बमलाई मारेकोमा पश्चाताप लागिरहेको छ…’
६ भदौ, काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सञ्जय स्माइली मगरलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले साउदी अबरबाट पक्रेर काठमाडौं ल्याएको छ । भगवान भनिने स्माइली न्यायाधीश हत्यामा सुटरको भूमिका थिए । तर, उनी पैसा लिएर नभई राजनीतिक लाभका लागि हत्यामा संलग्न भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
चुरे भावर पार्टी कब्जा गर्ने र मन्त्री हुने लक्षमा अदालतका कारण ठेस पुग्ने गरी फैसला आएपछि पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले बमको हत्याको योजना बनाएका थिए । ‘स्माइली राजनीतिक रुपमा घटनामा संलग्न भएको पाइयो’ सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले अनलाइनखबरसँग भने- ‘बाबुले आफू अध्यक्ष भएपछि स्माइलीलाई उपाध्यक्ष बनाउने बताएका रहेछन् ।’
को हुन् स्माइली ?
रामेछाप खनियापानीका स्माइली ०६४ सालको पहिलो संविधानसभा चुनावमा भगवान थापाका नामबाट चुरे भावर पार्टीको ब्यानरमा उम्मेदवार बनेका थिए । आफ्नो ३/४ हजार भोट रहेको भन्दै कांग्रेसका उम्मेदवारसँग उनले त्यसबेला बार्गेनिङ गरेका थिए । तर, नमानेपछि एमाओवादी उम्मेदवारलाई भोट बेचेका थिए । चुनाव प्रचारका क्रममा रामेछापको गुन्सी गाविसमा पुगेपछि उनको माओवादीसँग भेट भयो । त्यहाँबाट फर्किएर मन्थली आएपछि उनले आफ्नो भोट माओवादीलाई दिने प्रस्ताव गरे । स्मालीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने-‘म आफूले समेत आफैंलाई भोट हालेको थिइँन ।’
चुनावमा स्माइलीले ३५/३६ भोट पनि पाएका थिए । चुनावपछि चुरे भावरले पाएको समानुपातिकको एक सिटमा केशव मैनाली सभासद बने । केही समयपछि पार्टीमा विवाद सुरु भयो र एकअर्कालाई निस्कासन गर्न प्रक्रिया थाले । सर्वोच्च अदालतले मैनाली पक्षलाई बैधानिकता दिने निर्णय गरेपछि बाबुले न्यायाधीश बमको एकल फैसलाका कारण आफू पार्टी अध्यक्ष बन्ने र सम्भावित राज्यमन्त्री समेत नहुने भएको भन्दै हत्याको योजना बनाए । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बमको ०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या भयो । बंगलामुखी मन्दिर गएर अदालत जाने क्रममा मोटरसाइकलमा आएको बाबु थापाको समूहले यूएन पार्क नजिकै गाडी रोकेर बमको हत्या गरेका थिए ।
हत्याको साढे २ वर्षपछि प्रहरीले बाबुसहित चार जनालाई पक्राउ गर्यो । तर, स्माइली भने त्यसको केही समय अघि नै उम्केर रोजगारीका लागि साउदी अरब पुगे । त्यहाँ उनी गाडी भाडामा दिने कम्पनीमा ड्राइभरका रुपमा काम गर्न गएका थिए । मासिक २ हजार त्यहाँको रकम उनको तलब थियो । तर, नेपालमा बाबुसहितको समूह पक्राउ परेपछि इन्टरपोलमार्फत नोटिस जारी गरेर स्माइलीलाई पक्राउ गरिएको थियो । साउदीमा पक्राउपछि नेपाल पठाउन अदालतको आदेश चाहिने भएकाले समय लागेको सीआईबीले बताएको छ । स्माइलीलाई लिन गत मंगलबार सीआईबीका प्रहरी नायव निरीक्षक पुरनबहादुर चन्द र प्रहरी निरीक्षक दिपेन्द्र अधिकारी साउदी गएका थिए । उनलाई भारत हुँदै मंगलबार बिहान काठमाडौं ल्याइएको हो ।
प्रहरी स्रोतका अनुसार स्माइलीले पक्राउ परेपछि आफूलाई कहिले नेपाल जाउँ भन्ने भएको तर, सीआईबीका अधिकारीहरु पुगेपछि निन्द्रा नलागेको बताएका छन् । उनले आफूलाई गलत गरेँ भनेर पश्चाताप लागेको समेत सीआईबीमा बयान दिएका छन् । न्यायाधीशको हत्याका क्रममा गाडी रोकेपछि गोली नहानौं भन्ने लागेको तर, बमका सुरक्षाकर्मीले आफूमाथि नै आक्रमण गर्यो भन्ने लागेर आफूले गोली चलाएको बयान स्माइलीले प्रहरीलाई दिएका छन् । चुनावमा उम्मेदवार बन्दा लागेको ऋण तिर्न विदेश गएको स्माइलीले प्रहरीलाई बताएका छन् ।
कृष्णपुरी मावि रुपाकोटमा कक्षा-९ मा अध्ययन गर्दागर्दै साइकलको चेन लिएर विद्यालय गएपछि उनलाई विद्यालयले निस्कासन गरेको थियो । स्माइलीको पहिली श्रीमतीसँग डिभोर्स भइसकेको छ । दोस्री श्रीमतीबाट छोरा र छोरी छन् । उनीहरु काठमाडौंतिरै बस्छन् । बमको हत्यामा संलग्न भएको अभियोगमा बाबु उर्फ मेघबहादुर थापा, करन चौधरी, प्रेमराज खड्का र दीपक कर्णलाई गत पुसमै प्रहरीले पक्राउ गरिसकेको छ । यीमध्ये चारजना पुर्पक्षका लागि थुनामा छन् भने प्रेमराज खड्का धरौटीमा छुटेका छन् ।