शक्ति गौचनले खोले क्रिकेटरका ‘भित्री कुरा


३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा पुराना सदस्य हुन् शक्ति गौचन । अन्डर-१९ बाट करिब एक दशकअघि राष्ट्रिय टोलीमा प्रवेश गरेका उनलाई सबैले दाइ भन्छन् । धेरै खेलाडीहरु टिमभित्र र बाहिर भइरहँदा उनी भने निरन्तर क्रियाशील छन् ।
Shakti-Gauchan-650
शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । तौलिई-तौलिई बोल्ने उनको स्वभाव छ । आफ्नो स्वभावअनुसार शक्तिले तौलिई-तौलिई नेपाली राष्ट्रिय क्रिकेट टोलीको ड्रेसिङ रुमका कुराहरु अनलाइनखबरसित सेयर गरे । उनको भनाइमा आधारित नेपाली क्रिकेट टोलीका विषयमा अनौपचारिक गफगाफ :
निकनेम थरीथरी : सुवासलाई बाजे, पृथुलाई पिन्टु
राष्ट्रिय क्रिकेटरहरुका थरीथरी ‘निकनेम’ छन् । सिनियर खेलाडीहरुले कप्तान पारस खड्कालाई पारु भन्छन् । जुनियरहरुले चाहिँ पारस दाइ भन्छन् ।
ज्ञानेन्द्र मल्ललाई सबैले ज्ञानु भन्छन् । जुनियरहरुले दाइ जोड्छन् । शरद भेषवाकरको निक नेम छैन।
बसन्तलाई सिनियरहरुले बुसी भन्छन् । शक्तिलाई स्यागी दाइ भन्छन् सबैले । विनोद भण्डारीको निक नेम छैन । सोमपाललाई सबैले माया गरेर सोमु भन्छन् । पृथु बास्कोटाको निक नेम हो पिन्टु । भने प्रदीप एेरीलार्इ पप्पु भनेर बोलाउने गर्छन् ।
Nepal-Cricket-Team
विनोद लज्जालु, अविनाश गफाडी
मैदानमा विष्फोटक खेल्ने विनोद भण्डारी बाहिर सबैभन्दा लज्जालु छन् । उनी निकै कम बोल्छन् । केटीहरुसित त झनै बोल्न सक्दैनन् । शरद पनि कम बोल्छन् ।
बढी बोल्नेचाहिँ नयाँ बलर अविनाश कर्ण हुन् । टोलीका नयाँ सदस्य भए पनि उनी गफ चुट्न माहिर छन् । चुट्किलाहरु पनि खुब सुनाउँछन् । उनीबाहेक करण केसी र रामनरेश गिरी पनि बढी बोल्नेमा पर्छन् । पहिले पुराना बलर सञ्जम रेग्मी अति गफाडी थिए । उनी त छेउ न टुप्पाको कुरा गर्थे । केही वर्षदेखि उनी टोलीमा छैनन् ।
नाच्न-गाउन खप्पिस बसन्त

मैदानमा आफ्नो स्पिन बलिङमा ब्याट्सम्यानलाई नचाउने बसन्त रेग्मी नाच्नमा खप्पिस छन् । नाच्न मात्र होइन, गाउनमा समेत उनलाई अरुले भेट्दैनन् । पार्टीहरुमा जाँदा पारस, शरद र शक्ति पनि नाच्न अघि सर्छन् । तर, गाउनचाहिँ बसन्तमात्रै अघि सर्छन् । ज्ञानेन्द्र नाच्न र गाउन दुबैमा जिरो छन् ।
धेरै सुत्ने शरद, कम सुत्ने सिद्धान्त
बिहान ढिलोसम्म सुत्ने शरद भेषवाकर हुन् । बसन्त पनि अरुभन्दा धेरै सुत्छन् । नयाँ सदस्य सिद्धान्त लोहनीचाहिँ सबैभन्दा कम सुत्छन् । शक्ति र सिद्धान्त बिहान अरुभन्दा छिट्टै उठ्छन् । अनुशासनको मामलामा भने नेपाली टिममा खासै समस्या छैन ।
केटीको कुरा गोप्य
आपसमा एकदमै घुलमिल गर्ने भए पनि राष्ट्रिय टोलीका खेलाडीहरु निजी कुरा भने त्यति धेरै सेयर गर्दैनन् । त्यसमा पनि केटीको कुरामा त अति सतर्क हुन्छन् ।
कप्तान पारसको लभ अफेयर लामो समयसम्म टोलीभित्र गोप्य नै थियो । शक्ति भन्छन्, ‘म आफैंले पनि बिहे हुने भएपछि मात्रै अरुलाई बताएको हुँ ।’
Sompal Kami (1)
प्रदीप केटाकेटी, सोमपाल पाका
तीन महिनाअघि बाबु बनेका प्रदीप ऐरीको स्वभाव भने केटाकेटीकै जस्तो छ । मैदानमा जसरी उनी रन बनाउने हतारमा हुन्छन्, मैदान बाहिर पनि हतारमै काम गर्छन् । उनीभन्दा जुनियर सोमपाल कामी भने निकै परिपक्व छन् । उनी सोचेर बोल्छन् र सोचेर निर्णय लिन्छन् ।
शक्ति-बसन्तको जोडी
शक्ति र बसन्तको जोडीको मैदानभित्र जसरी ट्यूनिङ मिल्छ, मैदानबाहिर पनि उनीहरु उत्तिकै मिल्छन् । लगभग एकै समयदेखि राष्ट्रिय टोलीमा आएका उनीहरु एकअर्काको स्वभावप्रति राम्रोसित परिचित छन् । बाहिर घुमफिर गर्दा शक्ति र बसन्त प्रायः सँगै हुन्छन् ।
गुटबन्दी छैन
नेपाली टोलीभित्र गुटबन्दीको समस्या छैन । कप्तान पारसलाई सिनियर-जुनियर सबैले उत्तिकै सम्मान दिन्छन् । तथापि, उमेर र स्वभावको हिसाबले खेलाडीहरु आपसमा नजिक र टाढा हुन्छन् ।
फाइल फोटोजुनियर र सिनियरको स्पष्ट रेखांकन नभए पनि टोलीभित्र शक्ति, बसन्त, पारस, शरद र ज्ञानेन्द्रहरु सिनियरमा गनिन्छन् । उनीहरुको गफ मिल्छ । यस्तै नयाँ खेलाडीहरु पनि आपसमा चाँडै घुलमिल हुन्छन् ।
फेसनमा चनाखो पारस
क्रिकेट खेलाडीहरु फेसनमा खासै ध्यान दिँदैनन् । सधैं टिपटप बनेर हिँड्नेखालका कोही छैनन् । तथापि कप्तान पारस पहिरनमा अलि बढी सतर्क हुन्छन् । औपचारिक कार्यक्रमहरुमा जाँदा उनी फर्मल ड्रेसअपमा हुन्छन् ।
विदेशमा घरको याद
प्राय : विदेशमा खेल्न गइरहने भएको हुनाले क्रिकेटरलाई घर छाड्ने बानी परिसकेको छ । यद्यपि लामो भ्रमणमा खेलाडीहरु कहिलेकाहीँ घरको यादमा छट्पटिन्छन् । श्रीमती र छोराछोरी हुनेहरु घरको चिन्ता धेरै गर्छन् । नयाँ खेलाडीहरु पनि घरका कुरा धेरै गर्छन् ।






प्रतिक्रिया दिनुहोस्...