कुमार घैंटेले सुरुमा आक्रमण गरेकै हुन् त ? थाह पाईराखौ


काठमाडौं: प्रहरी 'इन्काउन्टर'मा मारिएका गुन्डाका नाइके कुमार श्रेष्ठ 'घैंटे' को कपुरधारास्थित घरमा शुक्रबार छिमेकी र उनका सहयोगीको घुइँचो लागेको थियो। घरनजिकैका मुख्य सडकका सटर बन्द थिए।

भुइँका रगतका टाटामा झिँगा भन्किएका थिए। 'रगत अझै बाँकी रहेछ, साँच्चिकै भिडन्त भएको हो कि मारिएको हो', भन्ने जिज्ञासा गर्दै थिए केही सर्वसाधरण। कोही प्रहरीले योजनाबद्ध ढंगले मारेको हो भन्दै थिए भने कोही अन्योलमै थिए घरको कम्पाउन्डमा प्लास्टिकका कुर्सी फिँजारिएका थिए । घैंटेले पत्नी छाडिसके पनि छोरीलाई आफूसँंगै राख्दै आएका थिए। घैंटेका दुई दिदीबहिनी चितवनबाट बिहीबारै काठमाडौं आएका थिए। (प्रहरी ‘इन्काउन्टर’ मा कुमार घैंटे मारिए)


गेट बन्द गर्ने र खुल्ने क्रम जारी थियो। शरीरमा टाटु खोपेका केही युवा जमात आएर भन्दै थिए, ‘प्रहरीले चाह्यो भने जसलाई पनि मार्नसक्ने रहेछ। कुमार दाइ सुध्रिने प्रयासमा थिए।


भूकम्पमा यत्रो सहयोग गरेका थिए।' एक महिला भन्दै थिइन्, ‘खाना दुई गाँसमात्रै मुखमा हालेको थिएँ, ड्याङयाङ....ड्याङ आवाज आयो। कुकुर पनि बेसरी भुक्न थाल्यो के भयो भनेर आत्तिएर बाहिर हेरेको केही केटाहरू पेस्तोल लिएर हानहान भन्दै थिए, मलाई झ्याल लगा भनेर चिच्याए, म अक्क न बक्क भएँ, पछि घैंटे भाइ मारियो भनेपछि छाँगोबाट खसेजस्तो भयो।'

कोही घैंटेको शव घरै ल्याउने हो कि होइन भन्दै थिए। घरमा शव ल्याएर नगर परिक्रमा गर्ने तर्क पनि सुनिन्थ्यो। घर नजिकै चनाचटपटे र पानीपुरी बेच्ने महिला बरबराउँदै थिइन्। 'मान्छे मार्न कति सजिलो, पानीपुरी ठेलामा राख्दै थिएँ। टायर पड्केजस्तो आवाज आयो, पछि त गोली हानेर घैंटे मारियो भनेको सुनें।'

प्रहरीको गोली लागेर घाइते भएका सुरेन महर्जन र राज महर्जनको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। उनीहरूको अवस्था बुझ्न अस्पताल पुग्दा आफन्तले केही बोल्न मानेनन्। ‘जे हुन भइसक्यो अब बोलेर के हुन्छ र?' कुरुवा बसेकी एक महिलाले भनिन् । घैंटेको शव आफन्तले बुझेका छैनन्। ( यी हुन् गुण्डा नाइके कुमार घैंटे )

शुक्रबार व्यवस्थापिका संसद्मा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरीमाथि आक्रमण गरेपछि घैंटे मारिएको दाबी गरे। अपराध महाशाखाबाट खटिएको टोलीले फरार अपराधी पक्राउ गर्ने सिलसिलामा कपुरधारा पुग्दा प्रहरीमाथि नै घैंटे र उनका समूहले आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटेको मृत्यु भएको गौतमले बताएका थिए।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तमकुमार कार्कीले घैंटेको शव आफन्तले बुझ्ने-नबुझ्ने बारे कुनै जानकारी नआएको बताए।

घैंटेलाई सहिद घोषणाको माग
संसद्मा कांगे्रस सभासद् कौशर साहले घैंटेलाई सहिद घोषणा गर्न माग गरेकी छन्। ‘घैंटे सुध्रिसकेको थियो ऊ ठूलो मान्छे बन्न सक्थ्यो। प्रहरीले गोली हानेर मार्‍यो। उसलाई सहिद घोषणा गरियोस्,' साहले भनिन्। ( 'प्रहरीले कुमार घैंटेलार्इ घरैमा पसेर हत्या गर्‍यो' )

साहले घैंटेले आफू प्रहरीबाट असुरक्षित रहेको भन्दै केही दिनअगाडि मानवअधिकार आयोगमा जानकारी गराएको समेत बताएकी थिइन्। अर्का सभासद् भीमसेन दासले घैंटे मारिएकोमा आपत्ति जनाउँदै संविधानको कुन धारामा मान्छे मार्ने अधिकारबारे लेखिएको छ भन्दै आक्रोश व्यक्त गरे।

उनले भने, 'प्रहरीले छानीछानी गोली हान्ने हो भने किन जेल र अदालत चाहियो ? घैंटेको हत्याको छानबिनका लागि न्यायिक छानबिन आयोग गठन होस्।'





प्रतिक्रिया दिनुहोस्...