा मिलाउने षड्यन्त्र भए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिज्ञप्तिमा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश पौंडेल , देबचुली उद्योग वाणिज्य संघका अध्यक्ष धर्मराज बस्याल र गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन ले हस्ताक्षर गरेका छन् । उनिहरुले नवलपुर जिल्लाको सदरमुकाम कावासोती कायम गर्न समेत माग गरेका छन् । नवलपुर क्षेत्रमा २७ गाविस र तिन नगरपालिका पर्दछन् ।

