हिन्दू राष्ट्र नेपालको पक्षमा प्रवासबाट चर्को आवाज


काठमाडौं। हिन्दू राष्ट्र संबन्धी अगष्ट ७, २०१५ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललाई हिन्दू राष्ट्र नै कायम गरिनु पर्ने चर्को स्वर उठेको छ । करिव ७६५ जनाले भाग लिएको उक्त सम्मेलनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, स्पेन, ईण्डोनेसिया, पोर्टुगल, वेल्जिएम, जर्मन, बेलायत, साउथ अफ्रिका, नाईजेरिया, पाकिस्तान, दक्षिण कोरिया, मध्यपूर्वका केहि र अन्य राष्ट्रबाट नेपालीहरु सम्मिलित थिए । भिडियो, स्काईप, टेलिफोन जस्ता अत्याधुनिक संचारका माध्यमको प्रयोगबाट गरिएको उक्त सम्मेलनमा नेपाल सरकारको पूर्व सचिव दिवाकर पन्त, प्राध्यापक डा. खगेन्द्र थापा, डा. कमल पाण्डे, डा. तिलक श्रेष्ठ, विज्ञ दिनेश भट्टराई र एन आर एन यु एस ए का बोर्ड डाइरेक्टर विनोद तिवारीले हिन्दू राष्ट्र नेपालको समर्थनमा आ-आफ्नो विचार राखेका थिए । जापान निवासी राणा कुमार, स्पेन निवासी सुवाश विष्ट, अष्ट्रेलियाबाट दीपक विष्ट, वेल्जिएमका कलेन्द्र शाही, वेलायत र पोर्टुगलका बिभिन्न संगठनका व्यक्तिहरुले हिन्दू राष्ट्र नेपालको निमित्त पूर्ण समर्थन रहेको जनाएका छन् । पूर्व सचिव दिवाकर पन्तले नेपाल कहिल्यै पनि धर्म-निरपेक्ष राष्ट्र थिएन, नेपालको अस्तित्व समाप्त पार्न खोजिएको छ, हिन्दू धर्म भनेको जीवन पद्दति हो, हाम्रा नेताहरु विदेशीको भरिया बनेका छन् भन्ने कुराहरु व्यक्त गरेका थिए । लोकतन्त्र मात्र जपेर हिंड्ने अनि बहुमतको भावनाको कदर नगर्ने संविधान मान्नु पर्ने जरुरत छैन समेत भन्न पूर्व सचिव पन्त पछि परेनन् । उनले भने हिन्दू राष्ट्र हाम्रो पहिचान भएकोले यी दुबैको संविधानमा वन्दोवस्त गरिनु पर्दछ । प्राध्यापक डा. खगेन्द्र थापाले २०१९ साल भन्दा पहिले नेपाल हिन्दू राष्ट्र हो भनेर लेख्न जरुरत नै थिएन, यो स्वत्त हिन्दू राष्ट्र थियो । हिन्दू राष्ट्र्को पहिचानमा आँच आउन थालेकोले अब संविधानमा त्यो स्पष्ट रुपमा लेखिनु पर्छ, जनताको मागलाई पन्छाईयो भने नेताहरु भाग्न पर्ने स्थिति आउन सक्छ भन्दै हिन्दू धर्मको माध्यमबाट देशको आर्थिक विकासमा समेत टेवा पुर्याउन सक्ने जानकारी गराए । हिन्दू राष्ट्र नेपालले विश्वमा छुट्टै पहिचान दिन सक्छ, त्यसैले नेपाल हिन्दू राष्ट्र भन्दा एक इन्च फरक हुन नहुने प्राध्यापक डा. थापाको जिकिर थियो । आफ्नो विचार राख्ने क्रममा डा. तिलक श्रेष्ठले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने भनेको धर्मग्रन्थको आधारमा शासन गर्ने भनेको होईन भन्ने कुरा स्पष्ट पार्न खोजे । हिन्दू धर्ममा अरु पन्थहरुमा र कम्युनिष्टहरुको जस्तो जवर्जस्ती व्यक्तिको संवेदनशिलतसँग खेलेर आफ्नो पक्षमा पार्ने निएत हुँदैन । यसले सत्यको मार्गमा चल्न प्रेरित गर्दछ, नभएको जात-जातीको कुरा गरेर हिन्दू धर्मलाई खराब देखाएर अरुहरुले आफ्नो अभिष्ट पुरा गरेको कुरामा समेत डा. तिलक श्रेष्ठले सचेत गराएका थिए । हिन्दू राष्ट्र नेपाल भनेको हाम्रो परम्परा हो र आफ्नो परम्परा सबैले बचाउनु पर्दछ भन्ने जोड्दार आवाज डा. तिलकले उठाए । डा. कमल पाण्डेले हिन्दू धर्मको जननी नै नेपाल हो भन्ने कुरा राखे । हिन्दू संघ-संस्थाहरुले आपत-विपतमा सहयोग गर्दैनन् भन्ने आरोपलाई इन्कार गर्दै हिन्दू संघ-संस्थालाई अरुलाई जस्तो आफ्नो धर्ममा ल्याउन केहि राष्ट्रका सरकारले जस्तो ठूलो रकम कसैले दिदैन । मन्दिर, देवालय वा हिन्दू संघ-संस्थाले आफु कृयाशिल हुन समेत दान- दक्षिणामा भर गर्नु पर्छ, धर्म-भिरुहरुको दयामा बाँच्नु पर्छ । यस्तोमा पनि हाम्रो धर्म बाँचेको छ, यही हो श्रद्दा भनेको, श्रद्दा बलियो हुने भएकोले नै हामीहरु माथी विभाजन र शासनको खेल रचिएको भन्दै डा. कमल पाण्डेले होशियारी गराएका थिए । आफ्नो धारणा राख्ने क्रममा विज्ञ दिनेश भट्टराईले भने विभिन्न मन्दिर, देवालयहरुमा बाहुन जातका मात्र पुजारी नभएर मनकामनामा मगर जातका, बुढासुब्बा महादेवमा लिम्बु जातका पुजारी, काठ्माडौंका धेरै जसो मन्दिरमा नेवार जातका पुजारीहरु छन् । हाम्रो धर्म सहिष्णुतामा चलेको छ । त्यसैले माओवादीलाई लगाएर विखण्डनकारी कुरा घुसाईएको भन्दै उनले अहिले हिन्दू राष्ट्र नेपाल राखिएन भने भोली हिन्दू राजतन्त्र समेत स्थापना हुन्छ भनेर ठोकुवा समेत गरे । २ प्रतिशत इशाईको चाहनले मात्र धर्म-निरपेक्ष राष्ट्र हुन नसक्ने आफ्नो अडान विज्ञ भट्टराईले वारवार दोहोराए । त्यस्तै किसिमले एन आर एन यु एस ए का बोर्ड डाइरेक्टर विनोद तिवारीले हिन्दू धर्म बेगरको संविधान आउनै हुन्न भन्ने आफ्नो धाराणा राखे । तिवारीले हिन्दू राष्ट्र नेपाल स्थापनाको निमित्त विदेशबाट हामीहरु सबैले सहयोग गर्नु पर्छ, प्रवासी नेपालीहरुले हिन्दू धर्म हाम्रो पहिचान भएकोले यसलाई स्थापना गराउन आर्थिक सहयोग गर्न समेत पछि पर्न नहुने भने । नेपालको विकासलाई संमाल्न नसक्नेहरुले देशलाई हिन्दू धर्मबाट पन्छाउन सक्दैनन्, त्यसो गर्ने प्रयास गरे प्रतिकार गर्नु पर्ने धारणा प्रस्तुत गरे । न्यु योर्कबाट अन्तर्राष्ट्रिय राजनीतिका विज्ञ विशाल शाहले संचालन गरेको उक्त कार्यक्रममा बेलाबखत भाँजो हाल्ने प्रयास समेत भएको थियो । समग्रमा वक्ताहरुले विभिन्न राष्ट्र्मा रहेका श्रोताहरुको उत्तर दिने क्रममा नेपाल हिन्दू राष्ट्र नै हुनु पर्ने कुरा तर्क सहित प्रस्तुत भए । वक्ताहरुले नेपाली जनताको चाहना पनि त्यही हो, जन-चाहना विपरित कोही गयो भने संविधान नमान्ने कुरा मात्र होईन देशमा हुने दुर्घटनाको जिम्मा लिन दलाली गर्ने नेताहरुले तयार हुनु पर्ने सचेत गराएका थिए ।





प्रतिक्रिया दिनुहोस्...