धमिलो पानीमा माछा मारेर देशलार्इ अन्धकारमा फर्काउने ?'
काठमाडौँ : एमाओेवादीका अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।
व्यवस्थापिका–संसद्को बिहीबारको बैठकलार्इ सम्बोधन गर्दै उनले संविधान आउने सुनिश्चित भइसकेको बताउँदै त्यो साहस आफूहरु लिएको उल्लेख गरे ।
'अहिलेको जस्तो संविधान निर्माणको बहस इतिहासमा कहिल्यै भएन, सकारात्मक र रचनात्मक रुपमा संविधान निर्माणमा सहयोग गर्न आह्वान गर्छु', उनले भने, 'यस क्रममा सुर्खेत र जुम्लामा भएका घटनामा ज्यान गुमाएका नागरिकका परिवारलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्छु ।'
संविधान निर्माण अन्तिम अवस्थामा पुगिसकेको अवस्थामा त्यसलार्इ असफल बनाउने खेल भइरहेको प्रचण्डले बताए । मधेसवादी दलहरुले प्रदेश बनाउनुअघि पहाड मिसाउन नहुने भनेको उल्लेख गर्दै प्रचण्डले अहिले पहाड चाहियो भन्नु शंकास्पद भएको दाबी गरे ।
'धमिलो पानीमा माछा मारेर केही हुँदैन, पानीमा ढुङ्गा हानेर हुँदैन, देशलाई अन्धकारमा फर्काउने ?', उनले भने, 'म छातीमा हात राखेर भन्छु उहाँहरुले मधेस प्रदेश चाहिन्छ भन्नुभयो । पहाडलाई राख्न हुँदैन भन्नुभयो, अहिले पहाड राख्नुपर्छ भन्नुहुन्छ, यसको के नियत हो ?'
एकै पटक धेरै अधिकार खोज्ने प्रवृत्तिले संविधान निर्माणमा पहिलो संविधानसभा असफल भएको प्रचण्डको भनाइ थियो ।
'पहिलो संविधानसभा विघटन हुने समयमा ११ प्रदेश सीमाङ्कनसहित नै थियो तर एकै पटक धेरै अधिकार खोज्ने हाम्रै पार्टीका साथी र सङ्घीयता नचाहने शक्तिका कारण कार्यान्वयन हुन सकेन', उनले भने, 'अहिले छ प्रदेशमा सहमति भयो, पहिला ११ प्रदेश लागू हुन नदिने तत्वले नै अहिलेको सहमति कार्यान्वयन हुन नदिएको देखिन्छ ।'
जंगलमा बाटो बिराएको यात्री जस्तै अहिले राजनीतिक दल र जनता इतिहासको कठिन मोडमा उभिएको प्रचण्डको भनाइ थियो । जङ्गलमा बाटो बिराएका यात्रीजस्तो विगतका आठ वर्ष गुज्रिए पनि दिवङ्गत गिरिजाप्रसाद कोइरालाले “जङ्गलमा बाटो बिराउँदा उही सुरुकै ठाउँमा पुगिन्छ” भन्ने भनाइको अध्यक्ष दाहालले स्मरण गरे । 'उत्पीडित वर्गका अधिकारलाई सुनिश्चित गर्ने थलो संविधानसभा हो', उनले भने, 'संविधानसभा जनताको पक्षमा हुन्छ, परिवर्तनलाई रोक्ने पक्षले मात्र संविधानसभालाई रोक्छ ।'
यस पटक पनि संविधानसभाबाट संविधान नबनाउन सकिएन भने ठूलो दुर्भाग्य हुने बताउँदै उनले संविधान पार्टीहरुको दस्तावेज हुन नसक्ने स्पष्ट पारे ।
'संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो, शक्ति सन्तुलनको अधिकतम दस्तावेजका रुपमा संविधान आएको छ', उनले भने, ' दाहालले भन्नुभयो, “यो ठूलो उपलब्धि हो, यसमा मलाई गर्व छ, पश्चात्ताप छैन, समग्र परिवर्तन तुहाउने र निस्तेज पार्न खोज्ने गरी कतैबाट विरोध प्रदर्शन हुनुहुँदैन ।”
कुनै सिद्धान्तहीन आन्दोलन नगर्न आग्रह गर्दै उनले कुनै पनि घटना हुनसक्ने परिस्थितिलाई ध्यान दिन आवश्यक रहेको बताए । 'जनताले उठाएका स्वाभाविक र जायज मागलाई सम्बोधन हुनुपर्छ', उनले भने, 'सुर्खेत, जुम्ला, सेती, महाकाली र भेरीका जनताको भावनालाई सम्बोधन हुनुपर्छ ।
अध्यक्ष प्रचण्डले मस्यौदा परिमार्जन भए पनि अब ६ प्रदेशबाट पछाडि हट्न नसकिने उल्लेख गरे । रासस

