सुर्खेत आन्दोलनमा ज्यान गुमाउने बिसी पत्नीको माग, ‘मेरो श्रीमानलाई गोली हान्न आदेश दिनलाई कारवाही गर’
सुर्खेत, साउन ३० – सुर्खेतमा संचालित आन्दोलनका क्रममा साउन २४ गते गोली लागी मृत्यु भएका आफन्तका परिवारजनले आज पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले अखण्ड मध्यपश्चिमका राजधानी सुर्खेत हुनुपर्ने, डिआइजी केशव अधिकारी, सिडिओ बलदेव गौतम र सुर्खेतका प्रहरी प्रमुख राजेश कुमार लालकर्णलाई कारबाही हुनुपर्ने माग गरेका छन् । मृतकलाई शहीद घोषणा र घाइतेको उपचार पनि प्रमुख मागकै सुचिमा रहेका छन् । यी मागहरु प्ुरा भएपछि मात्र लास उठाउने उनीहरुले बताएका छन् । उक्त पत्रकार सम्मेलनमा मृतक याम बहादुर बिसीकी गर्भवती श्रीमतीले आफ्नो श्रीमानका हत्याको आदेश दिने प्रहरी अधिकारी र हत्या गर्नेलाई कारबाही नभए सम्म आफूले लास नबुझ्ने बताइन । मृतक गोपाल रजवार र अर्का मृतक टिकाराम गौतमका छोराहरुले पनि आफ्ना बाबुहरुको रगत त्यसै खेर जान दिन नहुने बताएका थिए । यसैबीच स्वस्फूर्त रुपमा उठेको आन्दोलन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीको नियन्त्रणमा आए पनि सुर्खेतलाई राजधानी बनाउने गरी मध्यपश्चिममा अलग राज्य घोषणाा नगरिएसम्म आन्दोलन रोकिने स्थिति छैन । पछिल्लो समय दलहरु अखण्ड मध्यपपश्चिमको नारा छोडेर भेरी कर्णालीमा अर्को प्रान्तीय राज्य बनाउने र त्यसको राजधानी सुर्खेत तोक्नु पर्ने मागमा एकमत भएका छन् । दलहरु केन्द्रको दवावमा झुकेर आन्दोलनलाई बीचमै तुहाउने हुन् कि भन्ने आशंका स्थानीय बासिन्दाहरुमा रहिरहेको छ ।

