सुर्खेतमा प्रहरीको गोलीबाट एकको मृत्यु, प्रहरीलाई निस्कनै नदिइ गाडीमा आगो लगाइयो (भिडियो)


अपडेटः
सुर्खेत, श्रावण २५ । अखन्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि सोमबार एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहानैदेखि भएको प्रदर्शनले उग्ररुप लिएपछि दिउँसो साढे १ बजेदेखि कर्फ्यु जारी गरिएकोमा स्थानीय बासिन्दाले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन चर्काएका थिए

त्यसक्रममा वीरेन्द्रनगर–८ स्थित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको घर अगाडि प्रहरीको गोली लागि स्थानीय ४५ वर्षीय टीकाराम गौतमको मृत्यु भएको हो । भीडले खड्काको घरमा आक्रमण गर्न खोजेपछि नियन्त्रण गर्न हवाई फायर गरेको र त्यसक्रममा एकजनाको मृत्यु भएको सुर्खेत जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न थुप्रै सेल अश्रुग्यास पनि प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । झडपमा मध्यपश्चिमका डीआइजी केशव अधिकारीसहित केही प्रहरीहरु पनि घाइते भएको जनाइएको छ ।

आन्दोलनकारीले वीरेन्द्रनगरस्थित राजनीतक दलहरुका पार्टी कार्यलयमा तोडफोड गरेका छन् । यस्तै, जिल्ला प्रशासन कार्यालयभित्रै पसेर उनीहरुले सीसीटीभी, टेलिभिजन, फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीले प्रहरीको गाडीसहित ६ ओटा सवारी–साधनमा पनि आगजनी गरेका छन् । नेपाल प्रहरीका चालक प्रहरी जवान वीर विष्टलाई गाडीबाट बाहिर निस्कनै नदिइ आन्दोलनकारीले आगो लगाएका थिए । बल्लतल्ल बाहिर निस्केर ज्यान जोगाएका विष्टको हात जलेको छ ।

मध्यपश्चिम अखन्ड रहने ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताएका छन् । कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमतिर हालिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । 





प्रतिक्रिया दिनुहोस्...