२ वटा डनहरु प्रहरीको गोलीबाट मारिँदा अरु डन डनहरु के गर्दैछन् त ?


काठमाडौं, भदौ ५ – दुई दिनअघि प्रहरी इन्काउन्टरमा मारिए राजधानीको सामाखुसी क्षेत्रमा आपराधिक गतिविधि गर्दै आएका डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटे । कांग्रेस निकट उनी मारिनुभन्दा झण्डै १४ महिना पहिले नै मारिएका थिए एमाले निकट डन दिनेश अधिकारी उर्फ चरी । दुवैको आपराधिक पृष्ठभूमि एकै थियो र संयोगवस उनीहरुको मृत्युपछि नेताहरुबाट एकै प्रकारको प्रतिक्रिया आयो, ‘सुध्रिन खोज्दा पनि प्रहरीले शिकार बनायो ।’ प्रहरी इन्काउन्टरमा चरी मारिँदा नेकपा–एमालेका नेताहरुले चरीको पृष्ठिभूमि जे भए पनि अहिले पार्टीको सक्रिय सदस्य रहेको र सुध्रिने बाटोमा रहेको कुरा उठाएका थिए । अहिले घैंटेको इन्काउन्टरपछि नेपाली कांग्रेसका नेताहरुले पनि सोही वाक्य दोहोराएका छन् । के साँचिक्कै सुध्रिन लागेका थिए त ‘डन’ हरु । दुईवटा डनहरु प्रहरीको गोलीबाट मारिँदा के गर्दैछन् त डन भनेर चिनिएका अन्यहरु ।

के गर्दैछन् अरु डनहरु ?
प्रहरीले धमाधम इन्काउन्टर गर्न थालेपछि राजनीतिक संरक्षण पाएका डनहरु पनि हच्किन थालेका छन् । किनकी अहिले इन्काउन्टरमा मारिएका घैंटे कांग्रेस निकटका थिए भने सरकार पनि उनकै थियो । यस्तै १४ महिना पहिले मारिएका चरिले राजनीतिक संरक्षण पाएका थिए भने आफ्नै पार्टीको मान्छे गृहमन्त्री भएको बेलामा पनि ज्यान गुमाउनु पर्यो । यही कारणले अहिले डनहरुबीच खैलाबैला मच्चिएको छ भने कतिपय ज्यान जोगाउने उपाय खोज्न थालेका छन् ।
हुन त चरी मारिएपछि नै कतिपय डनहरु देश छाडेरै भागेका थिए । बिहिबार मारिएका घैंटे पनि देश छाडेर भाग्दै मलेसिया र भारतसम्म पुगेका थिए भने हाल कारागारमा रहेका बाहुन डनपनि भारतबाटै समातिएका थिए ।
प्रहरीले डनहरुमाथि इन्काउण्न्टर थालेपछि अहिले गुण्डागर्दीमा संलग्नहरुबीच थप खैलाबैला मच्चिन थालेको बुझिएको छ । कोहि निश्क्रिय जस्तै भएर बसिरहेका छन् भने कसैले समाजसेवा र राजनीतिमा आफूलाई सक्रिय भएको बहाना बनाउन थालेका छन् ।
पटक–पटक प्रहरीको मस्ट वान्टेड सुचिमा परेका डनहरु अहिले राजनीति र समाजसेवालाई ढाल बनाएर आफूलाई स्वच्छ छबी भएको आम मान्छेको रुपमा देखाउन उद्दत रहेका छन् ।
गणेश लामा


कुनै बेला गुण्डाहरुको भीडमा काभ्रेली समुहका नाईके भनेर चिनिने गणेश लामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको खेलकुद विभाग प्रमुख बनेर नेपाली खेलकुदमा भित्रिए । हाल उनी पार्टीको केन्द्रीय सदस्य बनेका छन् । रक्तचन्दन तस्करीहरुको सुचिमा उनको नाम अग्रपंतिमा आउने भएपनि आफुलाई राजनीतीक आवरणले छोप्न विशेष प्रयत्न गरिरहेका लामा ठेकेदार,वा गुण्डा भन्दा पनि खेलकुदलाई समेत प्रयोग गरेर एउटा शसक्त राजनीतिक नेताको रुपमा आफुलाई प्रस्तुत गर्न तल्लिन छन् ।
केहि दिन अघि मात्रै उनी मधेसी जनअधिकार फोरमले गरेको पत्रकार सम्मेलनस्थलमा उनी चिया पिइरहेका अवस्थामा भेटिएका थिए । पूर्व गृहमन्त्री समेत रहेका विजय गच्छदारको छत्रछाँयामा राजनीतिक इनिङको तयारीमा लामा रहेका छन् ।
मिलन गुरुङ ‘चक्रे मिलन’
आपराधिक दुनियाँको चर्चित नाम हो चक्रे मिलन । महाराजगञ्ज एरियालाई आफ्नो क्षेत्र बनाउने उनले अवैध असुलीबाट अकुत सम्पत्ती मात्रै कमाएनन् , बारम्बार पक्राउ पनि परिरहे ।
 तर, राजनीतिक दवावमा छुट्दै आएका उनी हाल भने आफ्नो आपराधिक गतिविधिलाई छायाँमा पार्दै समाजसेवीका रुपमा आफूलाई चिनाउने प्रयासमा लागेका छन् । बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि विभिन्न ठाउँमा पुगेर मिलन गुरुङ फाउन्डेसनको नाममा राहत बाँड्दै आएका उनले घैंटे मारिएको दिन कुरिङनटारमा रिफ्रेस हुन आएको भन्दै फेसबुकमा तस्बीर पोष्ट गरेका थिए । यद्यपी अवैध रुपमा ७ करोड ८ लाख रुपैँया कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उनीमाथि मुद्दा छ ।
दिपक मनाङ्गे
मनाङका समाजसेवीहरुको साझा चौतारी हो मनाङ मस्र्याङ्गदी क्लव । राजधानीको ठमेल एरियाको गुण्डा नाईके भनेर पहिचान बनाएपनि समाजसेवीको आवरणमा मनाङ मस्र्याङ्गदी क्लबमा उनको आबद्धता छ ।
हाल गुण्डागर्दीबाट निश्क्रियजस्तै रहेका मनाङ्गे डन छविलाई पर्यटन ब्यवसायी र समाजसेवीको रुपमा प्रस्तुत गर्ने प्रयासमा छन् । उनले चलचित्रमा समेत लगानी गरेका छन् ।
तेजेन्द्र गुरुङ
मिलन चक्रेको साख्खे भाई हुन तेजेन्द्र । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधी श्याम खड्का मार्फत खेलकुद भित्रीएका तेजेन्द्र हाल नेपाल वादोरीयो करा“ते संघको उपाध्यक्ष पदमा छन् । गुण्डागर्दी र जबर्जस्ती रकम असुलीको आरोपमा पक्राउ पर्दै आएका उनी आफ्नो गुण्डाको पहिचान लुकाउने प्रयासमा छन् ।
र, अरु गुण्डा नाइकेहरु
यस्तै गुन्डा नाईकेहरु, पर्शुराम बस्नेत, अभिशेक गिरीहरुपनि अहिले छायाँमा रहेका छन् । गत वर्षमात्रै उनीहरुले विभिन्न गैरकानुनी काम गरि अकुत सम्पत्ती कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो।
यसो त गुन्डागर्दी र असुलीमा चरी र घैंटेभन्दा पनि खतरनाक मानिएका नेपाली सेनाको रेन्जर गणका भगुवा रमेश बाहुन अहिले कारागारमा रहेका छन् । केहि पहिले भारतमा पक्राउ गरि नेपाल ल्याइएका उनलाई प्रहरीले नक्क्ली इन्काउन्टर गर्न लागेको खुलासा भएपछि प्रहरीले सार्वजनिक गरेको थियो । उनी जेलबाट निस्किएपछि कसरी अघि बढ्नछन् त्यो भने हेर्न बाँकी नै छ ।
समग्रमा गुण्डाहरु आफ्नो राजनीतिक र समाजसेवाको आडमा आफूलाई सेफ गराउने अभियानमा लागेको देखिएको छ त्यो उनीहरुको सच्चिने प्रयास हो या प्रहरीबाट जोगिने रणनीतिमात्रै हो त्यो भने भविष्यले नै बताउला ।





प्रतिक्रिया दिनुहोस्...