अपडेटः
नवलपरासी, श्रावण ३० । नवलपरासीमा विभिन्न माग राखेर गरिएको आन्दोलनको क्रममा शनिबार झडप भएको छ ।
नवलपरासीमा स्थानीयबासिन्दा, थारु समुदाय र मधेस केन्द्रित दलहरुले छुट्टा–छुट्टै माग राखेर आन्दोलन गरिरहेका छन् । जिल्लामा थरुहट राज्यको माग गर्दै थारु समुदाय, ६ प्रदेशको विरोधमा मधेश केन्द्रित दल र अखन्ड नवलपरासीकोमाग गर्दै स्थानीयहरु विरोध प्रदर्शमा उत्रिएका हुन् ।
आन्दोलनकारीले शनिबार नवलपरासी क्षेत्र नम्बर–४ का सभासद बैजनाथ चौधरीको घरमा आक्रमणको प्रयास गरेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । त्यसक्रममा एकजना घाइते भएका छन् ।
तिलकपुरस्थित मगरमुढामा रहेको सभासद चौधरीको घर आक्रमण गर्न गएका आन्दोलनकारीमाथि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउनेक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
नवलपरासीका ठाउँ–ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । केही आन्दोलनकारीहरुले बासाबसही, बेलाटारी र महेशपुरमा रहेका प्रहरीचौकी घेराउ गरेका छन् । सदरमुकाम परासीमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
स्थानीयवासी, थारु समुदाय र मधेश केन्द्रित दलहरुको छुट्टाछुट्टै बन्दका कारण नवलपरासीको जनजीवन एक सातादेखि प्रभावित वनेको छ ।
नवलपरासीमा किन चल्यो गोली ?, एक घाइते, ठाउँठाउँमा झडप

